मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Tuesday, 18 February, 2025
२o७९ चैत २६ आइतबार ११:२३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बढ्दै बैंकिङ कसुर : आठ महिनामै साढे आठ अर्बका ६ हजार चार सय ८३ मुद्दा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार ११:२३:oo

बैंकिङ कसुरमा चेक बाउन्स मुद्दाको हिस्सा ९९ प्रतिशत, पक्राउ पर्ने अभियुक्तको संख्या ६ हजार ६ सय ९४

पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत उच्च दरमा बढ्न थालेको छ । चेक नसाटिने, हुन्डी कारोबार, सहकारी ठगीलगायत घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकमसमेत उच्च मात्रामा बढेकोे तथ्यांक छ । 

बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने र सरकार आफैँ नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ । यस्तो मुद्दा पछिल्लो समय बढ्दो क्रममा रहेको नेपाल प्रहरीबाट प्राप्त फागुन ०७९ सम्मको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७९/८० को फागुनसम्म बैंकिङ कसुरमा ६ हजार चार सय ८३ वटा मुद्दा दर्ता भएका छन् । त्यसको बिगो रकम आठ अर्ब ५७ करोड १८ लाख ८३ हजार रहेको छ । यस्तो मुद्दामा प्रहरीले चालू आवमा मात्रै एक हजार दुई सय ५६ जनालाई पक्राउसमेत गरेको छ । 

तमसुकको ठाउँमा चेक प्रयोग हुन थालेको छ  : पोषराज पोखरेल प्रवक्ता, नेपाल प्रहरी 
पहिला व्यक्तिगत सापटी, ऋण तथा उद्यारो कारोबारमा तमसुक बनाउने प्रचलन थियो । त्यस अवस्थामा रकम असुल नभएमा कानुनी प्रक्रिया अघि बढाउन भने झन्झट छ । वडा कार्यालयलगायतका निकायको सिफारिस चाहिन्थ्यो । तर, चेकमार्फत कानुनी प्रक्रिया अघि बढाउन सजिलो छ । यसमा सीधै मुद्दा दर्ता गर्न सकिन्छ । सोहीअनुसार अहिले तमसुकको ठाउँमा चेक प्रयोग हुन थालेको छ । त्यसले गर्दा पनि यस्तो मुद्दाको संख्या बढ्दै गएको छ । पछिल्लो समय देखिएको आर्थिक संकटले यस्तो मुद्दाको संख्या बढाउन थप सहयोग पुगेको छ । 

संख्याका आधारमा चालू आवको आठ महिनामा परेको मुद्दा गत आव ०७८/७९ को पूरै वर्षभन्दा पनि बढी हो । गत आवमा नेपालभर बैंकिङ कसुरका पाँच हजार चार सय १६ मुद्दा दर्ता भएका थिए ।  

यद्यपि, गत आवमा यस्तो मुद्दाको बिगो रकम भने १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार थियो । गत आवमा सिभिल सहकारीको ठगी प्रकरणमा पाँच अर्बभन्दा बढीको बिगो रकमसहित मुद्दा दर्ता भएको थियो, फलस्वरूप गत आवमा बिगो रकम बढी थियो । त्यसबाहेकको अवस्थामा रकमका आधारमा समेत यस्तो मुद्दा बढ्दै गएको प्रहरीको भनाइ छ । 

विशेष गरी आर्थिक संकटका कारण पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्न थालेको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलको भनाइ छ । महँगी, तरलता अभाव, उच्च ब्यादजरलगायतका कारण अहिले आमउपझोक्ताको क्रयशक्ति कमजोर बनेको छ । सोहीकारण अधिकांश व्यापार–व्यवसायमा मन्दी आएको छ । साथै, आमसर्वसाधारणमै नगद प्रवाह कम छ । फलस्वरूप कतिपय व्यवसायी, व्यापारी, कम्पनी तथा व्यक्तिले आफ्नो उद्यारो, ऋण तथा सापटी चुक्ता गर्न सकेका छैनन् । उनीहरू निश्चित मितिको भाका राखेर चेक दिएका त हुन्छन् । तर, त्यो चेक समयमा साटिएको हुँदैन । त्यसपछि चेक पाएको व्यक्तिले चेकवालालाई बैंकिङ कसुरको मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ । तथ्यांकअनुसार बैंकिङ कसुरमा चेक बाउन्सको मुद्दाको हिस्सा ९९ प्रतिशत रहेको छ ।

