१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Tuesday, 16 July, 2024
झलनाथ खनाल
२o८o जेठ १७ बुधबार o८:३७:oo
Read Time : > 9 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बुद्ध र बुद्धिजम विश्वलाई भारतले दिएको हो ?

जुन बुद्धले सबैलाई ‘सत्य बोल’ भन्ने शिक्षा दिए, उनका बारेमा हाम्रो छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीले झुटो बोल्नु आश्चर्यजनक बन्न पुग्यो । महामहिम प्रधानमन्त्रीज्यू बुद्ध र बुद्धवाद विश्वलाई भारतले होइन, नेपालले दिएको हो ।

Read Time : > 9 मिनेट
झलनाथ खनाल
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार o८:३७:oo

यसै २० अप्रिल २०२३ मा भारतको नयाँदिल्लीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन’ भएको थियो । उक्त सम्मेलनको उद्घाटन गर्दै भारतका महामहिम प्रधानमन्त्री मोदीले भन्नुभयो ‘अरू कैयौँ देशले युद्ध दिए तर भारतले विश्वलाई बुद्ध दियो ।’ यो सुनेपछि म निकै बेर घोत्लिएँ । चित्त बुझेन । मनमा प्रश्न उठ्यो । के यो सत्य हो ? के बुद्ध भारतमा जन्मेका हुन् ? के बुद्ध विश्वलाई भारतले दिएको हो ? के बुद्धिजम भारतमा जन्मेको हो ? यो त बिल्कुल होइन ।

हामी नेपालीलाई बलियो गरी थाहा छ कि बुद्ध नेपालमा जन्मेका हुन् र बुद्धिजम पनि नेपालमा नै जन्मिएको हो । तर, हाम्रो घनिष्ट छिमेकी देशका प्रधानमन्त्रीले यस्तो गलत कुरा किन बोलेका हुन् ? वास्तविकता चाहिँ के हो ? यी प्रश्न मेरो दिमागमा पनि आए र धेरै साथीले पनि मलाई सोध्नुभयो । मैले उहाँहरूलाई भनेँ, ‘त्यो सत्य होइन, बुद्ध र बुद्धिजम नेपालमै जन्मिएका हुन् । यो नै समयनिष्ठ र तथ्यनिष्ठ कुरा हो । तर, धेरैमा यसबारे भ्रम रहेको पाएँ । यसले बुद्ध र बुद्धिजम कसरी नेपालमा जन्मेका हुन त ?’ यसबारे बहस हुनु जरुरी देखेँ । त्यसैले मैले यो लेख तयार पार्नु परेको हो ।

१. कुनै पनि व्यक्तिको जन्म भएदेखि नै उसको चेतना पनि वृद्धि हुन थाल्छ । बुद्धको चेतना पनि लुम्बिनीको वनमा जन्मेदेखि नै विकास हुन थाल्यो र तिलौराकोट दरबारमा त्यो परिपक्व हुँदै गयो ।

२. बुद्धले ज्ञान प्राप्तिका निम्ति आठ वर्षदेखि अध्ययन सुरु गर्नुभयो । उहाँलाई शिक्षित दीक्षित पार्न गण प्रमुख शुद्धोधनका महलमा तत्कालीन अनेक विद्वान्को बन्दोबस्त थियो । उनीहरूले बुद्धलाई त्यसवेला वैदिक दर्शनसम्बन्धी ज्ञान दिन थाले । त्यस प्रक्रियामा बुद्धले १० वर्षदेखि ध्यान गर्न थालेको देखिन्छ । उनले सानैदेखि अरूमाथि आक्रमण गर्ने, पशुहत्या गर्ने, सिकार गर्नेजस्ता कुराको विरोध गरेको देखिन्छ । त्यसवेलाको वातावरणले बुद्धको दिमागमा यस प्रकारका अहिंसा र शान्तिका भावनाको विकास गरिरहेको देखिन्छ । यो सब तिलौराकोटकै विकास हो । बुद्धले अचानक कुनै अलौकिक घटना घटेर बोधगयामा नयाँ चेतना बोध गरेको होइन ।

