
धेरैले मेरुदण्ड दुखाइको समस्या झेलिरहेका हुन्छन् । विभिन्न कारणले यस्तो दुखाइ हुन सक्छ । घर वा अफिसको कामका दौरान बसाइको पोजिसन नमिल्दा, बाइकमा पोजिसन नमिल्दा, चोटपटक वा दुर्घटना, अन्य रोगको असरलगायत विभिन्न कारणले ढाड दुख्छ । कतिपयले यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्ने गरेको पाइन्छ । तर, समयमै उपचार नगर्दा मेरुदण्डको दुखाइ जटिल समस्या बन्न सक्छ ।
लक्षण
-ढाडमा पीडा हुने
- हातखुट्टा झम्झमाउने, लाटो हुने
- ढाड दुखाइसँगसँगै ज्वरो आउने आदि लक्षण देखिएमा मेरुदण्डको समस्या सुरु भयो भनेर बुझ्दा हुन्छ ।
कारण
- गह्रौँ वस्तु उचाल्दा ढाडको मांसपेशी, लिगामेन्ट आदिमा असर पुग्ने हुनाले यस्तो समस्या निम्तिन सक्छ । त्यस्तै, लामो समयसम्म एउटै ठाउँ बसेर काम गर्दा ढाडको मांसपेशी कडा हुन्छ र समस्या देखिन सक्छ ।
- कम्प्युटर चलाउने व्यक्ति, बैंकका कर्मचारी, लामो समय गाडी चलाउनुपर्ने चालकमा यस्तो समस्या आउन सक्छ । घरमा टेलिभिजन, ल्यापटप, मोबाइल हेर्दा बसाइको पोजिसन नमिलेर पनि समस्या आउन सक्छ ।
- मिर्गाैलाको पत्थरी हुँदा पनि मेरुदण्ड दुख्ने हुन्छ । जसले गर्दा ढाड दुखाइ धेरै हुन्छ । चिकित्सकले अल्ट्रासाउन्ड र एक्सरे गरेर यस्तो समस्या पहिचान गर्छन् ।
- कतिपयलाई वंशानुगत कारणले पनि मेरुदण्डमा समस्या देखिन्छ ।
- बढ्दो उमेरसँगै हड्डी खिइँदै जाँदा पनि यस्तो समस्या देखा पर्छ । मेरुदण्डको भागमा क्यान्सर भएमा, ट्युमरको कारण, मेरुदण्डको टिबीरोग तथा अन्य इन्फेक्सन र मिर्गौलाको समस्याले पनि मेरुदण्ड दुख्न सक्छ ।
- दुर्घटना भएर, रूखबाट खसेर, भिरबाट लडेर पनि मेरुदण्डमा समस्या आउन सक्छ ।
समाधान
- ढाड दुखाइ सामान्य खाले समस्या वा जटिल रोगको लक्षण पनि हुन सक्छ । त्यसैले समयमै यसको निदान र उपचार आवश्यक छ । तीन महिनाभन्दा बढी ढाड दुखेको छ भने रोगको कारण पत्ता लगाउन अर्थपेडिक चिकित्सकसँग सल्लाह लिनुपर्छ । एमआरआइ गरेपछि रोग पत्ता लाग्छ र त्यसका आधारमा उपचार गरिन्छ ।
- ढाड दुखाइको प्रमुख उपचार विधि भनेको नै फिजियोथेरापी हो । फिजियोथेरापी विधिबाट शारीरिक व्यायाममार्फत शरीरका मांसपेशी र मेरुदण्डलाई बलियो बनाउँदै समस्या समाधान गरिन्छ ।
- उपचार विधि थालिसकेपछि बीचमै छाड्न हुँदैन । अन्यथा, समस्याको पूरा समाधान नहुन सक्छ । जीवनशैली परिवर्तन गर्ने, आराम गर्ने तथा फिजियोथेरापीलाई निरन्तरता दिने गर्नुपर्छ । कतिपय अवस्थामा औषधि पनि सेवन गर्नुपर्ने हुन्छ ।