चालू आवको समीक्षा अवधिमै कुल ६ हजार चार सय ८३ मुद्दा पर्दा चेक बाउन्सको मात्रै ६ हजार चार सय २२ मुद्दा रहेको छ । त्यसको बिगो रकम भने सात अर्ब ४१ करोड ७८ लाख रुपैयाँ रहेको छ । दोस्रोमा भने सहकारी ठगी रहेको छ । तथ्यांकअनुसार ७९ करोड ७० लाख रुपैयाँको बिगोसहित सहकारी ठगीमा २८ मुद्दा दर्ता भएका छन् । तथ्यांकअनुसार चार करोेड ७४ लाख ६८ हजार रुपैयाँबराबरको बिगो रकमसहित हुन्डीमा २१ मुद्दा परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले चेक कारोबारको प्रचलन बढ्दा पनि यस्तो मुद्दाको संख्या बढेको बताउँछन् । ‘पहिला व्यक्तिगत सापटी, ऋण तथा उद्यारो कारोबारमा तमसुक बनाउने प्रचलन थियो । त्यस अवस्थामा रकम असुल नभएमा कानुनी प्रक्रिया अघि बढाउन भने झन्झट छ । वडा कार्यालयलगायतका निकायको सिफारिस चाहिन्थ्यो । तर, चेकमार्फत कानुनी प्रक्रिया अघि बढाउन सजिलो छ । यसमा सीधै मुद्दा दर्ता गर्न सकिन्छ । सोहीअनुसार अहिले तमसुकको ठाउँमा चेक प्रयोग हुन थालेको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि यस्तो मुद्दाको संख्या बढ्दै गएको छ ।’ साथै, पछिल्लो समय देखिएको आर्थिक संकटले यस्तो मुद्दाको संख्या बढाउन थप सहयोग पुगेको उनी बताउँछन् । 

यस्तै, पैसा नदिएपछि कानुनी प्रक्रिया अघि बढाउनुपर्छ भन्ने चेतना पनि आममानिसमा विकासमा भएको छ । त्यसको असरले पनि यस्तो मुद्दाको संख्या बढेको उनको भनाइ छ । त्यो दृष्टिकोणले यस्तो मुद्दाको संख्या बढ्नु सकारात्मक रहेको पनि सरोकारवालाहरू बताउँछन् । विशेष गरी यो बैंकसँग जोडिएको मुद्दा हो । पछिल्लो समय बैंकिङ पहुँच तथा दायरा बढेको छ । त्यसको कारणले पनि यस्तो मुद्दा बढेको प्रहरीको भनाइ छ । 

साथै, मिटरब्याज प्रकरणमा यस्तो मुद्दा हुन सक्ने उनी बताउँछन् । ‘ऋण लिँदा ऋणीले खाली चेक दिने र पछि ऋणदाताले आफ्नो इच्छाअनुसार पैसा राखेर चेक बाउन्स गरेको पनि आशंका छ । यद्यपि, यसबारे यकिन भइसकेको छैन,’ प्रवक्ता पोखरेलले बताए । 

साढे पाँच वर्षमा २१ हजार मुद्दा, साढे ३३ अर्ब बिगो 
पछिल्लो पाँच वर्ष आठ महिना (आव ०७४/७५ देखि ०७९ फागुन मसान्तसम्म)मा बैंकिङ कसुरमा कुल २१ हजार तीन सय ७० मुद्दा दर्ता भएका छन्, त्यसको बिगो रकम ३३ अर्ब ६० करोड रुपैयाँ रहेको छ । साथै, यस्तो मुद्दामा पक्राउ पर्ने अभियुक्तको संख्या ६ हजार ६ सय ९४ पुगेको प्रहरीको तथ्यांकमा देखिन्छ । 

तथ्यांकअनुसार हरेक वर्ष बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै पनि गएको छ । आव ०७४/७५ मा बैंकिङ कसुरमा सात सय ५५ वटा मात्रै मुद्दा परेका थिए । तर, चालू आवसम्म आउँदा त्यस्तो संख्या निकै माथि पुगेको छ । ०७७/७८ मा कोरोना महामारीका कारण अदालत बन्द हुँदा बैंकिङ कसुरको मुद्दामा कमी आएको थियो । त्यसबाहेक हरेक वर्ष यस्तो मुद्दाको संख्या उच्चदरमा बढेको तथ्यांकमा उल्लेख छ ।