३. एक दिन बुद्ध र उहाँका काकाका छोरा देवदत्त तिलौराकोटकै आसपास खेलिरहेका थिए । त्यही क्रममा देवदत्तले माथि उडिरहेको राजहाँसलाई वाण हानेर खसालिदिए । त्यो हाँस मरणासन्न अवस्थामा बुद्धको छेउमा खस्यो । देवदत्त त्यसलाई पक्रन चाहन्थे र मारेर भुटभाट, पोलपाल गर्न चाहन्थे । तर, बुद्धले देवदत्तलाई त्यसो गर्न दिएनन् । उनले त्यो हाँसलाई बचाउने प्रयत्न गरे । सिद्धार्थ र देवदत्तबीच हाँस खोसाखोस हुन थाल्यो । सिद्धार्थले त्यो हाँसलाई उपचार गर्दै शाक्य गण सभामा लगे । त्यो हाँसमाथि मार्ने र बचाउने कसको अधिकार हुन्छ भनेर बहस भयो । गण सभाले लामो छलफल गरेर त्यो हाँसमाथि मार्न खोज्नेको भन्दा बचाउनेको नै अधिकार हुन्छ भनेर फैसला दियो । यसरी बुद्धमा विकसित भइरहेको प्राणीप्रतिको करुणा र अहिंसाको भावनाले विजय प्राप्त ग¥यो । यो बुद्धमा सुरुदेखि नै प्रकट भएको अर्थात् किशोर अवस्थादेखि नै प्रकट भएको नयाँ चेतना थियो । प्राणीप्रतिको माया, करुणा र स्नेह यी कुराको चेतना पनि बोधगयामा प्राप्त भएको होइन, त्यो तिलौराकोटमै प्राप्त भएको अहिंसाको चेतना हो । यसरी बुद्धभित्र शान्ति र अहिंसाको चेतना क्रमिक रूपले लुम्बिनीबाट नै विकसित भइरहेको थियो । 

. बुद्धले एउटा बुढो मान्छे, एउटा बिरामी मान्छे, एउटा घरबारविहीन मान्छे र एउटा मरेको मान्छे देखे । ती चार कुराले बुद्धको मस्तिष्कमा गम्भीर प्रश्न उब्जाए । आखिर यी के हुन् ? यस्तो किन हुन्छ ? मानिस दुःखी किन हुन्छ ? मानिस बुढो र बिरामी किन हुन्छ ? मानिस किन मर्छ ? यी दार्शनिक हिसाबले अत्यन्त गम्भीर तर आधारभूत प्रश्न हुन् । यी प्रश्नको जवाफको खोजी बुद्धको मस्तिष्कमा किशोर अवस्थादेखि नै सुरु भएको प्रस्ट छ । यी प्रश्न जन्मेको बोधगयामा होइन । यी सब प्रश्न तिलौराकोटमै जन्मे । ती प्रश्नबारे बुद्धले तिलौराकोट दरबारमा उपलब्ध विद्वान्सँग बहस गरे । यहाँ अधिकांश हिन्दू विद्वान थिए । उनीहरूले इहलोक, परलोक र भाग्यका मात्र कुरा गरे । बुद्धलाई चित्त बुझेन । उनीभित्र भिन्न चिन्तन विकसित भइरहेको थियो । त्यो चिन्तनलाई पछि उनले ‘चार आर्य सत्य’का रूपमा सूत्रबद्ध गरे । यो ‘चार आर्य सत्य’को चिन्तन प्रचलित हिन्दू वा वैदिक दर्शनका विपरीत विकसित भइरहेको बुद्ध दर्शनको एउटा महŒवपूर्ण आधार हो । यो चिन्तन तिलौराकोटबाट नै विकसित भइरहेको थियो । त्यो नै बुद्धवादको महŒवपूर्ण अंग हो । बोधगयाबाट बुद्धमा यो चिन्तन विकसित भएको होइन ।

. बुद्ध जवान हुने वेला शाक्य र कोलीय गणराज्यबीच रोहिणी नदीको पानीको उपयोगलाई लिएर झगडा भयो । दुवै पक्षबीच युद्ध हुने स्थिति भयो । तर, सिद्धार्थले मध्यस्थ गरेर शान्ति स्थापना गर्ने भूमिका खेले । युद्ध होइन, हिंसा होइन, रक्तपात होइन, आपसी मेल र सहअस्तित्वबाट अघि बढ्नुपर्छ भन्ने शान्तिको चेतना बुद्धमा त्यसैवेला विकसित भएको छर्लंग छ । यो चेतना बोधगयाबाट प्राप्त भएको होइन ।

