१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन अर्याल काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०६:२८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

हवाई सुरक्षामा क्यान आक्रमक : चार महिनामा २५ पाइलट-इन्जिनियर कारबाहीमा

जहाजमा टिकटक बनाउनेदेखि काठमाडौं ल्याउनुपर्ने यात्रुलाई नेपालगन्ज पुर्याएर अलपत्र पार्नेसम्मका घटनाका दोषी कारबाहीमा

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०६:२८:००

पछिल्लो चार महिनायता हवाई उडान सुरक्षा मापदण्ड उल्लंघनका घटनाहरूमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) कठोर बनेको छ । सन् २०२३ को पहिलो चार महिनामा उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने २५ जना पाइलट, इन्जिनियर, एटिसीदेखि फ्लाइट डिसप्याचरसम्म कारबाहीमा परेका छन् । यो संख्या अघिल्ला वर्षहरूको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।

सन् २०२२ मा वर्षभरिमा उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने १० जना पाइलट, इन्जिनियर तथा डिसप्याचर कारबाहीमा परेका थिए । क्यानको रेकर्डअनुसार २०२१ मा ६ जना, २०२० सात, २०१९ मा आठ र २०१८ मा १४ जना पाइलट, इन्जिनियर तथा डिसप्याचर कारबाहीमा परेका थिए । यस वर्ष चार महिनामै उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई दर्जनभन्दा बढी पाइलट, इन्जिनियरलगायत कारबाहीमा परेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । क्यानले सुरक्षा मापदण्ड पालना नगर्ने वायुसेवा कम्पनी र एयरहोस्टेसलाई पनि सचेत गराउँदै आएको छ । 

पछिल्लो समय हरेक साताजस्तो उडान सुरक्षा उल्लंघन गर्ने वायुसेवा कम्पनी, पाइलट, इन्जिनियर, एयरहोस्टेस, फ्लाइट डिसप्याचर, एटिसीलगायत जिम्मेवार कर्मचारीलाई निलम्बन गरेर कारबाही अगाडि बढाएको सूचना क्यानको अफिसियल ट्विटर ह्यान्डलमार्फत सार्वजनिक भइरहेको छ । उड्डयन क्षेत्रमा काम गर्न लाइसेन्सप्राप्त जनशक्तिले उडान सुरक्षामा सम्झौता गरेपछि तत्कालै निलम्बन गरेर कारबाही अगाडि बढाउने गरेको सूचना अधिकारी भुलले बताए । 

उडान सुरक्षा मापदण्डविपरीत फुटबल चलिरहेको ग्राउन्डमा विनाअनुमति हेलिकोप्टर ल्यान्ड गर्ने, एटिसीको इन्स्ट्रक्सन पालना नगर्ने, रोटोर स्ट्राइक, एसओपी पालना नगर्ने, प्रतिकूल मौसममा उडान गर्ने, दुव्र्यवहार र अव्यावसायिक व्यवहार देखाउने, नेगेटिभ कम्युनिकेसन, खतरनाक उडान व्यवहार, एक्टिभेसन अफ अल्फ फ्लोरलगायत विभिन्न घटनामा इन्जिनियर, पाइलटलगायत जिम्मेवार कर्मचारी कारबाहीमा परेका हुन् ।  

‘कारबाहीमा पर्नेमा पाइलट र इन्जिनियरहरू धेरै छन्, एटिसी र डिसप्याचरको पनि कमजोरी देखिन्छ,’ भुलले भने, ‘उडान सुरक्षा मापदण्ड उल्लंघन गर्नेहरूलाई नियामकीय कारबाही तीव्र बनाएका छौँ ।’ अघिल्ला वर्षहरूमा उडान सुरक्षा मापदण्ड उल्लंघनका घटनाहरू कम हुने गरेको भने होइन, तर कारबाही कम हुने गथ्र्यो । गम्भीर दुर्घटनाबाहेकका उडान सुरक्षा उल्लंघन र कारबाहीका घटनाहरू पनि सितिमिति सार्वजनिक हुँदैनथे । पछिल्लो समय उडान सुरक्षामा लापरबाही गर्नेहरूमाथि नियमनकारी निकायबाट कारबाहीको रेसियो बढेको भुलको भनाइ छ । 

 विशिष्ट व्यक्ति पनि निगरानीमा 
१९ वैशाखमा जनकपुरबाट फर्किएका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लिन उनको गाडी अनुमति नै नलिई त्रिभुवन विमानस्थलको आन्तरिक एप्रोनमा जहाजको ढोकासम्मै पुग्यो । विनाअनुमति एप्रोन (जहाज पार्किङ)सम्म गाडी पुगेको जानकारी आएपछि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग आधिकारिक जवाफ मागेको छ । राजपत्रमा उल्लेखित भिआइपीबाहेक अन्यलाई उडान सुरक्षा संवेदनशीलताका कारण गाडी विमानस्थलको एप्रोनमा लैजान पाइँदैन ।  

२४ फागुनमा आधिकारिक पास र र्‍याम्प ज्याकेट नलगाई जहाज पार्किङ क्षेत्र (एप्रोन)मा जम्बो टोलीसहित पुगेको भन्दै क्यानले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्‍यो । विमानस्थल प्रमुखको अनुमति नलिई सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने एप्रोनमा पुगेर सेफ्टी प्रोटोकल उल्लंघन गरेपछि क्यानले उनलाई ‘र्‍याम्प सेफ्टी’को तालिम लिन निर्देशन दिएको थियो ।   

 यस्ता छन् कारबाहीका घटना
अल्टिच्युड एयरले सुरक्षा मापदण्ड पालना नगरेको भन्दै क्यानले गत साता २७ अप्रिलमा वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई सक्रिय ड्युटीबाट अनिश्चितकालीन निलम्बन गरेको छ । लुक्लामा पर्यटक बोक्न हेलिकोप्टर उड्नुअघि र उडानपछि नियमित चेकजाँच नगरेको भन्दै नियामक कारबाहीमा उत्रिएको हो । ९ अप्रिलमा तारा एयरले उडानमा सुरक्षा प्रोटोकल उल्लंघन गरेपछि प्रशिक्षक पाइलट र को–पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरी सुरक्षा अनुसन्धान अगाडि बढाएको क्यानले जनाएको छ ।

१५ चैतमा दाङबाट काठमाडौं आउनुपर्ने क्रममा सीता एयरको जहाजले नेपालगन्जमा यात्रुलाई पुर्‍याएर अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको भन्दै क्यानले छानबिन प्रक्रिया अगाडि बढायो । उडिरहेको जहाजमा सुरक्षा प्रोटोकल उल्लंघन गरी टिकटक बनाएको भन्दै ३० मार्चमा हिमालय एयरलाइन्सका तीनजना क्याबिन क्रुलाई निलम्बन गरेर सोधपुछ गरिएको थियो । 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि होल्डमा रहँदा एयर इन्डियाका पाइलटले अनुमतिविनै नेपाल एयरलाइन्सको जहाज घुमिरहेको लेबलमै जहाज झारेपछि २६ मार्चमा इन्डियन एयरलाइन्सका पाइलटलाई काठमाडौं सेक्टरको उडानमा तत्काललाई रोक लगाइएको थियो । सो घटनामा तीनजना एटिसीलाई पनि निलम्बन गरेर अनुसन्धान गरिएको क्यानको भनाइ छ । त्यसअघि १५ फागुनमा पनि त्रिभुवन विमानस्थलमा अवतरणका लागि होल्डमा रहेका नेपाल वायुसेवा निगम, बुद्ध एयर र कतार एयरवेजको जहाज झन्डै ठोक्किएका थिए । जहाजलाई विनाअनुमति एक्कासि तल झारेर जोखिम बढाएको भन्दै गरिएको छानबिनमा कतार एयरवेजका पाइलट दोषी ठहरिएका थिए ।

२३ मार्चमा उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै क्यानले तीनवटा हेलिकोप्टरका तीन पाइलटलाई निलम्बन गर्‍यो । एयर डाइनेस्टी, फिस्टेल हेलिकोप्टर र अन्नपूर्ण हेलिकोप्टरका पाइलटले उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि कारबाहीमा परेका हुन् । एयरबस ए३३० जहाजको दायाँतर्फ ककपिटको झ्याल रातभर खुलै छाडेको भन्दै क्यानले २० मार्चमा निगमका दुई मर्मत–सम्भार इन्जिनियरलाई निलम्बन गरेको थियो । 

