
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के र जलजलेमा अवस्थित गुफापोखरी चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ झन्डै २८ प्रकारका लालीगुराँसका प्रजाति पाइन्छन् । समुद्री सतहबाट २,८९६ मिटर उचाइमा रहेको यो क्षेत्रलाई वन, प्राकृतिक मनोरम दृश्य, जलाधार स्रोत, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले सम्पन्न क्षेत्रका रूपमा लिइन्छ ।
गुफापोखरीबाट विश्वकै अग्लो हिमाल सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा, पाँचौँ अग्लो हिमाल मकालुलगायत दर्जनौँ हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । वसन्तमा ढकमक्क फुल्ने लालीगुराँसले यस क्षेत्रलाई स्वर्गजस्तै सुन्दर बनाउँछ ।
यो क्षेत्र उच्च पहाडी क्षेत्रमा रहेको महत्वपूर्ण घाँसे मैदानका रूपमा पनि परिचित छ । दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु तथा पक्षी, बहुमूल्य औषधिजन्य वनस्पतिका साथै जैविक र भौगोलिक विविधताले भरिपूर्ण छ ।
कसरी पुग्ने ?
काठमाडौंदेखि बन्दीपुरसम्म बसको सुविधा छ । त्यसपश्चात् दुई दिन पैदल यात्रा अथवा जिपबाट जान सकिन्छ भने मोटरबाइकमा धरान, धनकुटा, हिले, वसन्तपुर, चौकी हुँदै गुफापोखरी पुग्न सकिन्छ ।
पहिलो दिन : ४५ मिनेटको काठमाडौं–तुम्लिङटार हवाईजहाज यात्रापछि दुई घन्टा बस वा जिपयात्रापश्चात् मुडे पुगिन्छ । भौगोलिक हिसाबले सुन्दर मुडे बजार चियाबगानको नामले पनि चिनिन्छ । पहिलो दिनको वास मुडेमै बस्न सकिन्छ ।
दोस्रो दिन : बिहानको नास्ता गरेर केही हिँडेपछि कालोगाउँ बस्ती हुँदै घुरबिसे पुगिन्छ । यहाँबाट तेस्रो डाँडैडाँडा गुराँसको बगान छिचोल्दै रमणीय ठाउँ चौकी पुग्न सकिन्छ । चौकीमा वास बस्न पनि सकिन्छ ।
तेस्रो दिन : बिहान उठेर नास्ता गरेपछि डाँडैडाँडा मंगलबारे, सृमाने, लामपोखरी हुँदै गुफापोखरी पुगिन्छ ।
चौथो दिन : बिहानै भ्यु प्वाइन्टबाट मनोरम हिमालहरूको दृश्यावलोकन गरेर तुम्लिङटार अथवा हिले फर्कन सकिन्छ ।