१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक रूपान्तरणमा बैंकिङ क्षेत्रको योगदान छ - अर्थमन्त्री

नेसनल बैंकिङ डिस्कोर्स–२०२३

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५८:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ क्षेत्रले आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेलेको बताएका छन् । मंगलबार बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ लाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘बैंकिङ क्षेत्रले आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘अझ पहुँच बढाउन, साना उद्यमीलाई ऋणमा पहुँच बढाउन तथा व्यावसायिक लागत घटाउन सेवालाई अझ सुलभ बनाउनुपर्छ ।’ उनले बैंकिङ सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै साना उद्यमीलाई समेत ऋणमा पहुँच बढाउन आग्रह गरे । यस्तै, अर्थमन्त्री डा. महतले बैंकिङ सेवालाई सुलभ बनाउनुपर्ने बताए ।

बैंकिङ समाचार डटकमले आयोजना र नबिल बैंकको प्रायोजनमा आयोजित उक्त कार्यक्रममा ‘वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा’, ‘दिगो र समावेशी विकासका लागि अहं वित्तीय साक्षरताको अपरिहार्यता’, ‘रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य’ र ‘इकोसिस्टमको डिजिटलाइजेसन’ विषयक छलफल भएको थियो । 

इम्प्रेसन अ क्रिएटिभ डिजाइनका अध्यक्ष राजु ढुंगेलले डिस्कोर्समा बैंकिङको अवस्था, वित्तीय साक्षरता, बढ्दो निष्क्रिय कर्जाको स्थिति, डिजिटल बैंकिङ, डिजिटल इकोनोमीलगायतका विषयमा छलफल भएको बताए ।यस्तै, गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र र वित्तीय प्रणाली सबल भएको बताए । नेपाली वित्तीय क्षेत्रको तथ्यांक हेरेर विदेशीले डाहा गर्ने गरेको उनले बताए ।

यस्तै, छलफलमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र अर्थतन्त्र सहज अवस्थामा जान थालेको बैंकरहरूले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले पछिल्लो समय धेरै सुधारका संकेत देखिएको बताए । यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले वित्तीय पहुँचमा धेरै ठूलो विकास भएको दाबी गरे । यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रको संरचनालाई परिवर्तन गर्नुपर्ने बताए ।

‘अहिले साँच्चै नै रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।  तर, यो गलत हो कि सही हो भनेर भन्दिनँ,’ उनले भने । यस्तै, नबिल बैंकका डिसिइओ मनोज ज्ञवालीले रेमिट्यान्सबाट आउने रकमलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । रेमिट्यान्स एसोसिएसनका अध्यक्ष चन्द्र टन्डनले अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन गर्नुपर्ने बताए । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले विप्रेषण उत्पादनमूलक क्षेत्रमा के–कति लगानी भएको भनेर अध्ययन गर्ने बताए ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले टेलिकम कम्पनीहरूबाट फिनटेकसम्बन्धी डेटा प्याकेज आउनुपर्ने बताए । यस्तै, माछापुच्छ्रे बैंकका डिसिइओ विश्वम्भर न्यौपानेले डिजिटल कारोबारको विकास गर्न सरकारले आइटी पूर्वाधार व्यवस्था गर्नुपर्ने बताए । 

फोनपेका सिइओ दिवस सापकोटाले अब भुक्तानीलाई मात्रै नभएर डेटा र आइडिन्टिटीलाई पनि डिजिटलाइज गराउनुपर्ने बताए । नेपाल बैंकका निर्देशक विवेक एसजिवी राणाले डिजिटल कारोबार बढ्दै जाँदा अनलाइनमार्फत हुने ठगीलाई न्यूनीकरण गर्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए ।