मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख २ आइतबार
  • Sunday, 14 April, 2024
राबाह अर्जेज्की
२०८० जेठ ११ बिहीबार ०९:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भिन्न हुनेछ चीन–अमेरिकाबीचको दोस्रो शीतयुद्ध

Read Time : > 2 मिनेट
राबाह अर्जेज्की
२०८० जेठ ११ बिहीबार ०९:०२:००

चीन र अमेरिकाबीचको तनाव बढ्दै जाँदा यी दुई शक्तिबीच नयाँ शीतयुद्धको सम्भावनाबारे विद्वान् र टिप्पणीकारमाझ बहस हुन थालेको छ । अमेरिकी अधिकारीले पनि बेइजिङसँगको आफ्नो मुलुकको सम्बन्ध त्यसै दिशातर्फ बढेको संकेत गर्न थालेका छन् । तथापि, आजको विश्व राजनीति र अर्थतन्त्रको अवस्था दोस्रो विश्वयुद्धपछि सोभियत संघ र अमेरिकाबीचको शीतयुद्धकालीन समयभन्दा पूर्णतः भिन्न छ । त्यसवेला विश्व दुई ध्रुवमा बाँडिएको थियो र हरेक मुलुकले दुईमध्ये एउटा पक्ष रोज्नुपथ्र्यो । हुन त असंलग्न आन्दोलनका नाममा केही मुलुकले तटस्थताको प्रयास नगरेका होइनन् ।

तर, त्यही आन्दोलनका कतिपय सदस्य नै दुईमध्ये एक शिविरमा आबद्ध थिए । शीतयुद्ध अवधिभर वासिंगटन र मस्कोले अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कैयौँ देशलाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउने प्रयासमा ‘कु’ र ‘विद्रोह’को शृंखला चलाए । आज, महाशक्ति राष्ट्रहरूले विनाकुनै हिचकिचाहट अर्को मुलुकको शासन परिवर्तन गर्न सक्ने क्षमतामा उलेख्य कमी आएको छ । विश्वव्यापी जनमतबाट आउने तत्काल र ठूलो प्रतिक्रियालाई लिएर उनीहरू सचेत हुन थालेका छन् । यो प्रभाव प्राविधिक अन्तरसम्बन्ध र सामाजिक सञ्जालले बढाइदिएको छ । 

चीन अहिले सोभियत संघको विपरीत अमेरिकाको रणनीतिक प्रतिद्वन्द्वी मात्र होइन, आर्थिक प्रतिस्पर्धी पनि हो । यसको मतलब चीन–अमेरिका प्रतिद्वन्द्विताबीच परेका देशहरूले रक्षामा मात्र नभई आर्थिक सर्तमा पनि ‘बार्गेनिङ’ गर्न सक्षम हुनेछन् । विश्वव्यापीकरणले कुनै एक पक्षप्रति मात्र प्रतिबद्ध रहने छनोटलाई पनि धेरै महँगो बनाएको छ । आज, एउटा पक्ष मात्र छनोट गर्नु भनेको अर्को शिविरसँगको लगानी र व्यापारबाट हुने आर्थिक लाभबाट विमुख हुनु हो । त्यसैले, इतिहास दोहोरिएमा आगामी शीतयुद्ध पनि पहिलो शीतयुद्धजस्तो हुने सम्भावना न्यून छ । आजको वैश्विक दुनियाँमा अमेरिका र चीनबीचको तनाव फरक ढंगले अघि बढिरहेको छ ।

कुनै एक पक्षसँग मात्र आबद्धताको कुरामा आगामी दिनमा राज्यहरूले कुनै एक क्षेत्रमा एउटा शक्तिसँग र अर्को क्षेत्रमा प्रतिद्वन्द्वी शक्तिसँग संलग्न हुने प्रयास गर्ने सम्भावना रहन्छ । यसको मतलब केही पर्यवेक्षकले चेतावनी दिएजस्तै ‘डि–ग्लोबलाइजेसन’ (विश्वव्यापीकरणको विखण्डन) को प्रक्रिया आगामी वर्षमा हाबी हुने सम्भावना छैन । बरु, पुनः विश्वव्यापीकरणको सम्भावना हुन्छ । अर्थात्, भूमण्डलीकरणले प्राविधिक विकासका कारण विश्वव्यापी अन्तरसम्बन्धको रूपमा नयाँ मार्ग लिन थालेको छ । यो व्यापार र लगानी प्रभावकारिताले मात्र निर्देशित हुनेछैन ।

अमेरिका र चीनबीचको तनाव र एकअर्कालाई आर्थिक रूपमा एक्ल्याउने प्रयासले व्यापार र लगानीलाई असर गरिरहेको छ । अमेरिका र यसका सहयोगी मुलुकका राजधानीमा तिनका प्रमुख उद्योगका उत्पादन चिनियाँ कम्पनीलाई ‘आउटसोर्सिङ’ गर्नु राष्ट्रिय सुरक्षाका हिसाबमा खतरापूर्ण रहेको बहस भइरहेको छ । त्यसकारण उनीहरूले त्यस्ता उत्पादनलाई चीनबाट अन्यत्र सार्न थालेका छन् ।

