मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ९ मंगलबार १८:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजालाई सांसद पन्तको चेतावनी- तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ९ मंगलबार १८:३२:००

नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। 

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएबा हुन्। 

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए। उनले राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे। 

उनले भने, ‘ज्ञानेन्द्र दुइचोटी राजा हुनुभयो । तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्। किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो। अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन् । नेपालमा सझदारीले राम्रो के भयो भनेदेखि राजाले पनि जनताको भावना बुझेर शान्तिपूर्ण ढंगले गद्दी छोडे । र त्यो गद्दी छोडिसकेपछि कुनै बदलाको कारबाही पनि बहुदलवादीहरुले राजालाई गरेनन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रुपमा शान्तिपूर्ण ढंगले उहाँको कुनै सम्पति पनि खोसिएको छैन। उहाँले कसरी कमाउनुभएको छ भनेर खोजिनिति पनि गरिएको छैन । ति सबै कुरालाई शान्तिपूर्ण ढंगले समाधान गरियो र राजालाई पूर्वराष्ट्राध्यक्षको रुपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुपर्‍यो । राजीतिक लक्ष्य त्याग्नुपर्‍यो । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भैहाल्यो।’

त्यस्तै नेकपामाओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताए। दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे। गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने दाबी गरे। 

उनले भने, ‘किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरु अहिले पार्टीहरुका बीचमा विवाद गर्‍यौँ, बहस गर्‍यौँ, झमेला गर्‍यौँ भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ? हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बिचबाट एउटा सम्वाद निकालेर जान्छौँ भनेको हो । गन्थनमन्थन गर्दैछौँ । आखिरी पर्दाखेरी हिजो संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्तिहरु एक ठाउँमा आएर देशलाई निकाश दियौँ । अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरु एकै ठाउँमा आउनुको विकल्प छैन । हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरावलोकन गर्नुपर्छ । पुनःविचार गर्नुपर्छ । तर यो व्यवस्था फेल भएको छैन।’

कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताए। उनँले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे। 

उनले भने, ‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ । कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन एउटा नागरिक हिड्दै आफ्नो कुरा राख्दै जाँदाखेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन। नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न, हटाउन सक्छ । सभ्य, शालिन रुपमा प्रश्तुत हुँदा हाम्रो कसैसँग विमति रहँदैन । नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त हुँदैन । कानूनी राज्य समाप्त हुँदैन । त्यही आधारमा राजा आइहाल्छ भन्ने पक्षमा म छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बराइरहने टिप्पणी गरे।