
डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले सभापतिलाई रहेको मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्थाअनुसार शुक्रबारबाट सो जिम्मेवारी तोकेका हुन् ।
१४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका रिजाल पराजित भएका थिए ।
उनले पराजयपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टीको तर्फबाट सरकारमा सहभागी रहेका रिजालले महाधिवेशनमा कार्यकर्ताबाट आफू अनुमोदित हुन नसकेको भन्दै नैतिकताको आधारमा सरकारको जिम्मेवारी परित्याग गरेको बताएका थिए ।
त्यसयता रिजाल पार्टीमा भूमिकाविहीन थिए । गत निर्वाचनमा समेत उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टिकट पाएनन् ।