मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मारवान बिसारा
२०८० बैशाख २९ शुक्रबार ०८:१३:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

टर्कीको चुनाव र पश्चिमाको भ्रम

एर्दोगानले हारे भने पनि उनको विरासत कायम रहनेछ

Read Time : > 2 मिनेट
मारवान बिसारा
२०८० बैशाख २९ शुक्रबार ०८:१३:००

मे १४ मा हुन लागेको टर्कीको चुनावले अन्तर्राष्ट्रिय जगत्को उलेख्य ध्यान तानिरहेको छ । प्रमुख पश्चिमी मिडियाले त यस चुनावलाई यो वर्ष (सन् २०२३) को ‘सबैभन्दा महत्वपूर्ण चुनाव’को संज्ञा दिएका छन् । पश्चिममा यसपटक राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनको ‘जस्टिस एन्ड डेभलोपमेन्ट(एकेपी)’ पार्टीको हार हुने विश्लेषण भइरहेको छ । एर्दोगानलाई हराउने प्रतिद्वन्द्वीले देशको घरेलु र अन्तर्राष्ट्रिय नीतिहरू बदल्ने र टर्की पुनः पश्चिममैत्री हुने तिनको आशा छ । तर, पश्चिमको यो सोच स्वेरकल्पना मात्र साबित हुन सक्छ । यदि एर्दोगान पराजित नै भए भने पनि उनको विरासत कायम रहने देखिन्छ ।

पश्चिममा, टर्कीका राष्ट्रपतिलाई ‘अर्को पुटिन’को रूपमा चित्रण गरिन्छ । पश्चिमी मिडियाले एर्दोगानलाई गुमेको (अटोमन) साम्राज्य पुनस्र्थापनाको सपना साकार पार्न कटिबद्ध एक लोकरञ्जक, विभाजनकारी र अधिनायकवादी नेताको रूपमा व्याख्या गर्ने गर्छन् । उनको नेतृत्वमा व्याप्त नातावाद, कमजोर अर्थतन्त्र, उच्च मुद्रास्फीति र मुद्रा अवमूल्यनजस्ता कारण उनको आलोचना हुने गर्छ । एर्दोगानका विपरीत उनका प्रमुख प्रतिद्वन्द्वी विपक्षी उम्मेदवार केमाल किलिच्दारोग्लुलाई एक समझदार, विनम्र र जिम्मेवार नेताको रूपमा चित्रण भइरहेको छ ।

विजयी भए भने उनले देशको प्रजातन्त्र पुनस्र्थापना गर्ने र पश्चिमसँग तिक्त बन्दै गएको सम्बन्धलाई पुनः ट्र्याकमा ल्याउने बताइँदै छ । यस्ता चित्रणलाई टर्कीका एर्दोगान समर्थक मिडियाले आलोचना गर्दै त्यो कल्पना मात्र भएको भन्दै उपहास गर्ने गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा अझै आगामी राष्ट्रपति को हुनेछ भन्ने स्पष्ट चित्र आइसकेको छैन । धेरैजसो राष्ट्रिय जनमत सर्वेक्षणले एर्दोगान किलिच्दारोग्लुभन्दा केही प्रतिशत अंकले पछि परेका देखाएको छ । तर, मतसर्वेक्षणहरू पनि राजनीतिक रूपमा प्रेरित भएकाले पूर्ण विश्वसनीय देखिँदैन । र, यस निर्वाचनमा मतदाता किलिच्दारोग्लुप्रतिको प्रेमभन्दा एर्दोगानप्रतिको घृणाले प्रेरित देखिन्छन् ।

कुनै उम्मेदवारप्रति आसक्त नभएका मतदाता मतदानको दिन घरमै बसिदिन सक्छन् । कुनै पनि निर्वाचनमा जित्ने उम्मेदवारले धेरैभन्दा धेरै आफ्ना समर्थकलाई मतदानका लागि प्रेरित गर्न सक्नुपर्छ । यस कुरामा वर्तमान राष्ट्रपति उनका प्रतिद्वन्द्वीभन्दा कुशल देखिएका छन् । एक अनुभवी राजनीतिज्ञ र चामत्कारिक नेताको गुण भएको बताइने एर्दोगानले ग्रामीण र श्रमिक–वर्गका पुरातन विचार राख्नेहरूमाझ आफ्नो आधारलाई बलियो बनाएका छन् । ६ दलीय विपक्षी गठबन्धनका समर्थकभन्दा एर्दोगानका समर्थक आफ्ना उम्मेदवारप्रति बढी प्रतिबद्ध देखिन्छन् । अर्थात् एर्दोगानलाई मत दिने मन बनाएकाहरू चुनावको दिन घामपानी आए पनि मतदान केन्द्रसम्म जाने सम्भावना बढी छ ।

एर्दोगानको हारपछि वासिंटन र ब्रसेल्समा टर्कीले ‘यू–टर्न’ लिने र सन् २००२ अघिको स्थितिमा फर्किने जुन अपेक्षा गरिँदै छ, त्यो कल्पना मात्र साबित हुन सक्छ

