१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Sunday, 11 May, 2025
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार o६:१o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षअघि चुनावको मुखमा उद्घाटन गरिएको तमोर  लिफ्टिङबाट उपभोक्ताले अझै पाएनन् पिउने पानी

Read Time : > 3 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार o६:१o:oo

आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी । १६ सय १० परिवारमा खानेपानी पुर्‍याउने लक्ष्यसहित ४५ करोड लगानीमा निर्माणाधीन आयोजना ‘अपरेसन एन्ड मेन्टेनेन्स’को अवधिमा छ । निर्माण कम्पनीले परीक्षणको काम गर्दै छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका आयोजना प्रमुख सुरतलाल चौधरीका अनुसार परीक्षण कात्तिकसम्म चल्छ । घरमा धारा जडान भइसकेकाले तमोरको पानी खान पाइन्छ कि भन्ने आस पलाएको स्थानीय धनसिंह तामाङले बताए । ‘खान हुने पानी त आएको छैन । तैपनि घरसम्म धारा आएको छ । ट्यांकीहरू पनि बनाएका छन्,’ उनले भने, ‘पारि कुम्मायकमा पनि तमोरको पानी खाँदै छन् रे ! यसले गर्दा आशा भने पलाएको छ ।’

आयोजना नै सम्पन्न नभई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षअघि उद्घाटन गरेको पाँचथरको आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजनाबाट अझै पानी पिउन पाएका छैनन् । तम्बेवा गाउँपालिका १, २ र ३ (साबिक आङ्ना र मौवा)का १६ सय १० परिवारमा खानेपानी पुर्‍याउने लक्ष्यसहित ४५ करोड लगानीमा निर्माणाधीन आयोजना नसकिँदै देउवाले स्थानीय तह चुनावको मुखमा ७ चैत ०७८ मा उद्घाटन गरेका थिए ।

त्यतिखेर हतारमा मौवा बजारमा सयवटा धारा जोडेर आयोजनाको उद्घाटन गरिएको थियो । केही दिन धमिलो पानी त आयो, तर त्यसपछि फेरि बन्द गरेर निर्माणको काम अघि बढाइएको थियो । ‘पानीको परीक्षण नहुँदै उद्घाटन गर्न मिल्दैन भनेर विभागमा लेखेर दिएको थिएँ । तर, जसरी पनि पानी पुर्‍ याउनु भनिएपछि उद्घाटन गरियो,’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका आयोजना प्रमुख सुरतलाल चौधरीले भने, ‘गत फागुनबाट खानेपानीको परीक्षण सुरु भएको छ, आगामी कात्तिकसम्म सक्न ठेकेदार कम्पनीलाई भनेका छौँ ।’ 

तम्बेवा गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फे उद्घाटनपछि पनि एक वर्षसम्म पिउने पानी नपाउँदा उपभोक्तामा निराशा छाएको बताउँछन् । ‘काम पूरा नभई सस्तो लोकप्रियताका लागि हतार–हतार उद्घाटनतिर लाग्नाले समस्या भयो,’ उनले भने, ‘घरमा धारा बल्ल बनेको छ ।’

३० महिनाभित्र सम्पन्न गर्ने गरी २२ असार ०७४ मा कन्काई–प्रेरणा जेभीले निर्माणको ठेक्का लिए पनि अहिलेसम्म तीनपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक २८ असार ०७८ मा म्याद सकिएकोमा काम नसकिएपछि कात्तिकसम्म परीक्षणको समय दिइएको चौधरीले बताए । ‘अपरेसन एन्ड मेन्टेनेन्सको अवधिमा छ । निर्माण कम्पनीले परीक्षणको काम गर्दै छ । कात्तिकसम्म यो अवधि चल्छ,’ उनले भने, ‘अहिले तत्काल बाढी आएका कारण धमिलो पानी आएको छ । यसलाई सुधार गर्ने भनेर हामीले निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ ।’ अहिले केही क्षेत्रमा पानी पुर्‍याए पनि धमिलो पानी छ, जुन करेसाबारी सिँचाइ र गाईबस्तुलाई खुवाउन मात्र काम लागिरहेको छ ।

घरमा धारा जडान भइसकेकाले र परीक्षणकालको फोहोर नै भए पनि पानी आउँदा कतै तमोरको पानी खान पाइन्छ कि भन्ने आस भने पलाएको स्थानीय धनसिंह तामाङ बताउँछन् । ‘खान हुने पानी त आएको छैन । तैपनि घरसम्म धारा आएको छ । ट्यांकीहरू पनि बनाएका छन्,’ उनले भने, ‘पारि कुम्मायकमा पनि तमोरको पानी खाँदैछन् रे ! यसले गर्दा आशा भने पलाएको छ ।’ 

