
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा वर्षा बाधक बनेको छ । पूर्वानुमानअनुसार नै त्रिवि खेलमैदानमा पानी पर्न थालेपछि खेल रोकिएको छ ।
अहिले पिच र मैदानको केही भाग कभर गरिएको छ । अम्पाएर र खेलाडी पेभेलियन फर्किएका छन् ।
हजारौँ दर्शक पानीका बाबजुद खेल पुनः सुरु हुने प्रतीक्षामा मैदानमै रुझेर बसेका छन् ।
खेल रोकिनुअघि नेपाल सुदृढ अवस्थामा छ । नेपाली सिमर र स्पिनरहरू हावी भएपछि युएईको ब्याटिङ धराशायी बनेको छ ।
नियमित अन्तरालमा विकेट गुमाएकाले युएईले १७ ओभरमा ६० रन बनाउँदा महत्वपूर्ण पाँच विकेट गुमाइसकेको छ ।
नेपाली सिमर करण केसीले दुई र सोमपाल कामीले एक तथा स्पिनरहरू सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिइसकेका छन् ।
त्रिवि खेलमैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरेको हो ।