
सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अझै पक्राउ परेका छैनन्। गत ११ चैतको राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो।
हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो। घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको जानकारी दिए। ‘अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन,’ उनले भने।
निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ। व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआएसम्म भन्ने अवस्था नरहेको बताए।
हात्तीको स्वास्थ्य अवस्था भने सुधार हुँदै गएको छ। सुँडले घाँस खान नमिलेपछि माउतेले हातले खुवाउँदै आएका छन् भने पानी हात्ती आफैँले खाइरहेको छ।
पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार भइरहेको बताए। रासस