मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २३ बिहीबार ०८:२६:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका र चीनको संघर्षमा तानिएको फिलिपिन्सको एक टापु

राष्ट्रपति मार्कोस जुनियरले दक्षिण चीन सागरमा बेइजिङको आक्रामकताविरुद्ध दृढ अडान लिएका छन्

Read Time : > 4 मिनेट
२०७९ चैत २३ बिहीबार ०८:२६:००

निलो समुद्रछेउमा अवस्थित लामो बेदाग बलौटे बगर कुनै पर्यटकीय स्थलजस्तो लाग्छ । तर, त्यहाँ पौडी खेल्ने पर्यटक कोही देखिँदैनन् । फिलिपिन्सको उत्तरी छेउमा रहेको यो सानो टापुमा बस्ने दुई हजार बासिन्दा प्रायः किसानी र माझी काम गर्छन् । मकै यहाँको मुख्य बाली हो भने किसानहरू कुखुरा, सुँगुर र बाख्रा पाल्छन् ।

समुद्रले माछाको अभाव हुन दिँदैन । तर, बिस्तारै यो किसानबस्तीमा परिवर्तनका संकेत देखिन थालेको छ । आजकल नौसैनिकको एक समूहले टापुको तटवर्ती क्षेत्रलाई निगरानी गर्न थालेको छ । तटीय गार्डले पनि नियमित रूपमा यस क्षेत्रमा गस्ती गर्छ । चाँडै त्यहाँ एक स्थायी केन्द्र बन्दै छ, जहाँ अमेरिकी सेना बसोवास गर्नेछन् । किन भन्ने बुझ्नलाई एकपटक नक्साको नजर लगाउनुपर्छ । फुगा ताइवानबाट ४०० किमिभन्दा कम दूरीमा अवस्थित छ र दक्षिण चीन सागरलाई प्रशान्त महासागरसँग जोड्ने समुद्रमार्गमा पर्छ, जुन क्षेत्र फिलिपिन्सको रक्षाका लागि महत्वपूर्ण छ । तनाव बढ्न थालेपछि फुगा टापुको माग अचानक बढेको छ । 

फुगा टापु फिलिपिन्सको गागेयान प्रान्तमा पर्छ, जुन गत फेब्रुवरीमा  अमेरिका र फिलिपिन्सबीच भएको ‘इनहेन्स्ड डिफेन्स कोअपरेसन एग्रिमेन्ट (इडिसिए अर्थात् परिष्कृत रक्षा सहयोग सम्झौता) अन्तर्गत अमेरिकी सेना राखिने सम्भावित क्षेत्रमध्ये एक हो । सम्झौताले फिलिपिनी सेना र अमेरिकी सेनाबीच संयुक्त प्रशिक्षण, अमेरिकी सेनाका लागि अस्थायी संरचनाको निर्माण र अमेरिकी सेनाका उपकरण तथा आपूर्तिको भण्डारण अनुमति दिएको छ । पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको नीतिविपरीत वर्तमान राष्ट्रपति मार्कोस जुनियरले दक्षिण चीन सागरमा चीनको आक्रामकताविरुद्ध दृढ अडान लिएका छन् । उनले चीनको प्रतिरोध गर्न अमेरिका, अस्ट्रेलिया र जापानसँग कूटनीतिक र सुरक्षा सम्बन्धलाई समेत सुदृढ पार्न सुरु गरेका छन् । 

फिलिपिन्सले विवादित स्प्य्राट्ली टापु क्षेत्रमा चिनियाँ तटीय गार्डले खतरनाक हर्कत गरेको भन्दै विरोध जनाउन थालेको छ । फेब्रुअरीमा बेइजिङका तटरक्षकले आफ्ना जहाजमा सैन्य–ग्रेडको लेजर तेस्र्याएको आरोप लगायो । बढ्दो भनाभनबीच मार्कोसले इडिसिएअन्तर्गत उसका पाँचदेखि नौवटासम्म क्षेत्रमा अमेरिकी सेनालाई पहुँच दिने सहमत जनाएका छन् । कुन क्षेत्रमा अमेरिकी सेनालाई पहुँच दिने भन्ने विषयमा छलफल जारी नै छ, तर स्थानीय सैन्य विश्लेषक भने फुगा टापुको रणनीतिक मूल्य एकदम उच्च रहेको बताउँछन् । यस क्षेत्रका अन्य टापुजस्तो नभई एयरपोर्ट र बन्दरगाह पनि निर्माण गर्न सकिने खालको भूआकृति फुगाको छ ।