खानेपानी आयोजना लिफ्टिङ गरेर तमोरबाट साढे सात किलोमिटर टाढा मौवासम्म ल्याइएको छ । यहाँ एक लाख लिटरको एउटा, ५० हजार लिटरको ६ वटा र २५ हजार लिटरका चारवटा ट्यांकी रहेको आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले बताए । प्रतिसेकेन्ड ११.९७ लिटर पानी तान्ने आयोजनाको क्षमता रहेको जनाइएको छ ।

पानी अभावले बढ्यो बसाइँसराइ

तुम्बेवा गाउँपालिकाको तथ्यांकअनुसार तीन वर्षमा चार सय ५८ घरपरिवारले बसाइँसराइ गरेका छन् । यो ०७७ असोजदेखि २५ वैशाख ०८० कोसम्मको तथ्यांक हो । बसाइँसराइको मुख्य कारण खानेपानी अभाव रहेको गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फे बताउँछन् । ‘खानेपानीले काकाकुल छ, सरकारले पनि सुक्खा क्षेत्र घोषणा गरिसकेको छ,’ उनले भने, ‘यहाँबाट बसाइँ सरी जानुको मुख्य कारण खानेपानी हो । केही छोराछोरीको गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि पनि बसाइँ सरेका छन् ।’ खानेपानीको अभाव झेलिरहेको तुम्बेवा गाउँपालिकालाई एक दशकअघि मात्र सरकारले सुक्खा क्षेत्र घोषणा गरेको थियो । सुक्खा क्षेत्रमा सरकारले खानेपानी आयोजनाका लागि प्राथमिकता दिनुपर्ने हुन्छ । 

गाउँपालिकाले केही वर्षअघि तयार पारेको गाउँ प्रोफाइलअनुसार तुम्बेवामा दुई हजार ६ सय ९७ घरपरिवार छन् । यद्यपि, तीन वर्षमा चार सय ५८ परिवारका एक हजार दुई सय ६२ जनाले गाउँपालिका छाडेर अन्यन्त्र बसाइँ जानुले चिन्ताजनक अवस्था देखाएको उपाध्यक्ष सम्बाहाम्फे बताउँछन् । उनका अनुसार गाउँपालिकामा ८३ प्रतिशत जनता सार्वजनिक कुवा र धाराको प्रयोगबाट पानी खान्छन् । तर, बर्सेनि कुवा र धाराको मुहान सक्दै जाँदा जनता बसाइँ सर्न बाध्य छन् । 

विद्युत् महसुल महँगो 
तमोर लिफ्टिङ खानेपानीको परीक्षणकालसँगै विद्युत् महसुल धेरै उठेको छ । खानेपानीको परीक्षणकालमा दैनिक ६ घन्टासम्म मोटर पम्प चलाउँदा नै प्रतिमहिना १० लाखसम्म विद्युत् महसुल उठेको आङ्ना–मौवा बृहत् तमोर लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले बताए । जसकारण उपभोक्तालाई मार पर्ने उनको भनाइ छ ।

अहिले उपभोक्ता समितिले चार युनिटसम्मको न्यूनतम दुई सय ५० रुपैयाँ र त्यसमाथि प्रतियुनिट ५० रुपैयाँ महसुल उठाउने जनाएको छ । तर, यसले खर्च नै धान्न मुस्किल हुने खत्री बताउँछन् । ‘विद्युत् महसुल अत्यधिक उठ्यो । अहिले ५–६ घन्टा चलाउँदा मासिक १० लाखसम्म उठेको छ । भोलि परीक्षणकाल सकिएपछि १५ घन्टासम्म चलाउनुपर्छ । त्यसवेला त २० लाखभन्दा माथि उठ्छ । जसले गर्दा खर्च धान्नै मुस्किल हुन्छ । संविधानमै मौलिक हकमा खानेपानी छ । सरकारले सके महसुल मिनाहा गरिदिए हुने । नसके पनि कृषिमा दिएको अनुदान दिए सहज हुने थियो ।’

निर्माण कम्पनीले आयोजना हस्तान्तरण गरेपछि त्यहाँको खर्च उपभोक्ता समितिले नै व्यहोर्नुपर्ने भएका कारण समस्या हुने उनले बताए । कर्मचारी व्यवस्थापनमा मात्र मासिक न्यूनतम पाँच लाखसम्म लाग्ने भएकाले आयोजनालाई सञ्चालनमा कठिन हुन सक्ने खत्री बताउँछन् । कर्मचारी व्यवस्थापनको जिम्मा स्थानीय तहले लिनुपर्ने उनको भनाइ छ ।