१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख १० आइतबार ०५:५९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थारू समुदायमा सिकलसेलको संक्रमण उच्च : ९०६ जनामा परीक्षण गर्दा १२१ मा सिकलसेल

Read Time : > 1 मिनेट
२०८० बैशाख १० आइतबार ०५:५९:००

कैलालीको कैलारी गाउँपालिमा भएको एक स्वास्थ्य शिविरमा जाँच गरिएकामध्ये १३ प्रतिशतमा सिकलसेल एनिमिया रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शिविरमा नौ सय ६ जनाको परीक्षण गरिएकामा एक सय २१ जनामा सिकलसेल पुष्टि भएको हो । 

हालसम्मको तथ्यले वंशाणुगत यो रोग थारू समुदायमा मात्रै लागेको देखिएको छ । स्वास्थ्य शिविरको नतिजा हेर्दा गाउँपालिकाभरि धेरैजनामा सिकलसेल रोग रहेको हुन सक्ने देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए । उनका अनुसार पहिले नै सिकलसेल रोग पहिचान भएका व्यक्तिका परिवारका सदस्य, दीर्घरोगी र बारम्बार बिरामी भइरहने व्यक्तिलाई शिविरमा परीक्षणका लागि आउन आग्रह गरिएको थियो । 

कैलारीले गाउँपालिकाभित्रका ६ वटा स्वास्थ्य संस्थामा दुई–दुई दिन सिकलसेल परीक्षण शिविर सञ्चालन गरेको थियो । सिकलसेल देखिएकाहरू रोगी हुन् वा वाहक हुन भनेर छुट्याउन थप परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मीका अनुसार रगतमा सिकलसेलको मात्रा ४० प्रतिशतभन्दा बढी देखिए रोगी र त्योभन्दा कम देखिए सिकलसेल वाहक मानिन्छ । रोगीले अनिवार्य रूपमा नियमित औषधि सेवन गर्नुपर्ने चौधरीले बताए । ‘तर, सिकलसेल वाहक सबैले औषधि सेवन गर्नुपर्दैन । बिरामी भइरहने र स्वास्थ्य राम्रो नभएका वाहकले भने औषधि नियमित खानुपर्छ,’ उनले भने ।

कैलारी गाउँपालिकामा सिकलसेलका ८८ बिरामी पहिलेदेखि नै उपचारमा छन् । उनीहरूलाई नियमित स्वास्थ्य जाँचका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पुग्न गाउँपालिकाले मासिक एक हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । कैलारी गाउँपालिकामा ९६ प्रतिशतभन्दा बढी थारू समुदायको मात्र बसोवास छ ।

सरकारी तथ्यांकअनुसार कैलाली र कञ्चनपुरमा करिब एक हजार दुई सयजना सिकलसेलका बिरामी उपचाररत छन् । सेती प्रादेशिक अस्पतालमा मात्रै साढे आठ सयभन्दा बढी सिकलसेलका बिरामीले नियमित स्वास्थ्य जाँच गराइरहेका अस्पतालका प्रवक्ता एवं वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले जानकारी दिए । बिरामीले आजीवन औषधि सेवन गर्नुपर्ने उनले बताए । सिकलसेलका बिरामीलाई सरकारले एक लाख रुपैयाँसम्मको औषधोपचार निःशुल्क गरेको छ ।