Skip This
कोभिडमा किनेको साढे दुई करोडका स्वास्थ्य उपकरण उपयोगविहीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ११ बिहीबार १३:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडमा किनेको साढे दुई करोडका स्वास्थ्य उपकरण उपयोगविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १३:o७:oo

गुल्मीमा कोभिडको पहिलो र दोस्रो लहरको समयमा खरिद गरिएका करिब दुई करोडबराबरका स्वास्थ्य उपकरण उपयोग नभएर अलपत्र परेका छन्। पहिलो लहरको वेला ३१ जेठ ०७७ मा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले कोभिड– १९ प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकमा प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यवस्थापनका लागि नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख उपलब्ध गराउने सहमति भयो।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पिसिआर मेसिनको जोहो गरिदिएर १ असोज ०७७ मा प्रयोगशालाको उद्घाटन गरे। असोजबाटै नियमित परीक्षण सुरु भयो। ०७८ सालमा कोभिडको दोस्रो लहरसँगै परीक्षणका लागि एन्टिजेन आएपछि प्रयोगशालाको औचित्य सकियो। झन्डै ५० लाखको पिसिआर मेसिनसहित प्रयोगशालाका सामग्रीहरू गरेर करिब एक करोड खर्च भयो। 

अहिले पिसिआर मेसिनसहितका स्वास्थ्य सामग्री उपयोगविहीन भएर कोठामा थन्किएका छन्। दुईपटक गरेर प्रयोगशाला सञ्चालनमै ७० लाखभन्दा बढी खर्च गरियो। प्रयोगशाला भएको घरमा अहिले रेसुंगा नगरपालिका– ९ को कार्यालय सञ्चालन गरिएको छ। ‘प्रयोगशाला बन्द भएपछि भाडामा बसेको वडा सारेका छौँ। अस्पतालले प्रयोगशालाको साँचो नगरलाई बुझायो,’ वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले भने, ‘सस्तो र छिटो हुने एन्टिजेन आएपछि महँगाे पिसिआर परीक्षण बन्द भयो ।’ 

भेन्टिलेटरसहितको आइसियू अलपत्र
यता, गुल्मी अस्पतालमा जनशक्ति नहुँदा एक वर्षदेखि दुईवटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियू अलपत्र परेको छ। कोभिड–१९ को वेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भयो। तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आइसियू अलपत्र भएको छ। एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण अलपत्र छ।

केन्द्रमा पहुँच भएका जिल्लाका मन्त्री, सांसद र नेताहरू भौतिक पूर्वाधार विकासमाा केन्द्रित देखिए। तर, वर्षौँदेखि विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियू उपयोग नभएर धुलाम्य बनेका छन्। स्थायी मेडिकल अधिकृत पनि जिल्लामा नबस्ने अवस्थामा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति प्रदेशस्तरबाट व्यवस्थापन नहुने गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी बताउँछन्।

५९ स्थायी दरबन्दी, १७ कार्यरत
गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको भए पनि स्थायी र फाजिलका गरी १७ जना कार्यरत छन्। विशेषज्ञ डाक्टरहरूको १० स्थायी दरबन्दी भएको अस्पतालमा एकजना मात्रै छन्। स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा फाजिलमा कार्यरत छिन्। त्यस्तै छात्रवृत्ति करारका दुईजना विशेषज्ञ छन्।

अस्पतालका चार स्थायी मेडिकल अधिकृत अध्ययन बिदामा छन्। अहिले मेडिकल अधिकृत पदमा छात्रवृत्ति करारका चारजनाले काम गरिरहेका अस्पतालको प्रशासन शाखा प्रमुख असिम चौधरीले जानकारी दिए। स्थायी नर्सिङ अधिकृत एकजना मात्र छन्। स्टाफ नर्सको आठ स्थायी दरबन्दी भएकोमा दुईजना छन्।