. त्यस वेलाको वस्तुगत राजनीतिक–सामाजिक स्थितिले बुद्धभित्र वैचारिक अन्तरद्वन्द्व जन्माइरहेको थियो । त्यस वेलाको समाजमा युद्ध, आक्रमण र हिंसा चलिरहेको थियो । बुद्ध भने शान्ति, समझदारी, एकता, सहअस्तित्व र शान्ति चाहन्थे । यो उनमा आएको व्यावहारिक चेतना पनि थियो । त्यो नै आमजनताको आवश्यकताअनुरूपको चेतना थियो । त्यो बहुजन सुखायको चेतना पनि थियो । यो चेतना तिलौराकोटबाट नै विकसित भएको थियो । बोधगयाबाट विकसित भएको होइन । 

७. यसरी सिद्धार्थ एउटा नयाँ वैचारिक निष्कर्षमा पुगिरहेका थिए । तर, त्यसवेलाको सामाजिक वातावरणमा वैदिक दर्शन बढी मात्रामा हाबी थियो । उनीहरू त्याग र तपस्या गरेर मात्र सही ज्ञान प्राप्त हुन सक्छ भन्ने ठान्थे । त्यसले बुद्धको दिमागमा अझै एउटा अन्तरद्वन्द्व बाँकी थियो । के कठोर तपस्याबाट ज्ञान प्राप्त हुन्छ ? के त्याग र कष्टबाट मात्र वास्तविक ज्ञान प्राप्त हुन्छ ? के आफूभित्र विकसित हुँदै आएको असल सोच र व्यवहार नै वास्तविक ज्ञानको मार्ग होइन ? यी प्रश्न बुद्धको दिमागमा जबर्जस्त रूपमा उठिरहेका थिए । उनले व्यवहारमा सत्मार्गबाट, राम्रो व्यवहारबाट, सहिष्णुताबाट, गलत कुराको प्रतिवाद गरेर र सहअस्तित्वबाट नै सही ज्ञान प्राप्त हुनुपर्छ भन्ने सोच विकास गरिरहेका थिए । उनले पछि गएर त्यसलाई ‘पञ्चशील’ र ‘अष्ट मार्ग’का रूपमा सूत्रबद्ध गरे । तर, ती कुरा बुद्धलाई बोधगयाको पीपलको बोटमुनि प्राप्त भएका कुरा होइनन् । ती चिन्तन बुद्धभित्र पहिलेदेखि नै विकसित भइरहेका थिए । यी कुरा बुद्धमा रोहिणी नदीको विवाद, चार घटनाहरू, घाइते हाँसलाई बचाउने प्रयत्न आदिबाट नै हामी प्रस्ट देख्न सक्छौँ ।

शान्ति, सहअस्तित्व, समानताजस्ता अवधारणा राजनीतिक रूपले समेत आजको आधुनिक विश्वमा झन् आवश्यक र महत्वपूर्ण बनेका छन् । यस्तो दर्शनको विकास त्यसवेला नेपालमा हुनु र मानवजातिलाई २६०० वर्षअघिदेखि नै मार्गदर्शन गर्नु आफैँमा गौरवको कुरा हो ।

