१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ २१ आइतबार २०:२२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीका विद्यालय सुधार्न दिल्लीका विद्यालयको अवलोकन

Read Time : > 2 मिनेट
२०८० जेठ २१ आइतबार २०:२२:००

धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न भारतको राजधानी नयाँदिल्लीका सामुदायिक विद्यालयको अवलोकन गराएको छ। टोलीमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक सहभागी थिए। 

दिल्लीका विभिन्न सामुदायिक विद्यालयको अवलोकनसँगै प्रधानाध्यापक तथा शिक्षा निर्देशनालयका अधिकारीहरूसँग अन्तर्क्रिया गरेर उपप्रमुख कन्दकला राना नेतृत्वको ३५ सदस्यीय टोली स्वदेश फर्किएको छ। 
टोलीले सामुदायिक विद्यालयको अवलोकन गर्नुका साथै शिक्षक र दिल्लीस्थित शिक्षा निर्देशनालयका अधिकारीहरूसँग त्यहाँको शिक्षण सिकाइ क्रियाकलाप, पाठ्यक्रम, भौतिक व्यवस्थापनलगायत विषयमा छलफल गरेको थियो।

अवलोकन भ्रमणले विद्यालय सुधारका लागि थुप्रै सिकाइ हासिल भएको टोलीमा सहभागी धनगढी नमुना माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले बताए। शिक्षामा दिल्ली सरकारको मोडेललाई लागू गर्न सके यहाँका विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने उनको भनाइ छ। 

‘शिक्षामा सुधार गर्न त्यहाँको सरकारले चारवटा विषय पूर्वाधारमा सुधार, शिक्षकको क्षमता अभिवृद्धि, पाठ्यक्रममा सुधार र अभिभावकलाई विद्यालयसँग जोड्ने कामलाई मुख्य प्राथमिकता दिएको रहेछ,’ भट्टले भने, ‘यी विषयलाई प्राथमिकता दिन सके हाम्रा विद्यालय पनि सुधार गर्न सकिन्छ।’ 

धनगढीकै राष्ट्रिय तुलसीराम माविका प्रधानाध्यापक गणेशराज भट्टले दिल्लीका विद्यालयको निरीक्षणले विद्यालय सुधारसँग सम्बन्धित धेरै ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको बताए। 

‘त्यहाँको शिक्षा सुधार र शिक्षण सिकाइका थुप्रै अभ्यासहरू बुझ्ने अवसर पाइयो। ती सिकाइलाई व्यवहारमा लागू गरेर हाम्रा विद्यालय सुधारका लागि अझ बढी प्रयास गर्नेछौँ,’ उनले भने। 

अवलोकन टोलीमा रहेका शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले शिक्षामा बजेट वृद्धिसँगै नीतिगत सुधारको खाँचो रहेको महसुुस गरेको बताए। ‘हाम्रा विद्यालय सुधारका लागि केही नीतिगत सुधार आवश्यक रहेको महसुस हामीले गरेका छौँ,’ उनले भने, ‘भ्रमणको सिकाइ हाम्रो तहमा हामी कार्यान्वयन गर्छौँ। उपमहानगरपालिका, प्रदेश र संघले गर्ने कार्य उहाँहरूसँग राख्छौँ।’

दिल्ली सरकारले सामुदायिक विद्यालय सुधार गर्न पूर्वाधार रूपान्तरणलाई पहिलो प्राथमिकता दिएको आफूले पाएको उनले बताए। शिक्षकको क्षमता अभिवृद्धि र उत्प्रेरणका लागि तालिम लिन विदेश पठाउने, अभिभावकको सक्रियता बढाउने, पाठ्यक्रममा गरेको सुधार यहाँका लागि पनि सिकाइको विषय भएको सिंहले बताए। 