निगमको ताप्लेजुङ–काठमाडौं उडानमा ४८ किलो बढी लोड बोकेको भन्दै क्यानले पाइलट, फ्लाइट डिसप्याचरदेखि ग्राउन्ड स्टाफसम्म ६ जनालाई निलम्बन गरेको थियो । साथै, लोड कम देखाउन एकजना पुरुष यात्रुलाई महिला भनेर झुटो विवरणसमेत रेकर्ड गरिएको पनि भेटिएको थियो ।

१४ मार्चमा पोखरा–जोमसोम उडानका क्रममा समिट एयरको जहाज भिएफआरमा बादलभित्र छिराएपछि क्यानले दुईजना पाइलटलाई निलम्बन गर्‍यो । यस्तै, निगमको क्वालालम्पुर–काठमाडौं उडान आरए ४१६ का चालकदलले विमान परिचारिकामाथि गैरव्यावसायिक काम गरेको आरोप लागेपछि क्यानले २४ फेबुअरी २०२३ मा आवश्यक कारबाहीका लागि भन्दै चालकदलका सम्पूर्ण सक्रिय सदस्यलाई तत्काल उडानमा रोक लगाएको थियो ।

श्री एयरलाइन्सको ड्यास क्यू४०० जहाज भैरहवा उडान गर्दा इन्जिनबाट फायर वार्निङ आएर आकस्मिक अवतरण गर्नुपरेपछि क्यानले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच गरेको थियो । क्यानका प्राविधिकले जाँच गर्दा सबै जहाज उडानयोग्य भेटिएपछि अर्को दिन नै उडान प्रतिबन्ध फुकुवा गरिएको थियो ।

 क्यानले के गर्छ कारबाही ?
उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने पाइलट, इन्जिनियरलगायत कर्मचारीलाई तत्कालै निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउने गरेको क्यानको जिकिर छ । ‘निलम्बन गर्ने भनेको जागिर नै खोसिदिने भन्ने होइन,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘तत्काललाई सक्रिय ड्युटीबाट निलम्बन गरेर अनुसन्धान गर्छौँ, उसको गल्तीअनुसारको सजाय वा जरिवाना गरेर निलम्बन फुकुवा गरिदिने गरेका छौँ ।’

उडान सुरक्षा मापदण्ड मिचेका घटना हुनेबित्तिकै क्यानले आन्तरिक छानबिन समिति बनाउँछ । छानबिन समितिले गरेको सिफारिसका आधारमा कारबाही हुन्छ । ‘केस हेरेर कारबाही हुन्छ, कसैलाई १५ दिन, कसैलाई एक महिनासम्म पनि निलम्बन हुन्छ,’ उनले भने, ‘अलि गम्भीर प्रकृतिको गल्ती भए पेनाल्टी पनि लगाइन्छ, सामान्य गल्तीमा क्लास लिएर सचेत गराई छाड्ने काम हुन्छ । कतिपय केसमा पाइलटलाई सिम्युलेटर र इन्जिनियरलाई ग्राउन्ड क्लासमा सहभागी गराएर मात्र निलम्बन फुकुवा गर्ने गरेको क्यानको भनाइ छ ।

‘जुन क्षेत्रमा समस्या देखिएको हो, त्यहीसम्बन्धी कारबाही गरिन्छ,’ सूचना अधिकारी भुलले भने, ‘कस्तो किसिमको कारबाही गर्ने भन्ने कुरा समितिले सिफारिस गर्छ, गम्भीर गल्ती गरेका पाइलटलाई वरिष्ठ पाइलटको रेखदेखमा एक–दुई घन्टा जहाज उडाएपछि मात्र कारबाही फुकुवा पनि गरिएको छ ।’ छानबिन समितिले दिएको सिफारिस कार्यान्वयन गरेर मात्र ‘एक्टिभ ड्युटी’मा खटाइने भुलले बताए ।