. बुद्ध बोधगया जानुअघि २९ वर्ष तिलौराकोटमै बसे । मानव समाजका प्रत्यक्ष व्यावहारिक गतिविधि र दैनिक परिघटनाको अध्ययन गरे । साथै दरबारमा रहेका विद्वान्सँग बहस छलफल पनि गरि नै रहे । आफ्नै बाबुले बुद्धलाई विभिन्न प्रकारका सुखसयल, आमोद प्रमोद र शासन प्रशासनतिर लगाउन खोज्दा पनि बुद्धको ध्यान त्यता आकर्षित हुन सकेन । बुद्धलाई गण प्रमुख शुद्धोधनले सबै कुरामा निपूण बनाउन चाहेका थिए । उनलाई अश्वारोहणको व्यापक तालिम दिइएको थियो । बुद्ध कुशल अश्वारोहक बन्नेका थिए । त्यसरी नै उनलाई धनुर्विद्याको तालिम पनि व्यापक रूपले दिइएको थियो । उनका समकालीनमा बुद्ध सर्वश्रेष्ठ धनुर्विद् थिए । तर उनी लडाइँ गर्ने, काटमार गर्ने, राज्य विस्तार गर्ने कुरातर्फ आकर्षित भएनन् । शुद्धोधनको यत्रो प्रयत्नको प्रतिरोध गर्दै शान्तिको पक्षमा उभिने बुद्धको नयाँ चिन्तन तिलौराकोटमै विकसित भइरहेको थियो । यसरी बुद्धको चेतना, बुद्धको संकल्प र बुद्धको प्रयत्न भिन्नै दिशामा अघि बढिरहेको थियो ।

अर्थात् बुद्धको दिमागमा त्यसवेलाको वस्तुगत परिस्थिति यसरी प्रतिबिम्बित भइरहेको थियो कि तत्कालीन वैदिक दर्शनमुखी समाजका निष्कर्षसँग बुद्धका चिन्तन हरक्षेत्रमा टकराइरहेका थिए । बुद्धको दिमागमा भिन्न चिन्तन, चेतना, विचार वा दर्शनको विकास तीव्र रूपले भइरहेको थियो । हो, यो नै बुद्धिजम हो । त्यो बुद्धिजम बोधगयामा अकस्मात जन्मेको होइन । त्यो त बुद्धभित्र तिलौराकोटमा हुँदैदेखि विकसित भएको हो । त्यसैले बुद्धिजमको जन्म अन्यन्त्र कहीँ पनि होइन, त्यो वर्तमान नेपालको लुम्बिनी प्रदेशको तिलौराकोटमै भएको हो भन्ने प्रस्ट छ । त्यसपछि पनि दर्शनको विकास हुँदै गयो । कतिपय कुरा भारत भूखण्डमा भएका बुद्धका महायात्राका क्रममा पनि विकास भए । त्यसलाई पनि अस्वीकार गर्न सकिन्न । तर, बुद्धिजमको विकास चामत्कारिक रूपले ‘बोधगया’बाट मात्र भएको हो भन्ने कुरा विज्ञानसम्मत होइन । त्यसलाई कुनै पनि नेपालीले मान्न सक्दैन । 

. यसरी बुद्ध दर्शन तत्कालीन वैदिक दर्शनसँग अन्तर संघर्ष गर्दै विकसित भएको दर्शन हो भन्ने कुरा हामीले गहिरो गरी बुझ्नुपर्छ । बुद्धले त्यसवेलाको परिस्थिति, समाजमा चलेका प्रचलन, मानव चिन्तनहरू, विकसित हुँदै आएका दृष्टिकोण सबै अध्ययन गरे । त्यसरी अध्ययन गर्ने क्रममा उनका विचारहरू अलग ढंगले विकसित भइरहेका थिए, तर अझै एउटा अन्तरद्वन्द्व बुद्धको दिमागमा थियो, त्यो के हो भने– ‘कठोर त्याग र तपस्याबाट मात्र सही ज्ञान प्राप्त हुन सक्छ र हामीले मोक्ष प्राप्त गर्न सक्छौँ, सांसारिक दुःखबाट मुक्त हुन सक्छौँ भन्ने वैदिक सनातन दर्शनको निष्कर्ष ।’ बुद्धका गुरुहरूले सुरुमा यही सिकाए । तर, बुद्ध त्यस्मा कहिल्यै सहमत भएनन् । तर, अझै त्यसबारे परीक्षण गर्ने विचारचाहिँ बुद्धमा रहिरह्यो । त्यसले गर्दा बुद्ध आफ्ना नवीन विचारहरूको सत्यताको परीक्षण गर्न तिलौराकोट दरबार छाडेर २९ वर्षको उमेरमा हिँडे । त्यसपछि उनी वर्तमान भारतका विभिन्न स्थान पुगे । त्यसवेलाका अनेकौँ विद्वान्सँग भेटघाट र बहस गरे । उनीहरू सबैले त्याग र तपस्याकै मार्गको कुरा गरे । त्यसैले आफ्नै र अरूको पनि भ्रम निवारणका निम्ति एकपटक कठोर तपस्या गर्ने निर्णयमा बुद्ध पुगे । 

