१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चूडामणि उप्रेती
शिल्पा कर्ण काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ०८:४८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे ३३ केजी सुन तस्करी प्रकरण : संगठित अपराधमा दोषी ठहर, गोरेसहितका प्रतिवादीलाई थप कैद सजाय

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ०८:४८:००

साढे ३३ किलो सुन तस्करीको मुद्दामा संगठित अपराधको समेत कसुर ठहर भएको छ । उच्च अदालत पाटनले सात वर्षअघिको सो मुद्दालाई संगठित अपराधमा समेत कसुर ठहर गरी गोरे भनिने चूडामणि उप्रेतीलगायत प्रतिवादीलाई थप सजाय सुनाएको छ । 

२८ चैत ०७९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्दै केही प्रतिवादीका हकमा सजाय बढाएको र सफाइ पाउने दुईजनालाई सजाय तोकेको छ । मुद्दामा दोषी ठहर भएका सबै ११ जनामाथि संगठित अपराधको समेत कसुर कायम भएको छ । सोअनुसार एक वर्षदेखि दुई वर्ष तीन महिनासम्म थप कैद हुने गरी सजाय बढाइएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र रमेश ढकालको इजलासले मुद्दामा गोरेलाई थप एक वर्ष नौ महिना कैद हुने सजाय सुनाएको छ । यसअघि जिल्लाले उनलाई ५० लाख जरिवाना र साढे तीन वर्ष कैद सजाय सुनाएको थियो । 

पाटन उच्च अदालतका अनुसार दुबईबाट सुन पठाउने कार्यमा संलग्न भनिएका हरिशरण खड्कालाई जिल्ला अदालतले कायम गरेको सजायमा बिगो घटाउने फैसला भएको छ । उनलाई जिल्लाले ११ करोड सात लाख रुपैयाँभन्दा बढी बिगो तथा चार वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो । उच्चले एक करोड बिगो घटाएर १० करोड सात लाख कायम गरेको छ । 

यसरी घटेको एक करोडमध्ये ५०–५० लाख रुपैयाँ राहुल गोयल र प्रमोद श्रेष्ठलाई बिगो भराउने फैसला भएको हो । उनीहरू दुवैलाई जिल्ला अदालतले सफाइ दिएको थियो । उनीहरू दुवै सुन तथा गहना व्यवसायी हुन् । 

सुन चोरी पैठारीमा प्रत्यक्ष संलग्न रहेका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्लेलाई जनही एक–एक करोड रुपैयाँ जरिवाना तथा चार–चार वर्ष कैद सजाय तोकिएको थियो । उच्च अदालत पाटनले भने अझै दुई वर्ष कैद थपिदिएको छ । अवैध रूपमा सुन पैठारीमा संलग्न गोरे, अर्जुनप्रसाद खरेल र राजनप्रसाद पन्थलाई पनि संगठित अपराधमा दोषी करार गर्दै उच्च अदालतले थप ५० प्रतिशत कैद हुने आदेश गरेको छ । उनीहरूलाई जिल्लाले तीन वर्ष ६ महिना कैद हुने तथा ५०–५० लाख जरिवाना असुलउपर हुने फैसला सुनाएको थियो । उच्चको फैसलाअनुसार यी तीनैजनालाई जनही थप एक वर्ष नौ महिना कैद हुने भएको छ ।

यसैगरी, रामहरि कार्कीलाई पनि जिल्लाबाट तीन वर्ष ६ महिना कैद तथा ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएकोमा एक वर्ष नौ महिना थप कैद सजाय हुने भएको छ । त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीहरू राजकुमार ढकाल, श्रीनारायण यादव र श्यामकृष्ण च्वामु श्रेष्ठलाई आर्थिक प्रलोभनमा परी भन्सार चेकिङबाट अवैध सुन बाहिर पठाएको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले जनही २५–२५ लाख रुपैयाँ जरिवाना तथा तीन वर्ष ६ महिना कैद हुने सजाय सुनाएको थियो । उच्च अदालतले उनीहरूलाई थप एक–एक वर्ष कैद सजाय हुने गरी फैसला गरेको छ । 

संगठित अपराधमा कसुर कायम
जिल्ला अदालतले संगठित अपराध मुद्दामा वस्तुनिष्ठ प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो । सरकारी पक्षले संगठित अपराधको कसुर कायम हुने गरी स्पष्ट प्रमाण पेस गर्न नसकेको निष्कर्ष निकाले पनि उच्च अदालतले भने सो कसुर कायम गरेको हो । जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि सरकारी पक्ष र अन्य १० जना पुनरावेदनमा पुगेकामा गोरेसहित १० जनाकै हकमा जिल्लाकै फैसला सदर भएको हो । 

जिल्ला अदालतले सुन बरामद गर्ने प्रहरी कर्मचारीलाई भन्सार ऐनअनुसार पुरस्कारका लागि सम्बन्धित निकायमा लेखी पठाउनसमेत आदेश दिएको थियो । साथै अदालतमा उपस्थित नभएका पाँचजनाको हकमा मुद्दा मुल्तबीमा राखिदिने आदेश गरेको थियो । म्यादमा हाजिर हुन नआएका संकेत उपाध्याय, भोलाबहादुर मगर, माधव सुवेदी, विष्णुप्रसाद सुवेदी र कृष्णगोपाल अग्रवालका हकमा मुद्दा मुल्तबीमा राखिएको हो । प्रहरीले अवैध तवरले भिœयाएको सुन खरिद गर्नेहरूलाई समेत प्रतिवादी कायम गरेको थियो । जसमा व्यापारीहरू राजेन्द्रकुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सन्नी श्रेष्ठ, राजेश बोगटी, प्रमोद श्रेष्ठ, रोजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, गीता श्रेष्ठ र मनोज श्रेष्ठ थिए ।  

यस्तो थियो घटना 
२१ पुस ०७३ मा विदेशबाट ल्याइँदै गरेको अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिँदै गरेको सूचनापछि एउटा ट्याक्सी र एउटा गाडीबाट साढे ३३ किलो सुन बरामद गरेको थियो । सुरुमा सुन लिएर आउँदै गरेका गोपालबहादुर शाही र सन्तोष काफ्लेसमेत पक्राउ परेका थिए । विमानस्थलको मिलेमतोमै सुन तस्करी भएको उनीहरूको बयान थियो । २०१६ देखि नै आफूले सुन ओसारपसार गर्न थालेको शाहीको बयान थियो । अनुसन्धानपछि अन्यसमेत सुन तस्करीमा संलग्न रहेको भेटिएपछि प्रहरीले २२ फागुन ०७३ मा ३३ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धानअनुसार दुबईमा बसेर सुन सप्लाई गर्ने कार्यमा हरिशरण खड्का, रोशन भन्ने गुप्तलाल भुसाल, अर्जुनप्रसाद खरेल, कृष्णगोपाल अग्रवाल र राजनप्रसाद पन्थसमेत गरी पाँचजनाको संलग्नता रहेको दाबी सरकारी वकिलको थियो । प्रहरीको अनुसन्धानअनुसार दुबईबाट नेपालमा पठाएको सुन जिम्मा लिई नेपालमा वितरण गर्ने कार्यमा सन्तोष काफ्ले, दिलबन्धु थापा, रामहरि कार्की, रुविन भन्ने रामप्रताप खड्का र प्रकाश खरेल भन्ने बुद्धिमान खरेलको जिम्मामा थियो । दुबईबाट सुन ल्याउने कार्यमा भने गोपालबहादुर शाहीसमेत पाँचजनाको संलग्नता खुलेको थियो ।