मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २२ सोमबार ०७:१९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मलेसियाविरुद्धको सिरिज नेपालको पोल्टामा

पाँचौँ खेलमा मलेसियालाई तीन विकेटले निराश पार्दै नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–२ ले हात पार्‍यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २२ सोमबार ०७:१९:००

नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता ३–२ ले जितेको छ । नेपालले शुक्रबार वान्गी क्रिकेट मैदानमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै सिरिज हात पारेको हो । सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक मलेसियाली महिला टोलीसँग स्तब्ध भएको थियो ।

नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तथा तेस्रो खेलमा मलेसियालाई हरायो । चौथो खेलमा मलेसियाले बाजी मार्दै सिरिज २–२ को बराबरी गर्‍यो । पाँचौँ खेलमा मलेसियाले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन जोड्दै सिरिज हात पार्‍यो । नेपालले इनिङ्स समाप्ति हुनु तीन बलअगाडि जित निकालेको हो । 

ब्याटिङमा चार खेलाडी चम्के
मलेसियाले दिएको मध्यम योगफल पछ्याएको नेपालको ब्याटिङ मिश्रित रह्यो । चारजना ब्याट्सम्यानले दोहोरो रन बनाएका थिए । पाँचजना खेलाडीले दोहोरो रन नै बनाउन सकेनन् । चौथो क्रममा ब्याटिङ गर्न आएकी सम्झना खड्काले एक बल पनि सामना गर्न नपाउँदै रनआउट भएकी थिइन् । 

ओपनर कविता कुँवर ४, इन्दु बर्मा ५, बिन्दु रावल ५ र कविता जोशी ५ रनमा आउट भएका थिए । यसबाहेक सीता रानामगर, कप्तान रुविना, ज्योति पाण्डे र अस्परा बेगमले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाए । नेपालले इन्दु बर्मालाई गुमाउँदा स्कोर बोर्डमा २० रन मात्र जोडेको थियो । इनिङ्सको ५.४ ओभरमा सम्झना रनआउट हुँदा नेपाल ३४–३ को स्थितिमा रह्यो । 

सीता र रुविनाले चौथो विकेटका लागि २६ रनको साझेदारी गर्दै नेपाललाई .३ ओभरमा ६०–४ को अवस्थामा राखे । म्यान अफ दी म्याच सीताले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रनको योगदान थिइन् । रुविनाले ज्योतिसँग छैटौँ विकेटका लागि १४ रनको साझेदारी गरिन् । रुविनाले आफ्नो इनिङमा ३० बल सामना गरी तीन चौका प्रहार गरेकी थिइन् । 

अस्पराले ज्योतिसँग आठौँ विकेटका लागि नटआउट १९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाइन् । ज्योतिले १६ बलमा ११ रन तथा अस्पराले १२ बलमा दुई चौकाको सहयोगमा १५ रनको योगदान दिए । मलेसियाको बलिङमा अनिना हसिमले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिइन् । तीनजना बलरले मलेसियाका लागि समान एक विकेट लिए । 

जुलियाको सर्वाधिक ४७ रन
मलेसियाको ब्याटिङमा ओपनर वान जुलियाले सर्वाधिक ४७ रनको योगदान गरिन् । उनले पहिलो विकेटका लागि विनिफ्रेडसँग ७.३ ओभरमा ३८ रनको साझेदारी गरेकी थिइन् । बलिङमा नेपाललाई पहिलो सफलता कविता जोशीले विनिफ्रेडको विकेटका रूपमा दिलाइन् । विनिफ्रेडले २५ बलमा चार चौका प्रहार गर्दै २४ रन बनाइन् ।

जुलियाले माहिराह इस्मैलसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै मलेसियालाई १८.२ ओभरमा ९८–३ को बलियो अवस्थामा राखिन् । इस्मेलीले ३१ बलमा २० रन बनाइन् । इनिङ्सको अन्तिम बलमा जुलियालाई ज्योतिले रनआउट गरेकी थिइन् । जुलियाले ६० बलमा तीन चौका प्रहार गरिन् । नेपालको बलिङमा कविता जोशीले १२ रन खर्चेर दुई विकेट र ईश्वरी विष्टले १५ रन दिँदै एक विकेट हात पारे । 

रुविना सर्वोत्कृष्ट खेलाडी
मलेसियाविरुद्धको पाँच अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालकी कप्तान रुविना क्षेत्री सर्वोकृष्ट खेलाडी भएकी छिन् । नेपालले मलेसियाविरुद्ध सिरिज हात पार्दा रुविनाले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । सिरिजअन्तर्गत चौथो खेलमा बाहेक अन्य खेलमा रुविनाले मलेसियाविरुद्ध ब्याटिङ र बलिङमा प्रेरणादायी प्रदर्शन गरेकी थिइन् । उनले पाँच खेलमा ब्याटिङमा ८१ रन बनाएकी थिइन् । बलिङमा उनले पाँच विकेट लिएकी थिइन् । 

पहिलो खेलमा उनले चार ओभरमा सात रन खर्चेर दुई विकेट हात पारेकी थिइन् । दोस्रो खेलमा रुविनाले २९ रन बनाउनुका साथै दुई विकेट लिएकी थिइन् । उनले दोस्रो खेलमा २१ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रनको योगदान दिइन् । तेस्रो खेलमा उनले २७ रन बटुल्दा तीन चौका र एक छक्का हिर्काइन् । मलेसियाले चौथो खेलमा नेपाललाई चार विकेटले हराउँदा रुविना डकआउट भएकी थिइन् ।

बलिङमा भने उनले एक विकेट आफ्नो नाममा लेखाएकी थिइन् । प्रतियोगिताको पाँचौँ तथा निर्णायक खेलमा रुविनाले ब्याटिङमा २३ रन बनाइन् । बलिङमा उनले चार ओभरमा २३ रन खर्चिइन् । उनी पाँचौँ खेलमा मात्र विकेटविहीन भइन् । प्रतियोगितामा नेपालका लागि सर्वाधिक बाउन्ड्री प्रहार गर्ने खेलाडीमा रुविना नै पर्छिन् ।