Skip This
जुम्लामा विपतसम्बन्धी कृत्रिम घटना अभ्यास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १९ शुक्रबार १५:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा विपतसम्बन्धी कृत्रिम घटना अभ्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १५:३२:oo

जुम्लाको चन्दननाथ नगरपालिका– १ दानसाँघुस्थित तिला नदीमा शुक्रबार दिउँसो मानिसहरू हारगुहार मागिरहेका देखिन्थे। कोही घाइतेलाई स्ट्रेचरमा लग्दै थिए भने कोही आगो निभाउँदै थिए।

दानसाँघुको नमुना बस्तीमा खाना पकाउने क्रममा फुसको छानोमा आगलागी हुँदा धेरै मानिस घाइते भए। उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल लगे। रेडक्रसले आपतकालीन राहत वितरण तथा प्रमुख जिल्ला अधिकारी र विपत् व्यवस्थापन समितिको टोलीले स्थलगत अध्ययन, मुचुल्का तयारलगायतका काम गरे।

अर्को घटनामा दानसाँघुकै अर्काे बस्तीमा पहिरो जान्छ। सोही पहिरोमा धेरै मानिस घाइते हुन्छन्। माथि भनिएझैँ सम्बन्धित निकायहरूले उद्धार र उपचार गर्छन्। यस्तै, बाढीपहिरोले नदीमा मानिसहरू बगिरहेको अर्काे दृश्य पनि देखिन्छ। अनि उद्धार टोलीले उद्धार गर्दछ।

यी घटनाहरू वास्तविक भने होइनन्। काल्पनिक घटना हुन्। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा विपत् आइपर्दा कसरी सतर्क रहने भनेर विपत् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो। घटना कृत्रिम भए पनि अभ्यासमा वास्तविक फुसको छानो भएका घरहरू निर्माण गरिएका थिए। उद्धार टोलीमा प्रहरी, सशस्त्र प्रहरी र सेना तथा एम्बुलेन्स, विपत् व्यवस्थापन सामग्री तयारी थिए। अस्पतालमा स्वास्थ्यकर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए। कृत्रिम घटना भए पनि वास्तविकजस्तै बनाइएको थियो।

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा भएको सो कृत्रिम घटनाको तयारीमा नन्दा बक्स गण, सशस्त्र प्रहरी गण, नेपाल प्रहरी, रेडक्रस सोसाइटी, चन्दननाथ नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य, शिक्षा समन्वयलगायतको भूमिका सम्बन्धित कार्यालय आफैँले निभाएका थिए। यस्तै विपतकाे क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था भकारी, किर्डाक, वर्ल्ड भिजन, पेस नेपाललगायतले पनि भूमिका निर्वाह गरेका थिए।

कृत्रिम घटनामार्फत स्थानीयलाई साँच्चिकै विपत् आइपरेको समयमा कसरी बच्ने र सतर्क रहने भन्ने विषय देखाइएको हो। सो अभ्यास प्रदर्शन हेर्न चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकानजिकैका विद्यालयका विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो।