१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बक्सिङमा बागमती र एपिएफ च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o१:oo

बागमती प्रदेश र नेपाल एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन् । बागमती एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपिएफ, कोसी, सुदूरपश्चिम, नेपाल प्रहरी र लुम्बिनीले पनि समान एक स्वर्ण जितेका छन् । बागमती रजतका आधारमा पहिलो भएको हो । एपिएफले स्वर्णबाहेक दुई रजत र एक कांस्य जितेको थियो ।

महिलातर्फको ६ वटै भिडन्तमा एपिएफले तीन स्वर्ण र समान एक रजत र कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले दुई स्वर्ण तथा प्रहरीले एक स्वर्ण हात पारेका छन् । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् ।

आज १२ स्वर्णका लागि भिडन्त
प्रतियोगिताको अन्तिम दिन शनिबार १२ स्वर्णका लागि छिनोफानो भयो । पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले एपिएफका आस तामाङलाई पराजित गरे । ५७ केजीमा कोसीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका सुलभ मालीलाई हराए । ६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपिएफका सोनाम सार्कीलाई पाखा लगाए ।

७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोसीका प्रशान्त दाहालमाथि जित निकाली स्वर्ण हात पारे । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङलाई निराश पारे । ९२ केजी फाइनलमा एपिएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउँदै स्वर्ण चुमे । महिला ५० केजीमा एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जितेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेस प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् ।

५७ केजीमा निशा पहिलो 
प्रतियोगिताअन्तर्गत ५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्दा बागमतीकी पेमा शेर्पालाई हराइन् । ६० केजीमा एपिएफकी संगीता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगीताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् । प्रतियोगिताको प्रत्येक विधामा शीर्ष स्थानमा रहेका खेलाडीले २५ हजार र दोस्रो स्थानमा रहेका खेलाडीले १५ हजार रुपैयाँ पाएका छन् । विजेता खेलाडीलाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कृत गरेका छन् । 

ad
ad