Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १२ मंगलबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चीनलाई समाजवादी नमुना मुलुक बनाउन चाहन्छौँ : सी जिनपिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १२ मंगलबार ०९:१५:००

चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनलाई समाजवादी नमुना मुलुक बनाउन चाहेको बताएका छन् । सोमबार ग्रेट हल अफ द पिपुलमा ७२ देशका राजदूतहरूलाई सम्बोधन गर्दै उनले सो विचार राखेको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । ‘उहाँले चीनको पाँच हजार वर्षको इतिहास स्मरण गर्दै चीनलाई पुनर्जागरण गर्ने विषय पनि राख्नुभयो,’ उनले भने । 

राजदूतहरूलाई सामूहिक रूपमा सम्बोधन गर्दै राष्ट्रपति सीले अहिले विश्व मानव समुदायले ठूलो चुनौती खेप्नु परेको चर्चा गर्दै सबै मिलेर समाधान गर्नुपर्ने बताएका थिए । उनले ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जिएसआई), ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स (जिडिआई)सम्बन्धी अवधारणा सबैसँग हातेमालो गर्ने मनसायले अघि सारिएको पनि बताए । ‘यी अवधारणा विश्वको सुरक्षा र विकासका लागि ल्याइएको हो । यसका लागि हामी सबै मिलेर काम गर्नुको विकल्प छैन,’ राष्ट्रपति सिको भनाइ उद्धृत गर्दै राजदूत श्रेष्ठले भने । 

चीनका लागि नेपाली राजदूत श्रेष्ठले सोमबार राष्ट्रपति सीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बेइजिङ गएको करिब नौ महिनापछि राजदूत श्रेष्ठले ग्रेट हल अफ द पिपुलमा प्रमाणपत्र बुझाएका हुन् । चीनमा राजदूतहरूले परराष्ट्र मन्त्रालयको चिफ अफ प्रोटोकललाई सुरुमै ओहोदाको प्रमाणपत्र बुझाएपछि पूर्णरूपमा काम गर्न पाउने नियम छ ।

‘ग्रेट हल अफ द पिपुलमा ७२ देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझायौँ । २०२१ अप्रिलमा राजदूतहरूले राष्ट्रपतिसमक्ष प्रमाणपत्र बुझाएपछि बल्ल अहिले अवसर मिलेको रहेछ,’ राजदूत श्रेष्ठले बेइजिङ्बाट टेलिफोनमा भने, ‘त्यतिबेला छुटेकासमेत जम्मा ७२ जनाले प्रमाणपत्र बुझाउने कार्यक्रम भयो । समयको पाबन्दीले गर्दा कुराकानी गर्न पाइएन । राष्ट्रपतिज्यूले हामीहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुभयो ।’