१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:o१:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

विदेशबाट फर्किएर गाउँमै कपडा उद्योग

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीको चवन्नी चर्चित स्थानीय बजार हो। बेलडाँडीसहित बेलौरी नगरका स्थानीय उपभोक्ताको दैनिक उपभोग्यसहितका अन्य समान किनमेल  हुने चवन्नी बजारमा पछिल्ला दिनमा नयाँ उद्यमी थपिइरहेका छन्।

डेढ दशकअघि स्वदेशमा रोजगारी नपाएपछि विदेशीएका बेलडाँडी गाउँपालिका– १ थापाटोलका चन्द्रसिंह थापा अहिले चवन्नी बजारमा कपडा व्यवसायमा जुटेका छन्। थापाले विदेशमा सिकेको सीप र लगानीलाई गाउँमै सदुपयोग गरिरहेका छन्। थापाले विदेशबाट कमाएकोसहित गरेर दुई करोड लगानीमा गार्मेन्ट उद्योग खोलेका छन्। उनले चन्द्ररेखा इन्टरपाइजेज प्रालिमार्फत कपडा उत्पादन गर्दै आएका छन्।

५० वर्षीय थापाले स्वदेशमै केही गर्नुपर्ने विचारका साथ विदेशमा कमाएको रकम र अनुभवलाई स्वदेशमा सदुपयोग गरिरहेका छन्। उद्योगमा थापा र उनकी पत्नीसहित दर्जनन बढी कामदारले काम गर्दै आएका छन्। उनले अब बाँकी जीवन स्वदेशमै व्यवसाय गरेर आफ्नो पहिचान बनाउने र अन्य युवालाई रोजगारी दिने योजना बनाएका छन्। थापाले विसं ०६५ देखि ०७५ सम्म दक्षिणी कोरियामा पानीजहाज र कपडा उद्योगमा काम गरेको अनुभव सँगालेका छन्।

थापाले उद्योगमार्फत विद्यालय, सरकारी कार्यालय, संस्थानसहित सार्वजनिक क्षेत्रका लागि आवश्यक तयारी पोसाक उत्पादन गर्दै आएका छन्। पछिल्लो चार वर्षदेखि उनले कपडा उद्योग चलाइरहेका छन्। ‘म विदेशबाट फर्किएलगत्तै स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाका साथ काम गरिरहेको छु,’ उनले भने, ‘उद्योगबाट केही रोजगारी स्वदेशमै दिने मेरो योजना छ।’

उनी धनगढी, दिल्ली र काठमाडौंबाट कच्चा पदार्थ ल्याएर पोसाक तयार गर्छन्। गार्मेन्टमा विद्युतबाट चल्ने मेसिन भएकाले अनियमित विद्युतका कारण केही समस्या भने भोग्नुपरेको थापाको अनुभव छ। ‘गर्मीदेखि बर्खायामसम्म हावाहुरी पानी गर्दा विद्युत् अवरुद्ध हुन्छ,’ उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा उद्योगको काम ठप्पै हुन्छ।’

थापाले उत्पादन गरेका कपडा स्थानीयसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लासम्म पुग्छ। बजारको मागअनुरूप उनले कपडा उत्पादन गर्न सकेका छैनन्। ‘कोरोना महामारीले उद्योग व्यवसायी क्षेत्र नै धराशयी बनायो,’ उनले भने, ‘कच्चा पदार्थ, विद्युत् कटौतीजस्ता समस्याले मागअनुरूप कपडा आपूर्ति गर्न सकिएको छैन।’ थापाका अनुसार उनको उद्योगमा नियमित तथा आंशिक गरी प्रत्यक्ष रूपमा १५-१६ युवाले रोजगारी पाएका छन्।

‘पैसा कमाउन कुनै पनि नागरिकले विदेश भौँतारिनु नपरोस,’ उनी भन्छन्, ‘विदेशका सोचेअनुरूपको सुख छैन।’ पछिल्ला वर्षहरूमा बेलडाँडीका स्थानीय युवाका लागि कोरियासहितका अन्य मुलुक रोजगारीका लागि गइरहेका बेला थापा स्वदेश फर्केर उदाहरण बनेका छन्।