उपमहानगरको टोलीसँग छलफलका क्रममा दिल्लीस्थित शिक्षा निर्देशनालयका डेलिगेसन कोओर्डिनेटर भावना सबनानीले सरकारले विद्यालयमा सुविधासम्पन्न पूर्वाधार निर्माण, अभिभावकको सहयोग, पाठ्यक्रममा सुधार र शिक्षकको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिएर काम गर्दा केही वर्षमै दिल्लीका सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन आएको जानकारी दिइन्। 

उनले सरकारले सुरुमा सामुदायिक विद्यालयलाई निजी विद्यालयजस्तै पुस्तकालय, प्रयोगशाला, कक्षाकोठामा स्मार्टबोर्ड, खेलकुद मैदान आदिमा सुविधासम्पन्न बनाउन भवनलगायत पूर्वाधार निर्माण गरेको बताइन्। 

‘निजीको तुलनामा सामुदायिक विद्यालयका भवनको अवस्था राम्रो थिएन। थोत्रा सरकारी विद्यालय पढ्छु भन्ने विद्यार्थीको हिनता भाव हटाउन सरकारले सबैभन्दा पहिले सुविधासम्पन्न भवनसहितका पूर्वाधार बनायो। विद्यालय सुधारमा अभिभावकको सहयोग लिन थाल्यो। हाम्रा पाठ्यक्रममा परिवर्तन गर्यौँ,’ उनले भनिन्, ‘पठनपाठनका नयाँ-नयाँ प्रविधि, ज्ञान, सीपको विकास र क्षमता अभिवृद्धि गर्न सरकारले शिक्षकलाई सिंगापुर, क्यानडालगायत विकसित मुलुक भ्रमणको व्यवस्था गर्यो। विदेशको सिकाइ हाम्रा विद्यालयमा लागू गर्यौँ।’

स्कुलले पठनपाठनभन्दा विद्यार्थीको सिकाइमा जोड दिने गरेको र पढेलेखेर विद्यार्थी केही बनोस् भन्नेमा शिक्षणसिकाइ केन्द्रित हुने गरेको उनले बताइन्। 

दिल्लीमा अरबिन्द केजरीवालको सरकार आएपछि दशकयता सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन भएको छ। शिक्षामा ‘केजरीवाल मोडेल’ दक्षिण एसियामै चर्चित छ। विद्यार्थीलाई ट्याब, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ। निजी विद्यालयजत्तिकै सुविधा र गुणस्तर भएका सरकारी विद्यालयमा शिक्षा पूर्ण रूपमा निःशुल्क छ। त्यहाँको सरकारले शिक्षामा २५ प्रतिशत बजेट खर्च गर्ने गरेको छ।

धनगढीका मेयर गोपाल हमालले नगरभित्रका विद्यालय सुधारको प्रयासस्वरूप प्रधानाध्यापक, शिक्षक, शिक्षा शाखाका कर्मचारीलाई सिकाइका लागि दिल्लीका नमुना विद्यालयको अवलोकन गर्ने अवसर उपलब्ध गराएको बताए। शिक्षा सुधारलाई उपमहानगरले उच्च प्राथमिकता दिएर काम गरिरहेको उनले बताए। उपप्रमुख कन्दकला राना नेतृत्वमा ३५ सदस्यीय टोली गत १५ जेठमा दिल्ली गएको थियो।

प्रा.डा. हेमराज पन्तले सामुदायिक विद्यालय सुधारका लागि नमुना विद्यालय अवलोकन महत्वपूर्ण सिकाइको अवसर भएको बताए। ‘अर्काको हेरेर थाहा पाउने हो, दिल्लीले पनि सुरुमा शिक्षकलाई सिक्न विदेश पठाएको हो। हाम्रा शिक्षकहरूलाई पनि विद्यालय कस्तो हुनुपर्छ, विद्यालयको वातावरण कस्तो हुनुपर्छ, शिक्षकको भूमिका के हो भन्ने आदि महत्वपूर्ण सिकाइ भएको छ,’ भ्रमण टोलीमै रहेका डा. पन्तले भने, ‘सिकाइको केही प्रतिशत मात्र पनि व्यवहारमा लागू भए हाम्रो शिक्षा सुधारमा ठूलो योगदान पुग्छ।’