१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Sunday, 11 May, 2025
एजेन्सी नयाँदिल्ली
२o८o बैशाख ४ सोमबार o९:o३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रहरी घेरामै गोली हानी पूर्वसांसदको हत्या

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार o९:o३:oo

अपहरणको अभियोगमा दोषी ठहरिएका एकजना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफलाई गोली हानेर हत्या गरेका हुन् । 

प्रयागराजस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएका अहमद दाजुभाइलाई अस्पतालबाहिर पत्रकारसँग कुराकानी गरिरहेका वेला पत्रकारसँगै रहेका तीन जनाले टाउकोमा गोली हानेका थिए । पूर्वसांसद राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तीनैजनालाई पक्राउ गरिएको छ । 

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जबर्जस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्रहरीबाट असुरक्षा रहेको बताउँदै आएका थिए । अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो । मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन् । 

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्र्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्ति सुव्यवस्था कायम गर्न अक्षम भएको भन्दै राज्य सरकारको आलोचना गरे । त्यस्तै, कांग्रेस नेतृ प्रियंका गान्धी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गरेका छन् । उनीहरूले राज्यमा जंगलीराजलाई बढवा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन् ।  यसैबीच, पहरीले घटनाबारे थप अनुसन्धान गरेको छ ।