मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख १५ शुक्रबार ०६:००:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गण्डकी र लुम्बिनीमा गठबन्धन  सरकार, मन्त्रालय बाँडफाँट बाँकी

कोसीबाहेकका ६ प्रदेश सरकारबाट एमालेको बहिर्गमन

Read Time : > 2 मिनेट
२०८० बैशाख १५ शुक्रबार ०६:००:००

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा कांग्रेसकै डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा सत्तागठबन्धनको सरकार बनेको छ । बिहीबार गण्डकी र लुम्बिनीमा क्रमशः कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुवै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । 

केन्द्रीय समीकरणअनुसार माओवादीलगायत दलले समर्थन फिर्ता लिएपछि सदनमा विश्वासको मत नपाउँदा गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार सरकार ढलेका थिए । यसअघि एमालेले सुदूरपश्चिममा सरकारको नेतृत्व गुमाएको थियो । 

कोसीबाहेकका ६ प्रदेश सरकारबाट एमालेको बहिर्गमन भएको छ । अब कोसीमा मात्र एमाले नेतृत्वको सरकार बाँकी छ । कर्णाली र बागमतीमा गठबन्धनको सरकार बनिसकेको छ । एमाले मधेस सरकारबाट पनि बाहिरिसकेको छ । तर, कांग्रेस, एकीकृत समाजवादी र लोसपा सरकारमा सहभागी हुन भने बाँकी छ । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को (२) अनुसार गोरखा २ (ख) बाट निर्वाचित कांग्रेस संसदीय दलका नेता पाण्डेलाई दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्त मुख्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । 

पाँचवर्षे कार्यकालमा पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व लिने गरी भागबन्डा टुंगिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् । ‘सरकारको नेतृत्व आलोपालो हुन्छ । प्रदेशलाई आत्मनिर्भर बनाउने गरी काम हुन्छ,’ नवनियुक्ति मुख्यमन्त्री पाण्डले प्रतिक्रिया दिए  । 

६० सदस्य प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ । पाण्डे काग्रेसका २७ सगै माओवादीका सात र एक स्वतन्त्र गरि ३५ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भए । प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् । 

२५ पुसमा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, माओवादीले १० चैतमा समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले ९ वैशाखमा विश्वासको मत पाएनन् । र, सरकार ढलेको थियो । 

त्यसैबीच, सातमध्ये माओवादीले तीन र सरकारको नेतृत्व लिएको कांग्रेसले मुख्यमन्त्रीसहित चार मन्त्रालयमा दाबी गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मन्त्रालयमा छिनोफानो नभए पनि तीनवटा मन्त्रलायमा दाबी रहेको बताए । सदनमा स्वतन्त्रको हैसियतमा रहे पनि एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङले एक मन्त्रालय मागिरहेका छन् । नयाँ सरकार गठन भएसँगै मन्त्रीका लागि दलहरूमा हानथाप सुुरु भएको छ । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस, माओवादी केन्द्रसहितका आठ दल र एक स्वतन्त्र सांसदसहित ५३ सांसदले चौधरीलाई समर्थन गरेको दाबी पेस गरेपछि उनी मुख्यमन्त्री बनेका हुन् ।  एमालेका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् । मुख्यमन्त्री चौधरीको शपथ कार्यक्रम शुक्रबार बिहान साढे ११ बजेलाई तय गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताएका छन् । 

माओवादी सांसद धनबहादुर मास्कीका अनुसार कांग्रेस र माओवादीले आलोपालो चलाउने गरी पहिलो चरणमा कांग्रेसले नेतृत्व पाएको हो । तर, मन्त्रालयको भागबन्डा भने अझै टुंगिएको छैन । यहाँ मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् । 

माओवादीले तीन मन्त्रालय मागेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित पाँच मन्त्रालयमा दाबी गरिरहेको छ । अहिलेको सरकारलाई जसपा, लोसपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, जनमत, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थन छ । साना दललाई पनि भागबन्डा छुट्याउनुपर्ने बाध्यता छ ।

गठबन्धनमा सामेल दलहरूको प्रतिनिधित्व रहने गरी मन्त्रिमण्डल बनाउने गरी तयारी भएको छ । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले गठबन्धनमा सामेल दलहरूको प्रतिनिधित्व रहने गरी मन्त्रिमण्डल बनाउने गरी शपथको तयारी भइरहेको बताए । 

गण्डकी : शुक्रबार शपथ, सुरुमा सानो मन्त्रिपरिषद्

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सँगै माओवादीका सात र एक स्वतन्त्र गरी ३५ जनाको समर्थनमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त । प्रदेशका सात मन्त्रालयमध्ये सरकारको नेतृत्व लिएको कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन र एकीकृत समाजवादीको मन्त्रालयमा दाबी । पाण्डेले गण्डकीको चौथो मुख्यमन्त्री हुँदै पाँचौँ सरकारको नेतृत्व गर्दै छन् ।

लुम्बिनी : पहिलोपटक कांग्रेस नेतृत्वमा सरकार

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्रसहितका ८ दल र एक स्वतन्त्रसहित ५३ सांसदको समर्थनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त । उनी लुम्बिनीका चौथो मुख्यमन्त्री बनेका छन् । शुक्रबार शपथ लिई सुरुमा सानो मन्त्रिमण्डल बनाउने तयारी छ । लुम्बिनीमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् । जसमध्ये माओवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित पाँच मन्त्रालयमा दाबी गरेका छन् । सरकारलाई जसपा, लोसपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, जनमत, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थन छ । साना दललाई पनि भागबन्डा छुट्याउनुपर्ने बाध्यता छ ।