
रञ्जना सिनेप्लेक्समा चलचित्र हेर्ने सिटिजन्स बैंकका ग्राहकले छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने समझदारी भएको हो ।
समझदारीपत्रअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रञ्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले हाल देशभरमा एक सय ८२ शाखा, तीन विस्तारित काउन्टर, एक सय ३९ एटिएम, ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।