
किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगर र विदेशी खेलाडी आफिज ओलावालेले एक-एक गोल गरे । संकटाका लागि मनीष डाँगीले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षकविहीन भएको मच्छिन्द्रले आजै किशोरकुमारलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रका लागि विमलले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दुई मिनेटपछि नै मनीषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछिको पहिलो हाफ बराबरीमा सकियो ।
दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको मच्छिन्द्रले ४६औँ मिनेटमा ओलावालेको गोलमार्फत पुनः अग्रता लियो । भुटानी रोनाल्डो भनिने चेन्चो ग्याल्सेनसहित मैदानमा उत्रिएको मच्छिन्द्रले बाँकी समयमा केही अवसर बनाए पनि थप गोल गर्न सकेन ।
संकटाले पनि केही अवसर खेर फाल्दा महत्वपूर्ण खेलमा अंक गुमाउन पुग्यो ।
जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ । संकटा भने ९ अंक जोडेर आठौँ स्थानमा छ ।