अमेरिका–चीन प्रतिद्वन्द्विता बढ्दै गएको छ, तर यसको गतिशीलता अमेरिका र सोभियत संघबीच चलेको पहिलो शीतयुद्धभन्दा धेरै भिन्न छ

यो स्थानान्तरण आर्थिक दृष्टिकोणबाट तत्काल फाइदाजनक नदेखिए पनि राजनीतिक रूपमा बढी भरपर्दो मानिएको छ । यस स्थानान्तरणले साना र मध्यम देशमा लगानी र व्यापारमा सहयोग पुग्ने प्रक्षेपण छ । यस स्थानान्तरण (जसलाई पुनः विश्वव्यापीकरण पनि भन्न सकिन्छ) को अग्रपंक्तिमा ठूला उदीयमान बजार र भूरणनीतिक स्थानमा रहेका देश समावेश छन् । ब्राजिल, भारत, इन्डोनेसिया, मेक्सिको र टर्कीजस्ता ठूला उदीयमान बजारले दुवै महाशक्तिसँगको सम्बन्ध परीक्षण गर्दै बहुपक्षीय सम्बन्धलाई अधिकतम बनाउने प्रयास गरिरहेका छन् ।

खाडी देशहरू, विशेषगरी साउदी अरेबियाले लामो समयदेखि अमेरिकाको विशेष सुरक्षा सहयोगको बदलामा ऊर्जा आपूर्ति गर्दै आएको थियो । यस विशेष सम्बन्धमा पनि परिवर्तन हुँदै छ । तर, यो परिवर्तन अमेरिका ऊर्जामा आत्मनिर्भर भएर भने आएको होइन । साउदी अरेबिया र अन्य खाडी देशबाट तेलको प्रमुख आयातकर्ता बनेसँगै चीनले यस क्षेत्रमा प्रभाव बढाउँदै लगेको छ । खाडी देशलाई अहिले दुवै महाशक्तिले आफूतर्फ तान्ने प्रयास गरिरहेका छन्, जसका कारण यी मुलुकले सहज रूपमा राजनीतिक र आर्थिक फाइदा हासिल गर्ने निश्चित छ । चीन–अमेरिका तनावबाट केही राष्ट्रले फाइदा लिन सक्ने भए पनि समग्र विश्वले भने घाटा व्यहोर्ने सम्भावना छ ।

पुनः विश्वव्यापीकरणले आर्थिक क्षमतालाई असर गर्नेछ र सम्भवतः गरिबी बढाउनेछ । समग्रमा व्यापार र लगानी प्रवाह घट्ने सम्भावना छ, जसले धेरै विकासोन्मुख देशको अर्थतन्त्रलाई कमजोर बनाउँछ । यसले धन र रोजगारी सिर्जनालाई अवरोध पुर्‍याउँछ, जुन लाखौँ घरपरिवारलाई घातक ठहरिनेछ । यसबाहेक, पुनः विश्वव्यापीकरणले अमेरिका र चीनबीचको बढ्दो तनावले निम्त्याउने जोखिमलाई कम गर्दैन ।

अमेरिका र चीनबीचको छद्म युद्धका रूपमा हेरिएको युक्रेन द्वन्द्व र ताइवानमाथिको तनावले उनीहरूको प्रतिद्वन्द्विताको जोखिम झन् स्पष्ट गराएको छ । दुई महाशक्तिलाई क्षेत्रीय द्वन्द्वमा तानेर एकअर्कालाई कमजोर बनाउने प्रलोभनले प्रत्यक्ष सैन्य भिडन्तको जोखिम बढाउन सक्छ । यस सन्दर्भमा भने नयाँ शीतयुद्ध पुरानोसँग मिल्दोजुल्दो देखिन्छ, जहाँ विश्वव्यापी युद्ध र आणविक विनाशको छाया मडारिन सक्छ । इतिहासबाट पाठ सिक्नुपर्छ, अमेरिका र चीनले तनाव कम गर्ने प्रभावकारी संयन्त्र स्थापना गर्नुपर्छ । वार्ता र विश्वासको वातावरण निर्माणमार्फत दुई महाशक्तिबीचको द्वन्द्वको आर्थिक र भूराजनीतिक दुष्परिणामबाट बाँकी विश्वलाई जोगाउन सकिन्छ ।

(अफ्रिकन डेभलपमेन्ट बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका शीर्ष पदहरू सम्हालिसकेका अर्जेज्की हार्वर्ड केनेडी स्कुलका सिरियर फेलो हुन्) अलजजिराबाट