१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०८० जेठ १६ मंगलबार ०७:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीले संसदमा सुनाए भारत भ्रमणका एजेन्डा

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० जेठ १६ मंगलबार ०७:५५:००

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका एजेन्डाबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रचण्डले १७ देखि २० जेठसम्म हुन लागेको भारतको औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । 

प्रधानमन्त्री प्रचण्डका अनुसार भारतीय प्रधानमन्त्रीसँग नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता गर्ने तयारी रहेको छ । ‘व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रमा व्यापार तथा अन्तरदेशीय विद्युत् प्रशारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेशमार्ग, एयर रुट, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका विषयमा छलफल हुनेछ,’ उनले भने ‘हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लालाई भारतसँग जोड्ने मोटरेबल र झोलुंगे पुल निर्माणको सम्बन्धमा समेत यो भ्रमणमा छलफल हुनेछ ।’

प्रचण्ड, प्रधानमन्त्री
व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेशमार्ग, एयर रुट, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका विषयमा छलफल हुनेछ

नेपालका नदीहरूमा विभिन्न जलविद्युत् आयोजनामा नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइनलगायतका संरचनाको निर्माण गर्ने र जलविद्युत् निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डले बताए । भारतको भूमिका हुँदै बंगलादेशसम्म जलविद्युत् निर्यातको विषयमा समेत योपटक ठोस कुराकानी हुने उनले बताए । 

प्रधानमन्त्री प्रचण्डका अनुसार पञ्चेश्वर परियोजनाको डिपिआर टुंग्याउने गरी भारतीय पक्षसँग वार्ता हुनेछ । ‘महाकाली–सन्धिपश्चात् २६ वर्षसम्म पनि पञ्चेश्वर परियोजनामा प्रगति हुन सकेको छैन । सिँचाइ र जलविद्युत्का लागि महाकाली नदीको पानीको समान र साझा उपयोग हुने गरी यस परियोजनाको डिपिआरलाई टुंगोमा पुर्‍याउनेतर्फ पनि ठोस छलफल गरिनेछ ।’ उनले भने, ‘द्विपक्षीय वार्ताको माध्यमबाट तयार गरिएको नयाँ पारवहन सन्धिलाई टुंगोमा पुर्‍याउने प्रयास पनि यस छलफलमा हुनेछ,’ उनले भने । 

इतिहासदेखि नै थाँती रहेका सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउने गरी छलफल अगाडि बढाइने उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रका विषयमा हुने छलफल तथा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेकाले सोहीअनुरूप प्रतिनिधिमण्डल गठन गरिएको प्रचण्डले बताए । उनका अनुसार भ्रमण दलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, उद्योगमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, अन्य वरिष्ठ सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू एवं सञ्चारकर्मी सम्मिलित हुनेछन् । 

‘आसन्न भारत भ्रमणका लागि अन्तिम चरणमा तयारी भइरहेको छ । नेपालको राष्ट्रिय हित र छिमेकी मित्रराष्ट्रसँगको मित्रवत् सम्बन्धलाई केन्द्रमा राखी पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिज्ञ तथा क्षेत्रगत विज्ञहरूलगायतसँग परामर्शसमेत गरी भ्रमणका क्रममा उठान गरिने विषयवस्तुका बारेमा गहिरोसँग बुझ्ने र सारभूत तयारी गर्ने कार्य भएको छ,’ उनले भने । 

भ्रमणका क्रममा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग समेत शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत बिजनेस समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत रहेको छ । 

यसरी महत्वपूर्ण विषयमा छलफल, सहमति र समझदारी भइसकेपछि नेपाल फर्किनुअघि मध्यप्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ । इन्दोरमा स्वच्छ भारत अभियानअन्तर्गत सोलिड वेस्ट म्यानेजमेन्ट परियोजना र आइटी पार्कको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।