१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १३ बुधबार २३:०७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लुम्बिनी र कोसी प्रदेशको जित

यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता

Read Time : > 1 मिनेट
२०८० बैशाख १३ बुधबार २३:०७:००

लुम्बिनी र कोसी प्रदेशले कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । 

आज भएका खेलमा जित हात पार्दै लुम्बीनीले सेमिफाईनल प्रवेशको सम्भावना कायमै राखेको छ । पहिलो खेल जितेको सुदूरपश्चिम प्रदेश भने दोस्रो खेलमा लुम्बीनीसँग १५ रनले हारेको हो । कोसी प्रदेशले पनि पहिलो जित हात पारेको छ । पहिलो खेलमा कोसी गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

आज भएको पहिलो खेलमा लुम्बीनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १५ रनले हरायो । फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १४० रन बनायो । 

लुम्बीनीका लागि सन्तोष यादवले ४५ रन र आशिष ओलीले २२ रन बनाए । सुदुरपश्चिमका लागि आशिष शाही र अशोक धामीले दुई दुई विकेट लिए । प्रतिउत्तरमा सुदुरपश्चिम प्रदेशले २८ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । 

सुदुरपश्चिमका लागि नरेन भट्टले ३२ रन, ऋतिक थापाले २५ रन र मेट्रिक थापाले अविजित २२ रन बनाए । लुम्बीनीका लागि आशिष ओलीले ४ विकेट लिए । सागर गैरे, कमरान अहमाद र सन्तोष यादवले एक एक विकेट लिए । खेलमा चार विकेट लिएका लुम्बीनीका आशिष ओली प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे ।

आजकै दोस्रो खेलमा कोसी प्रदेशले बागमति प्रदेशलाई १६ रनले किनारा लगायो ।  कोसी प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २८ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १५१ रन बनायो । कोसीका लागि दिपु भुजेलले ३७ रन, अलिश मण्डलले २६ रन र आशिक मगरले अविजित २२ रन बनाए । बागमति प्रदेशका लागि सुविन हाडाले ४ विकेट लिए । त्यस्तै अर्थव पौडेल र सार्थक धितालले दुई दुई विकेट लिए ।

प्रतिउत्तरमा बागमतिले २८ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो । बागमतिका लागि रोशन विकले २१ रन र सुयांशु कोईरालाले २० रन बनाए । कोसीका लागि कृतिक कामतले ४ विकेट लिए । प्रतिश पौडेल र आशिक मगरले दुई दुई विकेट लिए । ४ विकेट लिएका कोसीकाकृतिक कामत प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार पाए ।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा लुम्बीनी प्रदेश र कर्णाली प्रदेश तथा तथा दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।