१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० बैशाख १५ शुक्रबार ०९:३६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुरको लेलेसहित चार स्थानको खानेपानी निर्यातको तयारी, ल्याब परीक्षण हुँदै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० बैशाख १५ शुक्रबार ०९:३६:००

ललितपुरको लेले, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको बाह्रबिसे र नुवाकोटको ककनीमा रहेका मूल तथा खोलाको पानी चयन

उपत्यकासहित आसपासका चार स्थानको खानेपानी विदेश निर्यातका लागि परीक्षण सुरु गरिएको छ । खाडी मुलुकहरू, हङकङ तथा युरोपियन देशहरूमा खानेपानी निर्यात गर्ने गरी परीक्षण सुरु गरिएको हो । 

ललितपुरको लेले, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको बाह्रबिसे र नुवाकोटको ककनीमा रहेका मूल तथा खोलाको पानी निर्यातयोग्य रहे–नरहेको पहिचान गर्न ल्याब परीक्षण अघि बढाइएको छ । नेपाल बोटल वाटर उद्योग संघले निजी ल्याब प्रयोग गरेर चार स्थानको पानीको परीक्षण सुरु गरेको हो । 

यसका लागि संघले सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको एउटा पानी उद्योग किन्नेबारे प्रक्रिया अघि बढाएको छ । यो उद्योगबाटै विदेशमा पानी निर्यात गर्न सकिने संघले जनाएको छ । यस क्षेत्रको पानी सफा र स्वच्छ भएकाले विदेश निर्यात गर्न सकिने संघको भनाइ छ । ल्याब परीक्षण सफल भएपछि विदेश निर्यातका लागि वाणिज्य आपूर्ति तथा उद्योग संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अनुमति लिइने संघका अध्यक्ष धु्रवबहादुर गौतमले जानकारी दिए ।

उनका अनुसार विदेशमा पानी निर्यात गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । ‘हामीले अहिले केही स्थानको पानी नमुना संकलन गरेर निजी उद्योगहरूकै ल्याबमा टेस्ट गरिरहेका छौँ,’ यसको रिपोर्ट आइसकेपछि सरकारी निकायमा पेस गर्छौँ,’ उनले भने, ‘त्यसपछि पानी आयात गर्न चाहने देशसँग समन्वय र सम्झौता अघि बढाउँछौँ ।’ 

गजेन्द्र ठाकुर, महानिर्देशक, वाणिज्य विभाग
निजी संस्थाले टेस्ट गरेको पानी सरकारी ल्याबमा पनि टेस्ट हुन्छ । त्यसपछि मात्रै निर्यात वा वितरण गर्छौँ । यसबारे ठोस योजना आवश्यक छ । अहिले पनि नेपालबाट विदेशमा पानी निर्यात भइरहेको छ । यसलाई अझै बढाउन निजी उद्योगहरूसँग मिलेर कार्ययोजना बनाउँछौँ ।

उपत्यकामा मेलम्चीको खानेपानी आएसँगै सर्वसाधारणले सहजता महसुस गरेका छन् । मेलम्चीबाट हाल दैनिक १८ करोड लिटर पानी उपत्यकामा आउँछ । सरकारले दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने गरी मेलम्चीसहित यांग्री र लार्केबाट पनि पानी ल्याउने योजना अघि बढाएको छ । यससँगै उपत्यकामा खानेपानीको अभाव अन्त्य हुने अपेक्षा छ । 