१०. यस्तो निर्णयपछि उनी बोधगया गए । एउटा पीपलको बोटमुनि पद्मासनमा बसेर कठोर तपस्या सुरु गरे । उनले खाने–पिउने सबै कुरा त्याग गरे । निराहार र एकाग्र भएर ध्यानमा बसे । त्यो अत्यन्त कष्टकर कुरा थियो । मानिस खाने–पिउने नगरी बाँच्न सम्भवै हुँदैन । यो शाश्वत प्राकृतिक नियम हो । तर, बुद्धले आफ्नो नवीन विचार सही हुने कि कठोर तपस्याको बाटो ज्ञान मार्गको बाटो सही हो भनेर कठोर परीक्षण सुरु गरे । उनी ध्यानमा बस्दै गए । उनको शरीर कमजोर हुँदै गयो, दुब्लो पातलो बन्दै गयो । अशक्त बन्दै गयो । उनले एक हप्ता, दुई हप्ता गर्दै सात हप्ता बिताए ।

उनको शरीर हलचल गर्न नसक्ने भयो । सुकेर हाड र छाला मात्र भयो । श्वासप्रश्वास गर्न पनि कठिन हुन थाल्यो । तर, कुनै नयाँ ज्ञान प्राप्त भएन । बुद्धले पहिले नै निकालेका निष्कर्ष जुन थिए, तिनै कुरा सही हुन्, यो कठोर तपस्याको बाटो ज्ञान प्राप्तिको बाटो होइन, यो कष्टको बाटो मात्र हो । यो आत्मध्वंसको बाटो मात्र हो भन्ने निष्कर्षमा बुद्ध झन् आत्मविश्वासका साथ पुगे । त्यो ४९ दिनको कठोर तपस्याबाट बुद्धलाई कुनै गम्भीर नयाँ ज्ञान प्राप्त भएन । त्यो तपस्या त ज्ञान प्राप्तिको असफल मार्ग हो भन्ने मात्र पुष्टि भयो । त्यसैले ‘बोधगया’बाट ‘बोधिसत्व’ प्राप्त भयो भन्ने कुरा एउटा भ्रम मात्र हो । बुद्धिजम त्यो पीपलको बोटमुनि प्राप्त भएको अलौकिक र चामत्कारिक ज्ञान होइन । त्यो त कठोर तपस्याबाट ज्ञान प्राप्त हुन सक्दैन भन्ने निष्कर्ष निक्लिएको थलो मात्र हो । त्यसैले तिलौराकोटबाटै विकसित भएको नवीन चिन्तन नै बुद्धवाद हो, बोधगया कुनै चिन्तन प्राप्त भएन भनेर पुष्टि गर्ने थलो मात्र हो । अर्थात् यसलाई सकारात्मक रूपले भन्ने हो भने कठोर तपस्याबाट मानवले कुनै नयाँ ज्ञान प्राप्त गर्न सक्दैन भन्ने कुरा व्यवहारद्वारा नै बुद्धले पुष्टि गरेको थलो हो । यो पनि एउटा महत्वपूर्ण ज्ञानचाहिँ अवश्य हो ।

११. यसरी बुद्धले आफ्ना विचारको परीक्षण गर्ने सिलसिलामा बोधगयामा अत्यन्त कठोर तपस्या गरे । आफ्नो जीवनलाई मृत्युको मुखसम्म पु¥याए । यो कठोर तपस्याको मार्ग ज्ञानमार्ग होइन, यो मृत्युमार्ग हो भन्ने कुरा पुष्टि गरे । त्यसवेला मानव समाजमा भयानक हिंसा, युद्ध, काटमार र विध्वंस मच्चाइरहेका शक्तिसामु एउटा दीर्घकालीन शिक्षा दिँदै बुद्धले सुजाता नाम गरेकी एक युवतीले दिएको खिर खाएर उक्त कठोर तपस्याको गलत मार्गलाई विसर्जन गरे । आफूले बाल्यकालदेखि क्रमशः जीवनका वास्तविकता देखेर विकसित गर्दै ल्याएका धारणा, विचार, चिन्तन र दृष्टिकोण नै सही रहेछन् भनेर बुद्धले आफ्ना शिक्षा सूत्रबद्ध गर्दै प्रचारप्रसार गर्न थाले । बुद्धका यी विचार र शिक्षाहरूको समग्र शृंखला नै बुद्धिजम हो ।