एर्दोगानले स्पष्ट रूपमा बुझेका छन्– चुनावको हारजित घरेलु मुद्दाका आधारमा हुन्छ, विदेश मामिलामा होइन । त्यसकारण उनले चुनावको पूर्वसन्ध्यामा कैयौँ ठूला घोषणा गरेर राज्यका निकायमाथिको पहुँचलाई आफ्नो फाइदाका लागि प्रयोग गरेका छन् । यदि एर्दोगानले जिते भने उनी आफ्नो घरेलु र विदेशी एजेन्डामा थप अडिग हुने निश्चित छ । उनले पश्चिम र रुससँग टर्कीको हितलाई सन्तुलनमा राखेर ठूला शक्तिसँग न टाढा, न नजिकको हालको नीतिलाई निरन्तरता दिनेछन् । साथै उनले रुससँग व्यापार र भूराजनीतिक सम्बन्ध सुदृढ गरेर पनि नेटोको टर्कीको सदस्यता कायम राख्नेछन् ।

अर्कोतर्फ, किलिच्दारोग्लुले जिते भने उनले आफ्ना पूर्ववर्तीका केही घरेलु राजनीतिक र आर्थिक नीति उल्ट्याउन सक्छन् । उनले सन् २०१६ को असफल विद्रोहपछि लागू गरिएका केही उदारवादी कदम उल्टाउने निश्चित जस्तै छ । तर देशमा पुनः संसदीय प्रणाली फर्काउने विपक्षी प्रतिबद्धता भने कार्यान्वयन हुन गाह्रो छ । टर्की र अन्यत्रको समेत इतिहास हेर्दा नेताले आफ्ना पूर्ववर्तीले उपभोग गरिरहेका कार्यकारी शक्ति र विशेषाधिकारलाई परित्याग गरेको प्रायः भेटिँदैन ।

त्यस अर्थमा संसदीय प्रणाली फर्काउने (प्रधानमन्त्री पदलाई कार्यकारी बनाउने) वाचाको कार्यान्वयनमा किलिच्दारोग्लुको वास्तविक परीक्षण हुनेछ । विदेश नीतिको अनुभव नभएका किलिच्दारोग्लु घरेलु मुद्दा र कमजोर अर्थतन्त्रमा केन्द्रित हुन सक्छन् । यदि निर्वाचित भएमा, उनले पश्चिमी र नेटो साझेदारसँग नरम हुने र नेटो सैन्य गठबन्धनमा स्विडेनको सदस्यतालाई टर्कीले लगाइरहेको भिटो हटाउन सक्छन् ।

तर जितेपछि किलिच्दारोग्लुले पश्चिमलाई खुसी पार्नकै लागि मस्कोसँगको आकर्षक आर्थिक र ऊर्जा सम्बन्ध परित्याग गरिदेलान् भन्ने कुरामा भने आशंका छ । गत वर्ष रुस–टर्की द्विपक्षीय व्यापार ७० अर्ब डलरको उच्च बिन्दुमा पुगेको थियो । त्यस्तै एर्दोगानका पूर्वसहयोगी र रणनीतिकार अहमद दाभुटोग्लु साथ रहेकाले किलिच्दारोग्लुले टर्कीको सक्रिय क्षेत्रीय र अन्तर्राष्ट्रिय अडान कायम राख्न सक्ने सम्भावना छ । यी अडानले केही अवरोध सिर्जना गरेको भए पनि देशको आर्थिक र भूराजनीतिक हित गरेको छ ।

राष्ट्रवाद, धर्मनिरपेक्षता र कुर्दिस प्रश्नमा केही परिवर्तन हुन सक्छ । तर, यी मुद्दामा पनि कैयौँ कुराले निरन्तरता पाउनेछ । त्यसैले एर्दोगानको हारपछि टर्कीले पूरै ‘यू–टर्न’ लिने र सन् २००२ अघिको स्थितिमा फर्किने पश्चिमी अपेक्षा कल्पना मात्र हुन सक्छ । यस्तोमा यस मुलुकले क्षेत्रीय शक्तिको रूपमा भूराजनीतिक रूपमा बढेको हैसियत त्याग्ने कुरा झन् टाढाको विषय हुन सक्छ । अंकारासँगको सम्बन्ध पूर्णतः सौहार्दपूर्ण हुने पश्चिमी आशामाथि तुसारापात हुन सक्छ, तर वासिंटन र ब्रसेल्सका लागि त्यस्तो समस्या नहुन सक्छ ।

सिद्धान्त र मानव अधिकारको जति नै कुरा गरे पनि विदेश नीतिको सबालमा दुवै पक्ष यथार्थवादी भएका छन् । दुई दशक सत्तामा बसिसकेका एर्दोगानले टर्कीको घरेलु राजनीति र विदेश नीतिलाई आमूल परिवर्तन गरिदिएका छन् । यसबाट फर्किन गाह्रो हुनेछ । त्यसैले एर्दोगानले यसपटक निर्वाचनमा जिते पनि हारे पनि, टर्कीमा उनको छाप रहिरहनेछ । 
– अल जजिराबाट (अमेरिकन युनिभर्सिटी–पेरिसका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रहिसकेका मारवान बिसारा अमेरिकी विदेश नीति, मध्यपूर्व र अन्तर्राष्ट्रिय रणनीतिक मामिलामा विज्ञ मानिन्छन् ।)