१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
जन नटन
२o८१ जेठ ३ बिहीबार १o:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मेटाभर्सको अवसान र जुकरबर्गको भविष्य

Read Time : > 2 मिनेट
जन नटन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३१:oo

प्रिय मान्यजन, आज हामी मेटाभर्सको सम्झनामा यहाँ उभिएका छौँ । मेटाभर्सलाई आफ्नै (एक मात्र) अभिभावक मार्क जुकरबर्गले केही साताअघि दफनाएका छन् । अक्टुबर २०२१ मा जुकरले उत्साहित हुँदै आफ्नो नयाँ धर्मसन्तानको आगमनबारे जानकारी गराए, जसलाई उनले ‘द फ्युचर (भविष्य)’ नाम दिएका थिए ।

जुकर यति धेरै उत्साहित थिए कि उनले आफ्नो मूल कम्पनीको नाम यो नयाँ धर्मसन्तानको सम्मानमा फेरिदिएका थिए । तसर्थ, जेलाई पहिला ‘फेसबुक’ भनिन्थ्यो त्यसको नाम ‘मेटा’ राखियो । वार्षिक सम्मेलनको एक प्रस्तुतिमा जुकरबर्गले नाम परिवर्तनको घोषणा गरेका थिए र आफ्नो धर्मसन्तान भोलि हुर्केर साइबर स्पेसको एक नयाँ संस्करण कसरी बन्नेछ भनेर प्रस्तुति दिएका थिए ।

‘ऊ ‘मोबाइल इन्टरनेटको उत्तराधिकारी हुनेछ’ प्रस्तुतिमा आएका नौसिखिय सूचना प्राविधिक र मतलबी वालस्ट्रिटका खेलाडीलाई जुकरबर्ग बताइरहेका थिए । त्यसक्रममा जुकरबर्गले ‘हामी साक्षात् वर्तमान महसुस गर्नेछाैँ, अर्थात् हामी जतिसुकै टाढा भए पनि छेउमै बसेको महसुस गर्नेछाैँ’ भन्दै आफ्नो प्रस्तुति दिइरहेका थिए । र, उनले आफ्नो धर्मसन्तानको भविष्यका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए । 

कुनै कसर नराख्न उनले युरोपबाट मात्रै १० हजार इन्जिनियर भर्ती गरेर मेटालाई साइबर स्पेसको नयाँ संस्करण बनाउन असीमित पैसा खन्याए । गत वर्षको अक्टुबरसम्ममा जुकरको यो योजनामा करिब ३६ अर्ब डलर खर्च गरिएको थियो र यत्रो लगानीपछि उनले सानो तर निकै महँगो भिडियो जारी गरेका थिए जहाँ जुकर आफ्नै भर्चुअल रियालिटीको छविसँग संवाद गरिरहेका थिए । सो संवादमा ‘तपाईंसँग भएका अनुभव, रचनात्मक अर्थतन्त्रले सिर्जना गर्ने वस्तु र तिनलाई सिर्जना गर्न आवश्यक प्रविधि उत्कृष्ट हुनेछन्,’ उल्लेख थियो । जेजसो सिर्जना हुने भनिए पनि आखिरमा होराइजन वल्र्ड नामक भर्चुअल रियालिटीको प्लाटफर्म बन्यो । यसमा पहुँच पाउन एक बेढंगे हेडफोन लगाउनुपथ्र्याे र यसले रंग न ढंगको भर्चुअल उजाड भूमिमा पुर्‍याउँथ्यो । फोब्र्स म्यागेजिनको भाषामा भन्ने हो भने भर्चुअल रियालिटी गुणस्तरहीन रोब्लोक्स (भिडियो गेम)जस्तो देखिन्थ्यो ।

दुर्भाग्य जुकरले अत्यधिक महत्वाकांक्षा पालेर हुर्काइरहेका धर्मसन्तान एक बिरामी र लुरे बालकजस्तो भयो । अन्ततः जुकरबर्गले यही १८ मार्चतिर मेटाभर्सलाई दफनाएका थिए । किनभने, उनका लागि ‘भविष्य’ हुन सक्ने नयाँ किरदार आएको थियो र एक लुरे बालकलाई हुर्काइरहँदा नयाँ चिज आएको थाहा नपाएर उनी लघुताभास महसुस गर्दै थिए । यसको नाम ‘एआई’ (कृत्रिम बौद्धिकता) थियो र यसले ‘भविष्य’लाई पछ्याउने दौडमा मेटालाई पछाडि पारिसकेको थियो ।