उनका ती शिक्षा बोधगयामा अकस्मात र अलौकिक ढंगले प्राप्त भएका होइनन् । अध्यात्मवादको जालोले दिमाग छोपिएका मानिसले त्यस प्रकारको तर्क गर्नु भिन्नै कुरा हो । तर, बुद्धिजम भनेको सिद्धार्थ गौतमको दिमागमा त्यसवेलाको समाज, त्यसभित्रका अन्तरविरोध र त्यसवेलाका चिन्तनधाराबीच चलिरहेको अन्तद्र्वन्द्वहरूको उपज हो । प्रत्येक दर्शनजस्तै बुद्ध दर्शन पनि एकैदिनमा होइन, क्रमिक रूपले विकास भएको दर्शन हो । त्यो दर्शनको उद्गम थलो बोधगया होइन, यसको उद्गम थलो महान् तिलौराकोट हो । त्यो अहिले नेपालको एउटा महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक थलो बनेको छ । भारतका नेताहरूले पनि यो कुरालाई बुझ्नु जरुरी छ ।

१२. यसरी बुद्ध कठोर तपस्याबाट नयाँ ज्ञान प्राप्त गर्न असफल भएपछि आफूले सुरुदेखि विकसित गर्दै ल्याएको व्यावहारिक ज्ञान नै सही रहेछ भन्ने कुरामा विश्वस्त बने । ती ज्ञानलाई व्यवस्थित र सूत्रबद्ध गरे र तिनीहरूलाई मानवजातिले ग्रहण गर्नुपर्ने शिक्षाका रूपमा प्रचारप्रसार गर्न थाले । बुद्ध साहित्यको भाषामा ‘चार आर्य सत्य’, ‘अष्ट मार्ग’ र ‘पञ्चशील’ आदि भनिए पनि आजसम्म पनि मानव जातिका निम्ति अत्यन्त उपयोगी भएका बुद्धका केही शिक्षालाई यसरी उल्लेख गर्न सकिन्छ 

(क) हिंसा, युद्ध र काटमार होइन, विश्वमा, समाजमा र परिवारमा पनि शान्ति कायम गर्नुपर्छ । 
(ख) प्रकृतिमा र मानव समाजमा पनि व्यापक विविधता छ । देश भिन्न–भिन्न छन् । प्रत्येक समाजभित्र पनि भिन्नता छन् । तिनीहरूबीच शान्तिपूर्ण ढंगले सहअस्तित्व रहनुपर्छ र एक–आपसमा सहयोग गर्नुपर्छ । 
(ग) हामीले एक–आपसमा घृणा होइन, मानिसबीच माया, सम्मान र समानताको दृष्टिकोण राख्नुपर्छ । 
(घ) मानिस सबै एकै हौँ । कोही उच्च र निच हुँदैन, यो उच्च र निचको भावना कृत्रिम मात्र हो ।
(ङ) हरेक कुराको उत्पत्ति, विकास र अन्त्य हुन्छ, यो प्रकृतिको नियम हो । यसबाट हामी कोही अछुत छैनौँ । त्यसैले हाम्रो जीवन पनि क्षणभंगुर छ । प्रकृति र मानव समाज दुवैमा यो लागू हुन्छ ।
(च) यो संसार अनित्य छ । यो लगातार परिवर्तन हुँदै गइरहेको छ ।

