मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Thursday, 13 August, 2026
२o८o जेठ ७ आइतबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा टेलिफोन टावर  छ, नेटवर्क छैन

छिनछिनमै नेटवर्क अवरुद्ध हुँदा सेवाग्राही आजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १४:१६:oo

जुम्लाको हिमा गाउँपालिका– ५ बुअ गाउँकी गौकला शाहीको घरनजिकै टेलिफोनको टावर छ । तर, मोबाइल फोनमा नेटवर्क भने आउँदैन। अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पुर्‍याउन मान्छे नै दगुराउनुपर्ने अवस्था छ।

टावर ठड्याएको वर्षौँ हुँदा पनि आफूहरू सञ्चारको पहुँचबाट वञ्चित हुनुपरेको गौकलाको गुनासो छ। ‘अहिले पनि हामीले देश २१औँ शताब्दीमा पुगेको अनुभूति गर्न पाएका छैनौँ । खबर आदान–प्रदानमा उस्तै कठिनाइ छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भने, ‘अकस्मात् कोही बिरामी हुँदा एम्बुलेन्सलाई खबर गर्नसमेत नसक्ने अवस्था भोग्दै आएका छौँ।’

राज्य पुनर्संरचनापछि गाउँमा ‘सिंहदरबार’ पुगे पनि अत्यावश्यक टेलिफोन, इन्टरनेटजस्ता पूर्वाधारको सहज पहुँच नहुँदा नागरिकको दैनिकी उस्तै रहेकोमा उनले असन्तुष्टि पोखे। गाउँपालिकाको कार्यालय नाग्म–गमगढी राजमार्गअन्तर्गत जुगाड बजारमा छ। यहाँसमेत सञ्चारका कुनै माध्यम छैनन्। संघ र प्रदेश सरकारबाट विभिन्न नीति, ऐन, नियमबारे स्थानीय तहमा परिपत्र भइरहे पनि समयमा जानकारी लिई कार्यान्वयन गर्न सक्ने अवस्थासमेत छैन।

टेलिफोन सेवाका लागि जिल्ला कार्यालयदेखि विभागसम्म ताकेता गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष शाहीले बताए। उनले भने, ‘हिमा गाउँपालिकाको कालिकाखेतुमा टेलिकमले टावर ठड्याइएको छ। तर, काम नगरेर सेवाग्राहीदेखि जनप्रतिनिधि र कर्मचारी पनि आजित भइसके।’

गाउँपालिकाको पशु शाखा प्रमुख नरसिंह थापाका अनुसार गत वैशाख १९ गतेदेखि यहाँ नेटवर्क छैन। ‘टावर मर्मतका लागि टेलिकम कार्यालयलाई भनेका छौँ। पालिकाबाट पत्र नै पठाएका छौँ। तर, सुनुवाइ भएको छैन,’ उनले भने।

यता, जिल्ला सदरमुकाम खलंगामा समेत नेटवर्क राम्रो नभएको गुनासो आउने गरेको छ। चन्दननाथ नगरपालिका– ४ मालाभिडकी देवी सिंखडा फोरजी सेवा भनिए पनि मोबाइलमा नेटवर्क नै नहुने बताउँछिन्। ‘फोरजी सेवा भनिएको छ। त्यसले पनि काम गर्दैन। निकै कमजोर छ। छिनछिनमा आउने–जाने नेटवर्कले हैरान भइसक्यौँ,’ उनले भनिन्।

टेलिकमको आन्तरिक समस्या जे भए पनि नागरिकले चुस्त रूपमा प्रभावकारी सेवा पाउनुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइ छ। नेपाल टेलिकमको साबिक कर्णाली अञ्चल कार्यालय जुम्लामा छ। जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेरिन्छ। डोल्पाका लागि जुम्लाको चिमारा मालिका लेकमा रिपिटर टावर जडान गरिएको छ। मुगुका लागि डाँफे लेक हुँदै मुगु र हुम्ला पनि यहीँबाट लिंक लाइन गएको छ ।

यति धेरै कार्यक्षेत्र र काम भए पनि जुम्लामा भने टेलिकम शाखा कम रहेको छ । शाखा प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार हिमाको टावरमा नयाँ सामान राख्दा पनि काम गरेको छैन। ‘शुक्रबार र शनिबार दुई दिन टावर मर्मतका लागि प्राविधिक टोली पठाएको हो। अब काठमाडौंबाट प्राविधिक टोली आएर मर्मत गरेपछि मात्रै टावर सञ्चालन हुने अवस्था देखिएको छ,’ उनले भने।

हिमाली क्षेत्रमा रहेका कुल जनसंख्याको ९५ प्रतिशत नागरिकले नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गरे पनि सेवाको गुणस्तरीयतामा भने ध्यान दिइएको पाइँदैन।