
लमजुङको बेँसीसहरमा आयोजित तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बेँसीसहर– २ ले जितेको छ। शनिबार साँझ सम्पन्न फाइनलमा वडा नम्बर १० लाई १–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर २ ले उपाधि जितेको हो।
खेलको पहिलो हाफको १४औँ मिनेटमा वडा नम्बर २ का सुदीप सुनारले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। सोही गोल नै प्रतियोगिताको उपाधिका लागि निर्णायक बन्यो।
विजेता वडा नम्बर २ ले नगद एक लाख, कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नम्बर १० ले नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता बनेका वडा नम्बर २ का खेलाडी सुदीप सुनार र उत्कृष्ट खेलाडी घोषित भएका वडा नम्बर १० का रवि गुरुङले नगद पाँच–पाँच हजार र स्वर्ण पदक प्राप्त गरे।
नगर खेलकुद विकास समितिको आयोजना र बेँसीसहर नगरपालिकाको प्रायोजनमा सञ्चालित खेलमा नगरपालिकाभित्रका ११ वडाको समूहले सहभागिता जनाएका समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए।