
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्। उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए।
विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरूको चासोमा अगाडि बढेको तर्क गरे। उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताउँदै शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने धारणा राखे।