१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बजेट अधिवेशन आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २१ बिहीबार ०८:२६:००

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बर्खे अधिवेशन आह्वान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्का दुवै सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । राष्ट्रपति पौडेलले बुधबार नै अधिवेशन आह्वान गरेका हुन् । 

संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गरेर संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रपतिबाट आइतबार अपराह्न ४ बजे बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेकाले उपस्थित हुन अनुरोध गरेका छन् । यसअघि हिउँदे अधिवेशन २५ पुसमा आह्वान भई १५ वैशाखमा अन्त्य भएको थियो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनका रूपमा विधेयक अधिवेशनमा २८ बैठक बसेका थिए । राष्ट्रिय सभाको १३ अधिवेशनका रूपमा १९ बैठक बसेका थिए । विधेयक अधिवेशन मानिने हिउँदे अधिवेशनमा एउटा पनि कानुन बनेन । राजनीतिक कार्यसूचीमै अधिवेशन केन्द्रित भएको थियो । 

बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि व्यापक छलफल हुन्छ । यद्यपि, हिउँदे अधिवेशनमा एउटा पनि कानुन नबनेकाले बर्खे अधिवेशनमा महत्वपूर्ण कानुन बनाउनुपर्ने दबाब हुनेछ । हिउँदे अधिवेशनमा प्रतिनिधिसभाले नौवटा विधेयक विषयगत समितिमा पठाएको छ । भर्खरै गठन भएको समितिमा दफावार छलफलपछि विधेयकलाई सदनले निष्कर्षमा पुर्‍याउनुपर्नेछ । त्यस्तै, नागरिकता, संघीय निजामती, संघीय शिक्षालगायत महत्वपूर्ण विधेयक पनि अगाडि बढाउनुपर्ने कार्यभार बर्खे अधिवेशनलाई हुनेछ ।