मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०८:२७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १५ शुक्रबार ०८:२७:००

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला ललितपुर मेयर कप प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा पुलिसले न्यु डायमन्ड एकेडेमी र एपिएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । 

पहिलो सेमिफाइनलमा पुलिसले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । खेलमा हावी देखिएको पुलिसले २५–१६, २५–१४ र २५–१७ को जित निकाल्यो । एपिएफले आर्मीलाई ३–२ को सेटमा हरायो ।

रोमाञ्चक खेलमा एपिएफले सुरुवाती दुई सेट २५–२१ र २५–२२ ले जितेको थियो । तेस्रो र चौथो सेट २५–१२ र २६–२४ ले जित्दै आर्मीले पुनरागमन गरेको थियो । तर, पाँचौँ सेटमा एपिएफले १५–१२ को जित निकाल्यो । अब, महिलातर्फ न्यु डायमन्ड र आर्मीले तेस्रो स्थानका लागि आज खेल्नेछन् । फाइनल खेल शनिबार हुने तालिका छ । 

पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा 
पुरुषतर्फको खेलमा सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबारका खेलसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब तथा ललितपुर महानगरपालिका अन्तिम चारमा स्थान बनाएका छन् । आज हुने पहिलो सेमिफाइनलमा आर्मी र एपिएफ तथा पुलिस र आयोजक ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

 समूह चरणको अन्तिम दिन एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब समूह विजेता बनेको हो । पुलिसले एपिएफलाई २८–२६, २५–२१, १८–२५ र २५–१८ ले हराएको हो । दिनको अर्काे खेलमा ललितपुर महानगरपालिकाले सूर्यविनायक युथ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताका महिला तथा पुरुष विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार पाउनेछन् ।