बुद्ध दर्शनका यी केही महत्वपूर्ण भौतिकवादी पक्ष हुन् । अरू पनि यस्ता महत्वपूर्ण कुरा छन् । यी पक्ष द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणसँग मेल खान्छन् । सम्रगमा बुद्ध दर्शन त्यसवेला आफ्नो सेरोफेरोको समाज दासकालीन अवस्थाबाट गुज्रिरहेको, दासकालीन राज्य गणराज्यबाट वंशगत राजतन्त्रात्मक राज्यतिर विकसित भइरहेको र त्यस्ता राज्य आ‐आफ्नो प्रभुत्व विस्तारका निम्ति अत्यन्त क्रूर भएर हिंसा, युद्ध र आक्रमणतिर उन्मुख भइरहेको अवस्थामा विकसित भएको दर्शन हो । यस दर्शनमा भौतिकवाद र अध्यात्मवादका दुवै पक्ष छन् । त्यति प्राचीनकालमा अघि सारिएका दर्शनमा जुन भौतिकवादी पक्ष छन्, तिनीहरू आज र भोलिका लागि पनि महत्वपूर्ण छन् । शान्ति, सहअस्तित्व, समानताजस्ता अवधारणा राजनीतिक रूपले समेत आजको आधुनिक विश्वमा झन् आवश्यक र महत्वपूर्ण बनेका छन् । यस्तो दर्शनको विकास त्यसवेला नेपालमा हुनु र मानवजातिलाई २६०० वर्षअघिदेखि नै मार्गदर्शन गर्नु आफैँमा ठूलो गौरवको कुरा हो ।

१३. यसरी नेपालबाट तिलौराकोटस्थित शाक्य गणराज्यबाट विकसित भएको बुद्ध दर्शन स्वयं बुद्धबाट र त्यसपछिको कालखण्डमा उनका चेलाबाट धेरै देशमा फैलियो । प्राचीनकालदेखि नै एसियाका भारत, चीन, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, थाइल्यान्ड, श्रीलंका, म्यान्मार, मंगोलिया, कोरिया, जापान, रुसलगायत देशमा फैलियो । त्यसक्रममा धेरै देश बुद्धिस्ट देशका रूपमा समेत स्थापित छन् । तर, उनीहरू कसैले पनि बुद्धलाई आफ्नो देशका र आफूले बुद्ध विश्वलाई दिएको दाबी गर्दैनन् र गरेका पनि छैनन् । तर, केही समयअघि मात्रै भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बोल्ने कतिपय वक्ताले ‘बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने कुरा बोले । त्यस कुरालाई नेपालका एक खेम्पोले बडो शालीन भाषामा तर सशक्त रूपले खण्डन गरे । उनले ‘बुद्ध नेपालमा जन्मेका’ भन्ने कुरालाई सबैले बुझ्ने गरी बताए ।

उनको भनाइले ताली पनि पायो । उक्त सम्मेलनमा एउटा तरंग पनि फैलाइदियो । तर, सबैको अपेक्षाविपरीत भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले भने ‘अरूले विश्वलाई युद्ध दिए, तर भारतले विश्वलाई बुद्ध दियो ।’ भनाइ त बडो अनुप्रासयुक्त छ । तर, त्यो गलत हो । जुन बुद्धले सबैलाई ‘सत्य बोल’ भन्ने शिक्षा दिए, उनका बारेमा हाम्रो छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीले झुट बोल्नु आश्चर्यजनक बन्न पुग्यो । त्यो सत्य होइन, भारतका महामहिम प्रधानमन्त्रीज्यू बुद्ध र बुद्धवाद विश्वलाई भारतले होइन, नेपालले दिएको हो, सम्पूर्ण नेपाली यसमा गर्व गर्छन् । हो, बुद्धले बुद्धत्वको प्रचार–प्रसार भारतका धेरै सहरमा गरे र भारतमै महापरिनिर्वाण पनि प्राप्त गरे । त्यो पनि सत्य हो । तर, बुद्ध नेपालमा जन्मिएका र बुद्धिजम पनि नेपालमा जन्मिएको भन्ने कुरा पनि घामको उज्यालोजस्तै टड्कारो सत्य हो । यो सत्यलाई कसैले ढाकछोप गर्न सक्दैन । यस सम्बन्धमा हामी नेपाली जुन वेला पनि यहाँहरूसँग बहस गर्न र सत्यलाई स्थापित गर्न तयार छौँ । हामी नेपालीलाई विश्वास छ, शक्तिले सत्यलाई तलमाथि पार्न सक्दैन ।

ad
ad
ad
ad