१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री खड्कालाई सैनिक मुख्यालयमा ब्रिफिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:२७:oo

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री भएपछि उनी पहिलोपटक जंगी अड्डा पुगेर नेपाली सेनाका उच्च अधिकारीसँग जानकारी लिएका हुन् ।

सैनिक अधिकारीहरूले खड्कासमक्ष संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अप्रेसनल तथा विविध गतिविधिहरूबारे जानकारी दिएका थिए ।

खड्काले सेनाले सदैव नेपाली जनताको शिर उँचो राख्न सफल भएको तथा सेनाप्रति जनताले अत्यन्त विश्वास गरेको बताए । उपप्रधानमन्त्री खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेशअनुरूपको सन्तुलित व्यवहार जरुरी रहेको बताए । उनले संसारका मानिसले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको भन्दै प्रशंसा गरे ।

खड्काले वर्षौँदेखि सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरूलाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरे। उनले पर्यावरण संरक्षणमार्फत नेपाली सेनाले वातावरणीय असन्तुलनलाई सम्बोधन गरेको र यसले विश्व मानव समुदायलाई नै देन दिएको पनि बताए ।

नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरूसँग अद्वितीय, ऐतिहासिक सम्बन्ध कायम गरेको, सेनाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धि देशको गौरवसँग जोडिएकोसमेत उनले उल्लेख गरे । निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माण सम्पन्न गरेर सञ्चालन गर्न सरकार र आफ्नोतर्फबाट सदैव सहयोग हुने पनि उनले बताए ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको काठमाण्डौ–तराई–मधेस द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रक्रियागत समस्याको समाधान गर्नेतर्फ प्रयासहरू भइरहेको बताए । आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नोतर्फबाट सबै सहयोग रहने पनि बताए ।  खड्काले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रीकरण भएको पनि टिप्पणी गरे ।
 
प्रधानसेनापति प्रभुराम शर्माले सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितिहरूमा निर्दिष्ट गरिने कानुनबमोजिमका अतिरिक्त जिम्मेवारीहरू वहन गर्न सदैव तत्पर रहेको बताए । बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरू र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको पनि प्रधानसेनापतिको भनाइ थियो ।

ad
ad