
कोसी प्रदेश नाम खारेज गरी पुनः नामकरण गर्नुपर्ने भन्दै पहिचानवादी पक्षधरले आइतबारदेखि विराटनगरमा प्रदर्शन थालेका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दिनभर विराटनगर तनावग्रस्त बन्यो । झडपमा परी ३७ जना प्रहरी र २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका हुन् ।
आइतबारदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनका क्रममा प्रदेश सभा भवन घेराउ गर्न पुगेका पहिचानवादी प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७४ राउन्ड अश्रुग्यास र ४० राउन्ड हवाई फायर गरेको थियो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार ७९ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा पहिचान पक्षधर आन्दोलनका शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म छन् । प्रदर्शनका क्रममा हिंसात्मक घटना हुन सक्ने भन्दै प्रशासनले शनिबारदेखि नै विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरेको थियो । तर, आइतबार बिहानै निषेधाज्ञा तोडेको भन्दै ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।
विराटनगरमा भेला भएका पहिचानवादी पक्षधर जिल्ला प्रशासन कार्यालयअगाडिबाट नाराबाजी सुरु गर्दै प्रदेश सभा भवन रहेको देवकोटा चोकमा पुगेका थिए । प्रदेश सभा भवनवरपर प्रहरीले ब्यारिकेट लगाएर सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
आक्रोशित प्रदर्शनकारी ब्यारिकेट तोडेर प्रदेश सभा भवनअगाडि जान खोजेपछि प्रहरी र उनीहरूबीच झडप सुरु भएको थियो । बाहिर तनाव भए पनि भित्र भने कोसी प्रदेश सभाको बैठक सम्पन्न भएको थियो । सभाले तत्काल १ नम्बर प्रदेश सभाको सबै गतिविधि हटाउँदै कोसी प्रदेश सभाको नाम स्वीकार गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
१७ फागुन ०७९ मा तत्काल १ नम्बर प्रदेश सभाले दुईतिहाइ बहुमतले कोसी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरहरूले खारेजीको माग गदैै आन्दोलन गर्दै आएका छन् । ५ र १४ चैतमा विराटनगरमा भएको प्रदर्शनमा दुई दर्जन प्रदर्शनकारी र त्यति नै संख्यामा घाइते भएका थिए । प्रदर्शनका क्रममा एकजना घाइतेको मृत्यु भइसकेको छ ।