१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ ८ सोमबार ०६:१४:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ ८ सोमबार ०६:१४:००

एकपटक बुद्ध आफ्ना शिष्यहरूका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । हामी पनि हजुरजस्तो महान् गुरुका शिष्य बन्न पाउँदा धन्य भएका छौँ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि बताउनु भएको छैन । यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु !

उनको जिज्ञासा सुनेर बुद्ध मन्दमन्द मुस्कुराए । एकैछिन मौन रहे । एकछिनपछि गम्भीरतापूर्वक उनले भने— हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि बताएको छैन । ठीकै छ, आज म तिमीहरूलाई यसबारे बताउँछु । तर, यसबारे बताउनुअघि तिमी मेरो एक प्रश्नको जवाफ देऊ है ! उनका शिष्यले भने— आज्ञा होस् प्रभु !

बुद्धले भने— एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो । अचानक कतैबाट आएर एउटा विषालु बाण उसको शरीरमा घुस्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको बाण हटाउनु ठीक हुन्छ कि त्यो बाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए— उसले सबैभन्दा पहिले शरीरमा घुसेको बाण निकाल्नुपर्छ । अन्यथा बाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ । 

शिष्यको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले भने— तिमीले बिल्कुलै ठीक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक होला ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।