 ‘हामी टापुको रक्षाका लागि यहाँ समुद्री तथा तटरक्षक चाहन्छौँ । हामी गाउँका अधिकारीले मात्र सम्पूर्ण क्षेत्रको निगरानी गर्न सक्दैनौँ । अमेरिकी सेना आउनेबारे गाइँगुइँ सुनिन्छ । उनीहरू आए भने हामी तिनलाई स्वागत नै गर्छौं,’ फुगा गाउँ प्रमुख मेल्चोर भिसारियोले भने । उनका अनुसार उनीमातहतका निकायले टापुको वरिपरि छरिएका ६ वटा समुदायलाई प्रशासन हेर्ने गर्छ । चिनियाँ सेनाले ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच फुगावासी चीनको आक्रमणमा पर्ने सम्भावनाले त्रसित छन् । ‘फुगा फिलिपिन्सको हिस्सा हो । चीनसँग हामी एक्लै लड्न सक्दैनौँ । अमेरिकी सुरक्षाबल आए हामी सुरक्षित हुनेछौँ,’ टापु निवासी ४६ वर्षीय मार्लोन एरिकले भने । 

चीनले चाहेको थियो टापु
फुगाको सम्भावना देख्ने पहिलो मुलुक अमेरिका नभएर चीन थियो । सन् २०१९ मा चिनियाँ कम्पनी फोङ झी इन्टरप्राइज कर्पोरेसनले टापुको नाम रहेको एक निजी कम्पनी ‘फुगा आइल्यान्ड होल्डिङ इन्क’सँग दुई अर्ब डलरको परियोजनाअन्तर्गत त्यहाँ ‘स्मार्ट सिटी’ निर्माण गर्ने सम्झौता गरेको थियो । यद्यपि, यस योजनाले फिलिपिन्सको सुरक्षा संस्थानमा हंगामा मच्चायो, जो चिनियाँहरूलाई देशको सिमानाभित्र पर्यवेक्षणको हैसियत दिने कुरालाई लिएर चिन्तित थिए ।

फिलिपिन्सको सेनाले तुरुन्तै फुगामा नौसेना आधार स्थापना गर्न क्षेत्रीय नेतासँग सम्झौता ग¥यो । स्मार्ट सिटी परियोजना अघि बढेन, तर टापु अवस्थित प्रान्तमा अन्य धेरै चिनियाँ लगानीका परियोजना सञ्चालन गर्ने योजना थियो । जसमा उच्च प्रविधिको औद्योगिक पार्कदेखि विमानस्थल विस्तारजस्ता परियोजना थिए । चार वर्षपछि अब यो टापुमा उपस्थिति जनाउने पालो अमेरिकाको आएको छ । निश्चित रूपमा फुगा टापु दुवै महाशक्ति र फिलिपिन्सका लागि रणनीतिक रूपमा मूल्यवान् छ । यी दुई प्रमुख समुद्रीमार्ग लुजोन स्ट्रेट र वासी च्यानलनजिक भएकाले यिनले दक्षिण चीन सागर र प्रशान्तमा पहुँच प्रदान गर्छन् ।

फुगा टापु फिलिपिन्सको गागेयान प्रान्तमा पर्छ, जुन गत फेब्रुअरीमा अमेरिका र फिलिपिन्सबीच सम्पन्न  परिष्कृत रक्षा सहयोग सम्झौताअन्तर्गत अमेरिकी सेनालाई पहुँच दिने सहमति भएको क्षेत्रमध्ये एक हो । सम्झौताले फिलिपिनी र अमेरिकी सेनाबीच संयुक्त प्रशिक्षण, अमेरिकी सेनाका लागि अस्थायी संरचनाको निर्माण र अमेरिकी सेनाका उपकरण तथा आपूर्तिको भण्डारण गर्ने अनुमति दिएको छ ।
 

‘अमेरिकासँगको सैन्य सम्झौताले नौसेनालाई जहाज र आवागमन निगरानीको अनुमति दिन्छ । साथमा सम्झौताले उत्तरी सिमानामा नौसेना र हवाई अप्रेसन सञ्चालनको आधार प्रदान गर्न अनुमति पनि दिनेछ,’ हाल मनिलास्थित अटेनियो स्कुल अफ गभर्नमेन्टका प्राध्यापक सेवानिवृत्त रियर–एडमिरल रोमेल जुड ओङले भने ।

‘चीनको नौसेनाले हालै ताइवान संकट (नेन्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न संकटका) का वेला यो मार्ग प्रयोग गरेकाले पनि अमेरिकासँगको सम्झौता महत्वपूर्ण छ,’ ओङले भने । ड्यानियल के इनोए एसिया–प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिजका प्राध्यापक एलेक्स वुभिङका अनुसार उत्तरी फिलिपिन्समाथिको अमेरिकी नौसेना पहुँचले उसलाई हाम्रो समयको दुई ठूला शक्ति प्रतिस्पर्धाको मोर्चा ताइवान र दक्षिण चीन सागरसम्मको पहुँच दिन्छ । 

समुद्री आवागमनको कठिनाइका कारण यो दुर्गम टापु आफ्नै स्रोतमा भर पर्दै आएको थियो । विशेषगरी सेप्टेम्बरदेखि डिसेम्बरसम्मको हुरीको महिनामा साना डुंगासमेत बाँकी फिलिपिन्सबाट सो टापुमा आउजाउ गर्न सक्दैनन् । यहाँ एक आधारभूत तहसम्म पढाइ हुने विद्यालय छ भने इन्टरनेट सेवा पनि छ । चिकित्सा सुविधाका लागि डुंगाको यात्रा गर्नुपर्ने हुन्छ भने टापुमा एक पुरानो हवाई मैदान भए पनि त्यो टापुको नाम बोकेको निजी कम्पनीको स्वामित्वमा छ । त्यसबाट विमान उडाउन सकिने–नसकिने पनि स्पष्ट छैन ।

हिजोआज नौसेना र तटरक्षकको नियमित यात्राले नियमित आपूर्ति हुने स्थिति बनेको छ । नौसेनाले एक विशाल पावर जेनेरेटर ल्याएका छन् । उनीहरू साँझको प्रमुख समाचारका लागि टिभी खोल्छन्, जुन हेर्न भिड लाग्छ । टापुका घरहरू बत्ती बाल्न र फोन चार्ज गर्न साना सौर्य–विद्युत् एकाइमा भर पर्छन् । सरकारी कर्मचारी गत वर्ष टापुका महिलालाई लुगा सिलाइ सिकाउन आएका थिए । कोही महिला बंैकिङ तालिम लिन चाहन्छन् । ‘हामीलाई द्वन्द्व सुरु हुने डर छ, सम्भवतः द्वन्द्व नभड्किन पनि सक्छ,’ गाउँ प्रमुखकी श्रीमती रुबी भिसारियोले भनिन् ।

भूगोलको श्राप
सन् २०२२ मार्चमा फुगा रहेको नगरपालिका एपारीमा फिलिपिन्स र अमेरिकी सेनाले ‘युद्ध अभ्यास’ गरे । तटीय रक्षा रणनीति प्रदर्शन गर्न हेलिकोप्टर, समुद्र र जमिनमा चल्ने जहाज र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रदर्शनमा राखिएका थिए । युद्ध अभ्यासले ‘इडिसिएको पूर्वाभास’ प्रदान गरेको अपारीका पादरी फादर म्यानुएल क्याट्रलले बताए ।

स्थानीयले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गरेको र तिनको औजारबाट आफूलगायत स्थानीय निकै प्रभावित भएको उनले बताए । यद्यपि, इडिसिएअन्तर्गतका संयन्त्र निर्माण गर्न र अमेरिकी सेना लामो समय बस्ने हो भने थप छलफल गर्नुपर्ने उनले बताए । युद्ध अभ्यासको समयमा स्थानीयलाई जोगाउन केही माछा मार्ने क्षेत्र भने बन्द गरिएको थियो ।

अप्रिलमा फिलिपिन्स र अमेरिकाले ‘बालिकाटन’ अर्थात् ‘काँधमा काँधमा’नामक हालसम्मकै ठूलो संयुक्त सैन्य अभ्यास गर्दै छन् । युद्ध अभ्यास स्थिरता र प्रतिरोध प्रक्षेपण गर्ने गरी डिजाइन गरिएको छ । तर, यस क्षेत्रमा तनाव बढ्दै गएको छ । अमेरिकी सेना आगामी केही वर्षमा ताइवानमाथि चिनियाँ आक्रमण हुने अवस्थालाई लिएर थप निराशावादी बन्दै गएको छ । त्यसैले ताइवानमाथिको आक्रमणको समयमा बेइजिङको सामना गर्न ओकसजस्ता नयाँ सैन्य गठबन्धन गठन भइरहेका छन् । अनिश्चितता बढ्दै जाँदा र आकस्मिक मुठभेडको जोखिम बढ्दै जाँदा, सेवानिवृत्त रियर एडमिरल ओङ भने एउटा कुरामा स्पष्ट छन्– यदि ताइवान संकट द्वन्द्वमा परिणत भयो भने फिलिपिन्स असंलग्न नरही बस्न सक्दैन । ‘यही नै यस मुलुकको भूगोलको श्राप हो,’ ओङले भने । 
– द गार्जियनबाट