१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कुपोषित बालबालिकाको संख्या बर्सेनि वृद्धि

पोषण पुनर्स्थापना गृहमा आउने बालबालिकाको संख्या घटेन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ। यस्तै, भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको छ।

जिल्लामा गत आर्थिक वर्ष ०७८/७९ मा कुपोषित बालबालिकाको संख्या आठ सय ९२ थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार यो संख्या त्यसअघिको आर्थिक वर्ष ०७७/७८ को भन्दा झन्डै चार गुणा बढी हो । उक्त वर्ष कुपोषित बालबालिकाको संख्या दुई सय ४८ मात्र थियो। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा कुपोषित बालबालिकाको संख्या एक सय ९४ मात्र थियो। भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक छ। 

आर्थिक वर्ष ०७७–७८ मा ४६ बालिका र ३४ बालक गरी ८० जना कुपोषित बालबालिका उपचारका लागि भर्ना भएका थिए । तीमध्ये बाँकेका ४२ जना थिए। 

त्यसैगरी, बर्दियाका १३, दाङका आठ, जाजरकोटका पाँच, सल्यान, जुम्ला, कालिकोट, रुकुम र अछामका दुई–दुई तथा डोल्पाका एकजना कुपोषित बालक उपचारका भर्ना भएको पोषण पुनर्स्थापना गृहकी इन्चार्ज विमला पौडेलले जानकारी दिइन्। 

‘बाहिरी जिल्लाका बालबालिका आफ्नै जिल्लास्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउँछन्। यहाँ आउने बिरामी उपचारका लागि भेरी अस्पताल आएका मात्र हुन्। त्यसैले बाँकेका बिरामीको संख्या धेरै देखिएको हो,’ उनले भनिन्, ‘उपचारका लागि यहाँ आएकामध्ये फेला परेका कुपोषित बालबालिका मात्र भर्ना भएका हुन्।’   

आर्थिक वर्ष ०७८/७९ मा एक सय सात बालिका र ९३ बालक गरी दुई सय १० जना कुपोषित बालबालिका उपचारका लागि पोषण पुनर्स्थापना गृहमा भर्ना भएको इन्चार्ज पौडेलले बताइन्। 

उनले चालू आर्थिक वर्षको फागुनसम्म ६५ जना कुपोषित बालबालिका उपचारका लागि भर्ना भएको बताइन्। ‘गर्मी महिनामा उपचारका लागि आउने कुपोषित बालबालिकाको संख्या अधिक हुन्छ,’ उनले भनिन्, बेड खाली नभएर भुइँमा राखेर उपचार गरेको रेकर्ड छ।’ 

स्वास्थ्य सेवाको पहुँचमा आउँदा तथ्यांक बढी देखिएको दाबी

बालबालिका स्वास्थ्य सेवाको पहुँचमा आएका कारण कुपोषित बालबालिकाको संख्या बढेको तथ्यांक आएको स्वास्थ्य कार्यालय बाँकेका पोषण फोकल पर्सन वसन्ती मल्लले बताइन्।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरैभन्दा धेरै बालबालिका स्वास्थ्य सेवाको नियमित चेकजाँचको दायरामा आएको बताउँदै उनले बालबालिका वृद्धि विकास निगरानीमा आएका कारण कुपोषित बालबालिकाको संख्या बढेको अनुमान गरिन्। 

अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः ५१.२ र ५७.१ प्रतिशत बालबालिका निगरानीमा आएकोमा गत आर्थिक वर्षमा ८०.५ प्रतिशत बालकालिका वृद्धि विकास निगरानीमा आएको मल्लले जानकारी दिइन्। 

गर्भमा शिशु रहेदेखि २३ महिना नहुन्जेलसम्म बालबालिकालाई २४ पटक स्वास्थ्य संस्थामा लगेर वृद्धि विकास निगरानी गर्नुपर्ने मापदण्ड छ। 

तौल उमेरअनुसार तोकिएको मापदण्डभन्दा कम भएको अवस्था वा बढी भएको दुवै अवस्थालाई कुपोषणको अवस्था मानिन्छ। बाँकेमा बढी तौल भएका कुपोषित बालबालिका अधिक रहेको तथ्यांक छ। 

उनले भनिन्, ‘निगरानीमा पुगेका बालबालिकाको संख्या बढ्नु सुखद भए पनि जिल्लामा एक वर्षमा करिब नौ सय बालबालिका कुपोषित रहेको तथ्यांक आउनुले जिल्लामा कुपोषणको अवस्था भयावह रहेको देखिन्छ।’

पछिल्लो समय निको हुने दर पनि सुध्रिएको छ। ०७६ मा निको हुने दर ५४.८ प्रतिशत थियो भने पछिल्ला दुई वर्षमा क्रमशः ७९.८ प्रतिशत र ७९.२ प्रतिशत निको हुने दर छ। अझै १५ प्रतिशतभन्दा बढी कुपोषित बालबालिका नियमित निगरानीबाट वञ्चित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।