सरकारी ल्याबमा परीक्षण नगरी निर्यात नहुने
वाणिज्य विभागका महानिर्देशक गजेन्द्र ठाकुरले निजी संस्थाले टेस्ट गरेको पानी सरकारी ल्याबमा पनि टेस्ट हुने बताए । त्यसपछि मात्रै निर्यात वा वितरण गरिने उनको भनाइ छ । उनका अनुसार नेपालबाट विदेश पानी निर्यात राम्रो योजना हो । तर, यसबारे ठोस योजना चाहिन्छ । ‘अहिले पनि नेपालबाट विदेशमा पानी निर्यात भइरहेको छ,’ उनले भने, ‘यसलाई बढाउन निजी उद्योगहरूसँग मिलेर कार्ययोजना बनाउँछौँ ।’ उनका अनुसार पानी परीक्षणका लागि विभागसँग आफ्नै ल्याब भने छैन । निजी तथा सरकारकै अन्य ल्याबमा लगेर विभागले पानी परीक्षण गर्दै आइरहेको छ । विदेश निर्यात मात्रै नभएर सहरी क्षेत्रमा वितरण गरिने पानी शुद्ध छ वा छैन भन्नका लागि परीक्षण आवश्यक रहेको महानिर्देशक ठाकुरको भनाइ छ । 

संघको तथ्यांकअनुसार यो वर्ष नेपालबाट ५८ करोडको पानी विदेशमा निर्यात भएको छ । तर, यो पानी संघमा आबद्ध पानी उद्योगले भने निर्यात गरेका होइनन् । हाल रसुवाको लाङटाङ क्षेत्रबाट संकलन भएको पानी व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको हिमालय वन टपले विदेशमा निर्यात गर्दै आइरहेको छ । यो कम्पनीले खाडी मुलुकहरू, जापान, हङकङसहित युरोपियन देशहरूमा निर्यात गर्दै आइरहेको छ । 

सरकारले चासो नदिएको आरोप
उपभोक्ताकर्मी प्रेमलाल महर्जनले पानी निर्यात गरी नेपालले राम्रो व्यापार गर्न सक्ने भए पनि सरकारले चासो देखाएको आरोप लगाए । ‘पानी निर्यात त भइरहेको छ, तर राज्यलाई कुनै फाइदा छैन । सरकारको बेवास्ताले खानेपानी निर्यात गरी लिन सकिने फाइदासमेत गुमेको छ,’ उनले भने, ‘सरकारसँग त अहिले कुन–कुन कम्पनीले कुन–कुन देशमा पानी निर्यात गरिरहेका छन् भन्ने विवरणसमेत छैन ।’ उनका अनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने पानीमा कडाइ नहुँदा हिमालयबाहेक अन्य उद्योगले पनि एयरलाइन्समार्फत पानी निर्यात गर्छन् । यसबारे प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य विभागले निगरानी नगरेको महर्जनको भनाइ छ । 

विभागसँग तथ्यांक नै छैन 
खानेपानी निर्यात गर्दा अनुमति लिनुपर्ने आधिकारिक निकाय वाणिज्य विभाग हो । तर, हाल खानेपानी निर्यात गर्दै आइरहेका उद्योगहरूले विभागसँग अनुमति भने लिएका छैनन् । विभागका निर्देशक भेषबहादुर कँुवरका अनुसार ओपन मार्केट पोलिसीको दुरुपयोग गरेर जथाभावी पानी वितरण भइरहेको छ । यसलाई रोक्नेबारे विभागले छलफल अघि बढाएको छ । ‘अहिले विदेशमा जति पनि पानी निर्यात भइरहेको छ, यसबारे विभागसँग अनुमति नै लिएका छैनन्,’ उनले भने, ‘अध्यागमन विभागले अनुमति दिएर मात्रै विदेशमा पानी सप्लाई गर्न पाइँदैन, यसमा हामीले निगरानी बढाउँछौँ ।’ 

०७२ को भूकम्पका वेला कतार एयरवेजले नेपालमा खानेपानी लिएर आयो । उक्त पानी हिमालयले कतारमा नेपालबाट सप्लाई गरेको खानेपानी थियो । नेपालबाट लगेको पानी नेपालमै ल्याएर वितरण गरेको थाहा पाएपछि उपभोक्ताकर्मी अचम्ममा परे । ‘भूकम्पका वेला यतिसम्म भएको छ, कतारले नेपालबाट आयात गरेको पानी नेपालमै वितरण गरेको थियो,’ उपभोक्ताकर्मी महर्जनले भने, ‘त्यतिवेला एक बोतल पानीको १० डलर रुपैयाँ परेको थियो ।’