१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाका कान्छा खेलाडी यामल

१५ वर्ष २९० दिनमा स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा डेब्यु गर्ने यामल बार्सिलोनाकै सबैभन्दा कान्छा खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५६:oo

लमिन यामलले बार्सिलोनाका लागि आफ्नो नाममा अनौठो रेकर्ड बनाएका छन् । बार्सिलोनाबाट कम उमेरमा स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा डेब्यु गर्ने उनी अहिलेसम्मकै कान्छा खेलाडी बनेका छन् ।  रियल बेटिसविरुद्ध डेब्यु गर्दा उनको उमेर १५ वर्ष दुई सय ९० दिन रह्यो । आउने जुलाईमा उनी १६ वर्षका हुनेछन् । यामल बार्सिलोनाको एकेडेमीबाट उत्पादित खेलाडी हुन् । 

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले यामललाई खेलको ८४औँ मिनेटमा गाभीको स्थानमा मैदान प्रवेश गरेका थिए । बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका यामल ला लिगा खेल्ने पाँचौँ कान्छा खेलाडी बने । मालोर्काका लुका रोमेरो ला लिगा खेल्ने कान्छा खेलाडी हुन् । यामलले रेकर्ड राखेको दिनै रियल बेटिसका ४१ वर्षीय विंगर जोआकिनले पनि प्रतिस्पर्धा गरेका थिए । स्पेनमा जन्मिएका यामलले सन् २०१२ देखि बार्सिलोनाको युथ टोलीबाट खेलेका थिए । उनले स्पेनको यू–१५ देखि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । 

बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ४–० ले हरायो । ला लिगाको बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । प्रशिक्षक जाभीले यामल प्रतिभावान् खेलाडी भएको जनाएका छन् । ‘बेटिसविरुद्ध एउटा चुनौती लिएका थियौँ, यामललाई मैदानमा पठाएको केही गल्ती भएन,’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘मैदानमा पठाउँदा सक्छौ भनेको थिएँ, यामलले आशा गरेअनुसारै प्रतिस्पर्धा गरे ।’ 

 यामलको मेसीसँग तुलना 
बार्सिलोनामा यामल विशेष खेलाडी रहेको जाभीले बताए । ‘बार्सिलोनाको क्याम्पमा यामल विशेष खेलाडीका रूपमा रहेका छन्, एक किसिमले उनीसँग जादु छ,’ यामलको प्रशंसा गर्दै जाभीले भने, ‘मलाई विश्वास छ, युवा खेलाडी भए पनि उनले गोल गर्नेछन् ।’ रियल बेटिसविरुद्ध आत्मविश्वासका साथ यामलले प्रतिस्पर्धा गरेका थिए । यसबाट जाभी प्रभावित बनेका छन् । ‘एक खेलाडीमा आत्मविश्वास हुनुपर्छ, जुन मैले युवा अवस्थाका यामलमा पाएको छु,’ जाभीले भने, ‘मैदानमा सिनियर खेलाडीलाई भनेको स्थानमा पास उपलब्ध गराए ।’ 

प्रशिक्षक जाभीले यामललाई बार्सिलोनाका पूर्वखेलाडी लियोनल मेसीसँगै तुलना गरेका छन् । ‘मेसीले पनि युवा अवस्थामा यस्तै प्रदर्शन गरेका थिए, अहिले यामल पनि मेसीकै पथमा लागेको पाएँ,’ उनले भने, ‘एक बहादुर खेलाडीले टोलीलाई जिताउन सक्छन् ।’ मेसीले बार्सिलोनाबाट सन् २००३ मा डेब्यु गरेका थिए । मेसीले बार्सिलोनामा डेब्यु गरेको चार वर्षपछि यामलको जन्म भएको थियो । मेसीले बार्सिलोनाका लागि १६ वर्षमा डेब्यु गरेका हुन् । सन् २००४ को सिजनमै मेसीले स्पेनिस ला लिगा उपाधि उचाले ।