मेटाभर्सलाई आफ्नै अभिभावक मार्क जुकरबर्गले केही साताअघि दफनाएका छन्

यो परिस्थितिमा जसले व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न ३६ अर्ब डलरबराबरको रकम बालुवामा पानी हालेझैँ  सक्यो, त्यो मान्छे अहिले पछुताइरहेको होला भन्ने लाग्न सक्छ । तर, जुकरबर्ग पछुताइरहेका छैनन् । किनभने, कम्पनीमा उनको एकछत्र रजगज छ । मैले बढाइचढाइ गरिरहेको छु भन्ने लाग्छ भने कम्पनीको धितोपत्र एवं विनिमयसम्बन्धीको दस्तावेजको यो सान्दर्भिक हिस्सालाई पढ्दा हुन्छ :

‘हाम्रा संस्थापक, अध्यक्ष एवं प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई सेयर पुँजीका मामिलामा मतदान गर्ने अधिकार दिइएको छ, तसर्थ सबै सेयरधनीका मामिलामा आउने विषयमाथि उनको अधिकार रहन्छ । यी अधिकारमा निर्देशक बोर्डको चुनाव, मर्जर, एकीकरण वा सबै सम्पत्तिको बिक्री गर्नेसम्मका विषय पर्छन् । यो केन्द्रीकृत नियन्त्रणले ढिलाइ, पर सार्ने, वा नियन्त्रणमा हुने हस्तान्तरण, मर्जर, एकीकरण, वा सेयरधनीले बेच्न चाहेको सम्पत्तिको बिक्रीमा रोक लगाउन सक्ने हैसियत राख्छन् । अथवा सेयरधनीका इच्छाविपरीत लेनदेन गर्न सक्छन् । हाम्रो प्रमुख कार्यकारी र चुनावलाई प्रभाव पार्ने हैसियत र केही परिस्थितिमा हाम्रा निर्देशकलाई हटाउने वा नहटाउने निर्णय गर्न सक्ने अध्यक्ष जुकरबर्गसँग हाम्रो कम्पनीको प्रशासन र महत्वपूर्ण रणनीतिक लगानीलाई आफूअनुकूल चलाउने शक्ति पनि छ’ । 

यसलाई सजिलो भाषामा भन्ने हो भने जुकरबर्गले आफूखुसी काम गर्ने अख्तियारी राख्छन्, अर्थात् निर्देशक बोर्डलाई समेत उछिनेर कम्पनी बिक्री गर्न सक्छन् र उनलाई कसैले रोक्न सक्दैन । स्वभावतः केही सेयरधनी जुकरबर्गको अनौठो र बेतुके भर्चुअल रियालिटी खोजीलाई लिएर आक्रोशित नभएका होइनन्, तर सो खोजले निम्त्याएको घाटालाई कम्पनीका अन्य पुराना भनिएका फेसबुक वा इन्स्टाग्रामजस्ता एपले नाफा कमाएर पूर्ति गरेकै थिए । स्मरण रहोस्, कुनै वेला इन्स्टाग्राम टिकटकका कारण झन्डै चिप्लेको थियो । 

अब जुकरबर्गले ठुल्ठूला कम्प्युटर ल्याङ्वेज मोडेल वा एआई प्रविधिमा दाउ थाप्छन् भने के हुन्छ ? र, दाउ पनि यस्तो वेला थापियो जब कुनै पहिले नाफा कमाइरहेको क्षेत्र संघर्ष गरिरहेको हुनेछ भने के हुन्छ ? अथवा जुकरबर्गले सारा कम्पनीलाई नै दाउमा राखे के हुन्छ ? यदि यसो हुन्छ भने, हाम्रो समयमा असफल व्यक्तिको संज्ञा रुपर्ट मर्डाेकलाई नभई मार्क जुकरबर्गलाई दिइनेछ । एकफेर सोचौँ न जुकरबर्गको कथाले बजारमा रहेको रिक्ततालाई पुर्नेछ, अर्थात् उत्तराधिकारमा रोक लाग्नेछ । यो अवस्थाको जुकरबर्गलाई पर्दामा उतार्ने हो भने हामीलाई नयाँ अर्सन वेल्सजस्तो अभिनेता आवश्यक पर्नेछ ।
(नटन बेलायतको ओपन विश्वविद्यालयका प्रविधिसम्बन्धी प्राध्यापक हुन्) द गार्डियन 

ad
ad