Skip This
यी तीन क्षेत्रले कर्जा पुनर्संरचना गर्न पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २९ शुक्रबार १४:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

यी तीन क्षेत्रले कर्जा पुनर्संरचना गर्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १४:१७:oo

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटेल तथा रेन्टुरेन्ट, पशुपक्षीपालनसँग सम्बन्धित कर्जालाई पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ।आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ। 

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको रु. पाँच करोडसम्मको कर्जालाई पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो। 

‘अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताका आधारमा होटेल तथा रेस्टुरेन्ट, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा रु. पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ०८० असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ। 

यस्तो व्यवस्थाले कोरोना कहरपछि समस्यामा परेर भर्खर व्यवसाय विस्तार हुने क्रममा रहेका होटेल क्षेत्रलाई राहत पुग्ने विश्वास लिइएको छ। यसैगरी निर्माण तथा निर्माणसँग जोडिएका क्षेत्रलाई थप राहत दिने उद्देश्यका साथ मौद्रिक नीतिको समीक्षामार्फत कर्जाको पुनर्तालिकीकरणको सुविधा दिइएको छ। अर्थतन्त्रमा देखिएको वास्तविक क्षेत्रमा देखिएको समस्या समाधानका लागि यस्तो व्यवस्थाले सहयोग पुग्नेछ। 

मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका ऋणपत्रहरूलाई कर्जा–निक्षेप अनुपात गणनाको समयसमेत थप गरिएको छ। यसअघि साउन १ गतेसम्मका समय दिइएकोमा कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रूपमा गणना गर्न पाउने विद्यमान व्यवस्थालाई ०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।  

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालू पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना–शुल्क नलिने गरी तीन महिनासम्मका लागि ०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरेकोे छ।  

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ।