१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दिक्तेल–रूपाकोट–मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। 

नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई बिहीबार औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो।  

नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै मात्राको खोप नगरपालिकाका १५ वटै वडाका तीन सय ८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार लगाएको नगर स्वास्थ्य शाखा प्रमुख मोहनकुमार राउतले बताए। 

‘अन्तिम खोप लगाउन छुटेका बाम्राङका तीनजना बालबालिकालाई पनि खोप लगाइएको छ । १६ महिनासम्म कुनै खोप नलगाएका खार्मीमा एकजना बच्चा भेटिएका थिए । ती बच्चालाई समेत पूरा खोप लगाएपछि राष्ट्रिय कार्यक्रमअनुसार यस नगरपालिकाललाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो,’ उनले भने, ‘नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गरेको छ।’

आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका सबै वडाका स्वास्थ्यकर्मी र नगरपालिकाका दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ। 

पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रमका वक्ताहरूले सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेकाले पूर्ण रूपमा उपभोग गरेर स्वस्थ बन्न जिल्लावासीलाई आग्रह गरेका छन्। 

दश स्थानीय तह रहेको खोटाङ जिल्लालाई ०७४ पुस १४ गते ३१औँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। ०७४ सालपश्चात् हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ। 

यो वर्ष हालसम्म दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकासँगै साकेला र बराहपोखरी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा पालिका गरिसकेका छन्। बाँकी रहेका सात स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए।