मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १५ शुक्रबार १०:३३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमको निर्देशकमा शाह र मल्लिक अनुत्तीर्ण, प्रबन्धकमा शिशिर सुवेदीको ‘सरप्राइज’ बढुवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १५ शुक्रबार १०:३३:००

लोकसेवा आयोगले आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट नेपाल आयल निगम लिमिटेडको निर्देशक पदमा लिएको परीक्षामा उपनिर्देशकहरू अशोक शाह र विजयकुमार मल्लिक अनुत्तीर्ण भएका छन् । सो पदका लागि निगमभित्र दुईजना मात्रै योग्य भएकाले उनीहरूले मात्रै परीक्षा दिएका थिए ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार दुवै उम्मेदवारले प्रथम पत्र र दोस्रो पत्रको लिखित परीक्षामा सय पूर्णांकमा ४० अंक पनि नकटाएका कारण सो पदमा अनुत्तीर्ण भएका हुन् । परीक्षा दिएका दुवैजना फेल हुँदा निर्देशक पद नै खाली हुन पुगेको छ ।

‘प्रथम पत्र र द्वितीय पत्र एक–एक सय पूर्णांकको थियो । उत्तीर्ण हुनका लागि दुवै पत्रको परीक्षामा ४०–४० अंक ल्याउनुपर्ने हुन्छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘तर, परीक्षा दिएका कुनै पनि उम्मेदवारले उत्तीर्ण हुनुपर्ने अंक ल्याउन नसकेपछि अन्तर्वार्ताका लागि छनाेट नै हुन सकेनन् ।’

संस्थानहरूमा पदपूर्ति गर्दा सीमित सिटमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने प्रावधान छ । तर, आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा संस्थानका कर्मचारीहरू छनाेट हुन गाह्रो हुने गरेको छ । जसकारण उच्च व्यवस्थापकीय निर्णय लिन संस्थानहरूले माथिल्लो तहमा कर्मचारीको अभाव खेप्ने गरेका छन् ।

निर्देशक तहमै महिला कोटामा खुला प्रतिस्पर्धाबाट भने निर्मला आचार्य सिफारिस भइसकेकी छिन् । सो पदमा पाँचजनाले परीक्षा दिए पनि लिखितमा आचार्यसँगै मञ्जु घिमिरे मात्रै उत्तीर्ण भएका थिए । त्यसपछि अन्तर्वार्ताबाट आचार्य छनाेट भएको निगमले एक सूचनामार्फत जानकारी दिएको छ ।

आठाैँ तहको प्रबन्धक पदमा भने रोचक प्रतिस्पर्धा भएको छ । आन्तरिक प्रतिस्पर्धाबाट सञ्चालित परीक्षाको प्रशासनतर्फको सो पदमा चार कर्मचारीले लिखित परीक्षा दिएका थिए । त्यसमध्ये प्रशासन समूहका टीकाजंग थापा र लेखा समूहका शिशिर सुवेदी अन्तर्वार्ताका लागि छनाेट भएका थिए । 

सुवेदी लेखा समूहतर्फको प्रबन्धक पदमै पनि अन्तर्वार्ताका लागि एक्लै छनाेट भएका थिए । त्यसैले उनले लेखाबाटै बढुवा रोजेर प्रशासनतर्फको आठौँ तहमा थापालाई सघाउने अपेक्षा थियो । यही अपेक्षाका साथ थापा अस्ट्रेलियाबाट भ्रमण छोट्याएर अन्तर्वार्ता दिन काठमाडौं आएका थिए ।

तर, अन्तिम नतिजा सार्वजनिक हुँदा सो पदका लागि सुवेदी छनाेट भएका छन् । आफू एक्लै छनाेट भएको लेखा समूहको आठाैँ तहको अन्तर्वार्तामा पनि सुवेदी सहभागी थिए । तर, प्रशासनतर्फ नै सुवेदी बढुवा भएपछि लेखाको आठौँ तह खाली हुन पुगेको छ ।

प्रशासनतर्फका कर्मचारीहरू निगमको डिपो प्रमुख हुन सक्ने व्यवस्थाका कारण सुवेदीले समूह परिवर्तन गरी आठाैँ तहमा बढुवा रोजेका हुन् । उनी थानकोट, भैरहवाजस्ता ठूला डिपोमा लेखा प्रमुख भई काम गरिसकेका छन् भने निगमभित्र दक्ष लेखापालमा पर्ने भएकाले विभिन्न डिपोको लेखा सुपरिक्षण गर्ने कामसमेत गर्ने गरेका छन् ।

त्यस्तै साताैँ तहको उपप्रबन्धक पदमा प्रशासनतर्फ दुई र लेखा समूहतर्फ एकजनाको माग भएकोमा दुवै समूहमा निगममा कार्यरत नारायण गिरी मात्रै अन्तर्वार्ताका लागि छनाेट भएका थिए । त्यसपछि उनले साताैँ तहमा बढुवा रोज्दा प्रशासनतर्फ आएका छन् भने साताैँ तहको लेखा समूह खाली हुन पुगेको छ । लेखा समूहको लिखित परीक्षामा उनी मात्रै सहभागी भएका थिए ।