मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तिवारी यादव वीरगन्ज
२०८० बैशाख १७ आइतबार १३:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यताको माग राख्दै ज्ञापनपत्र

Read Time : < 1 मिनेट
२०८० बैशाख १७ आइतबार १३:२७:००

होटेल तथा पर्यटन व्यवसायीले देशभरका होटेल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता र सेवा–सुविधा उपलब्ध गराउन माग राख्दै आइतबार ज्ञापनपत्र बुझाएका छन। 

वीरगन्जमा होटेल तथा पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता र सेवा–सुविधा उपलब्ध गराउन माग राख्दै व्यवसायीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा पछिल्लो एक दशकयता विभिन्न कारणले होटेल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित हुँदै आएका कारण त्यसले अर्बौँको लगानी संकटमा परेको उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘२०७२ सालमा आएको विनाशकारी भूकम्प, त्यसपछिको ६ महिने मधेस आन्दोलनसँगैको नाकाबन्दी र तीन वर्ष चलेको कोरोना महामारीका वेला देशभरको होटेल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको थियो।

हजारौँ मजदुरको रोजगारी पनि गुम्यो। यी यावत् समस्याहरू भोगिरहँदासमेत तत्कालीन सरकारले  होटेल व्यवसायीलाई सहुलियत र राहतको मल्हम लगाउने काम पनि गरेन। जसका कारण थलिएका होटेल तथा पर्यटन व्यवसाय अहिलेसम्म पनि तंग्रिन पनि सकेको छैन।

सरकारले उद्योगसरह मान्यता दिएमा थलिएको होटेल तथा पर्यटन व्यवसायले विद्युत् महसुललगायत विभिन्न करमा उद्योगसरह सहुलियत र सुविधा पाउने र त्यसले यो व्यवसाय फेरि चलायमान बन्न सक्ने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले होटेल व्यवसायलाई उद्योगसरहको मान्यता दिलाउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले यस विषयमा नीतिगत निर्णयका लागि तत्काल प्रक्रिया अगाडि बढाउन उद्योग मन्त्रालयका सचिवलाई निर्देशन दिने प्रतिबद्धता जनाए।