१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
२o८o जेठ २३ मंगलबार १३:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा सरसफाइकर्मी सम्मानित

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १३:११:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ का यामबहादुर दमाईं विगत ६ वर्षदेखि सदरमुकाम बेनी बजारको फोहोर व्यवस्थापनमा सक्रिय छन्। मिसन फर वेस्ट म्यानेजमेन्ट प्रालिका सञ्चालकसमेत रहेका उनको दैनिकी बिहानदेखि बेलुकासम्म फोहोर संकलन र व्यवस्थापन गरेरै बित्छ। हरेक दिन फोहोर उठाउने उनका हातले सोमबार भने पहिलोपटक सम्मानपत्र थापे।

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले विश्व वातावरण दिवसको अवसरमा सरसफाइकर्मीहरूलाई सम्मान गरेको हो। बेनी नगरपालिकासँग सम्झौता गरी फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएका यामबहादुरले फोहोर व्यवस्थापनको कामलाई सबैले होच्याउने गरेको सन्दर्भमा विद्यालयले गरेको सम्मानले आफ्नो पेसालाई सम्मान भएको बताए।

‘वर्षौँदेखि फोहोरमा खेल्दै आएका छौँ, फोहोरलाई केलाएर मोहोर बनाउने अभियानमा छौँ। धेरैले यो कामलाई राम्रो मान्दैनन्, तर विद्यालयले हामी सबै सरसफाइकर्मीलाई एकसाथ सम्मान गरेर फोहोर संकलन र व्यवस्थापनको कामलाई सम्मान गरेको छ,’ उनले भने।

यामबहादुरजस्तै फोहोर व्यवस्थापनमै सक्रिय रहेका शेरबहादुर शेरबुजाले पनि फोहोरमा काम गर्ने हातले सम्मानपत्र थाप्दा गर्वको अनुभूति भएको बताए। बेनी नगरपालिकासँगको सम्झौताबमोजिम मिसन फर वेस्ट म्यानेजमेन्ट प्रालिले बेनी बजार, गलेश्वरलगायत सहरी क्षेत्रको फोहोर संकलन गर्दै ठूलो पहिरोमा रहेको व्यवस्थापन केन्द्रमार्फत प्रशोधन गर्दै आएको छ।

विद्यालयले वातावरण संरक्षणमा सरसफाइकर्मीको योगदानको कदर गर्दै नौ सरसफाइकर्मीलाई सम्मान गरेको हो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सिपल दीपक सुवेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी, अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र गौतम, बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीलगायतले सरसफाइकर्मीलाई सम्मानपत्र, दोसल्ला र अबिर लगाएर सम्मान गरे।

कार्यक्रममा सरसफाइकर्मीहरूलाई फोहोर संकलन र व्यवस्थापनमा प्रयोग हुने सरसफाइका सामग्रीसमेत प्रदान गरिएको थियो। विगतका वर्षमा विश्व वातावरण दिवसलाई कालीगण्डकी करिडार सरसफाइ, वृक्षरोपणलगायतका कार्यक्रम गरी मनाउने गरिएकोमा यस वर्ष सरसफाइ कार्यलाई सम्मान गरी विद्यार्थीमा सन्देश प्रवाह गराउने उद्देश्यले फरक कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल सुवेदीले जानकारी दिए।