Skip This
सरकार पूर्णतामा ढिलाइ : शेखर–गगनको बटमलाइनले कांग्रेसमा सकस, चुनावपछि टुंग्याउने जसपाको संकेत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकार पूर्णतामा ढिलाइ : शेखर–गगनको बटमलाइनले कांग्रेसमा सकस, चुनावपछि टुंग्याउने जसपाको संकेत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:o८:oo

कांग्रेसले पाएका आठमध्ये तीन मन्त्रालय चाहिने शेखर कोइराला–गगन थापा समूहको बटमलाइन, दुई मात्रै दिने शेरबहादुर देउवाको अडान

सत्तारूढ दल कांग्रेसभित्र मन्त्रालय बाँडफाँट नमिल्दा सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको प्रयास लम्बिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक कार्यक्रममा एक–दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने अभिव्यक्ति दिए पनि मन्त्रालय लेनदेनमा कांग्रेसभित्रको किचलो टुंगिएको छैन । 

पछिल्लोपटक प्रधानमन्त्रीले १७ चैतमा सातौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, अझै ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । कांग्रेसले पाएका चार, जसपाले पाएको एक र जनमतका मन्त्रीले राजीनामा दिएपछि रिक्त एक गरी ६ मन्त्रालय प्रधानमन्त्रीमातहत नै छन् । 

कांग्रेसले नाम नपठाउँदा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या, जसपाले नाम पठाउन बाँकी वन तथा वातावरण र जनमत सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँग रहेको हो ।

कांग्रेसको आन्तरिक विवादले मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । शेखर कोइराला र गगन थापा समूहले चारमध्ये तीन मन्त्रालयलाई बटमलाइन बनाएपछि नाम टुंग्याउन सकस परेको कांग्रेसका एक नेताले बताए । 

इतरलाई दुई मन्त्रालय मात्रै दिने सभापति शेरबहादुर देउवाको अडान छ । उनी इतरलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन सकारात्मक छन् । नाम टुंग्याउन कांग्रेसका नेताहरू आन्तरिक छलफलमा छन् ।

बुधबार बिहान सभापति देउवा, महामन्त्री थापा र कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतबीच धुम्बाराहीमा छलफल भएको थियो । दुवै पक्ष अडानमा अडिग रहेपछि निष्कर्षमा पुग्न सकेन । ‘दुवैतर्फको अडान कायम छ, बुधबार साँझसम्म कुनै प्रगति छैन,’ स्रोतले भन्यो ।

डा. नारायण खड्काले सभापति देउवा निरन्तर छलफलमा रहेको र छिट्टै नाम टुंगो लाग्ने दाबी गरे । उनले यसकै आधारमा प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र सरकारले पूर्णता पाउने बताएको जिकिर गरे । ‘सभापतिले पार्टीमा पनि छलफल गरिरहनुभएको छ । प्रधानमन्त्रीसँग पनि निरन्तर संवादमा हुनुहुन्छ । प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ भनेर आत्मविश्वासका साथ भन्नुभएको छ । शीर्ष तहको संवादकै आधारमा प्रधानमन्त्रीको भनाइ आएको हुुनुपर्छ । छिट्टै कांग्रेसले मन्त्री पठाउनेछ,’ उनले भने । 

सभापति देउवाले संस्थापनबाट मोहन बस्नेत र एनपी साउदको नाम टुंगो लगाएका छन् । साउदलाई परराष्ट्र र बस्नेतलाई खेलकुद मन्त्रालयमा पठाउने देउवाको योजना रहेको निकट नेताहरू बताउँछन् । ‘संस्थापनबाट बस्नेतलाई खेलकुद र साउदलाई परराष्ट्रमा पठाउने गरी नाम टुंगो लागेको छ । शेखर–गगन समूहलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने प्रस्ताव गएको छ । तर, इतरले तीनवटै दाबी गरेर नाम नपठाएकाले रोकिएको छ,’ देउवानिकट स्रोतले भन्यो ।

इतर समूहमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र डिगबहादुर लिम्बूको नाम चर्चामा छ । यसबाहेक महामन्त्रीद्वयले स्वास्थ्यमन्त्रीका रूपमा युवा नेता प्रदीप पौडेललाई अघि सारे पनि देउवा सकारात्मक नदेखिएको कांग्रेस नेताहरूकै भनाइ छ । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले कांग्रेसले प्रधानमन्त्रीलाई बिहीबारभित्रै नाम टुंगो लगाउने जानकारी गराएको बताए । उनका अनुसार उद्योग वाणिज्य मन्त्रालय नपाएपछि खानेपानी मन्त्रालयबाट राजीनामा दिएको जनमतसँग छलफल भइरहेको उनले बताए । ‘कांग्रेसले बिहीबारभित्र चार मन्त्रीको नाम पठाउने जानकारी गराएको छ । जसपाबाट कहिले नाम पठाउने भन्ने टुंगो लागिसकेको छैन । जनमतले खानेपानी मन्त्रालयमा सहमति जनाएर पछि सरकार छाडेको अवस्था छ । उहाँहरूसँग पनि छलफल भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने ।

जसपाले उपनिर्वाचनपछि मन्त्री पठाउने संकेत गरेको छ । अध्यक्ष उपेन्द्र यादव बारा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार छन् । जसपा प्रवक्ता मनीष सुमनले आफ्नो पार्टीले पाउने मन्त्रालयबारे छलफल भइरहेकाले नाम नपठाइएको दाबी गरे । कांग्रेसले टुंग्याए आफ्नो पार्टीले तुरुन्तै नाम दिने सुमनले बताए । 

‘हामीले तीन मन्त्रालयमा दाबी गरेका हौँ । राज्यमन्त्रीसहित तीन मन्त्रालय या तीन फुल मन्त्रालय भन्ने टुंगो लागेको छैन । प्रधानमन्त्रीले स्पष्ट पारेपछि हामी नाम पठाउँछाैँ,’ उनले भने, ‘पार्टीमा कुनै विवाद छैन । कांग्रेस र हाम्रो मन्त्रीले एकैपटक शपथ खाने सम्भावना पनि छ । पार्टी नेतृत्व उपनिर्वाचनमा केन्द्रित भएकाले निर्वाचनपछि सरकारमा सहभागिताको सम्भावना पनि छ ।’ 

सरकार विस्तारअघि नै जसपाले वन तथा वातावरण मन्त्रालय पाउने टुंगो लागेको थियो । तर, जसपाले आफूले पाएका दुई मन्त्रालयमध्ये शिक्षा मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ ।

ad
ad