१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Sunday, 13 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २१ मंगलबार १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कहिले बन्द भयो कृषि औजार कारखाना ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १o:२२:oo

अर्थ ज्ञान

राज्यको महत्वपूर्ण उद्योगका रूपमा रहेको कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेको छ । तत्कालीन राजा महेन्द्रले ०२४ फागुन २८ मा सोभियत संघ सरकारले उपहारस्वरूप निर्माण गरिदिएको उद्योग उद्घाटन गरेका थिए । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उद्योगमा दुई सय १० स्थायी र एक सय ११ अस्थायी कर्मचारी थिए ।

नौ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको कृषि औजार कारखाना तथा यसका अन्य भौतिक पूर्वाधारको रेखदेख तथा संरक्षण ६ जना व्यक्तिले गर्दै आएका छन्  । उद्योग रुग्ण हुँदै गएपछि तत्कालीन सरकारले ०५३ जेठ १७ मा उक्त उद्योग निजीकरण गर्ने निर्णय लिएको थियो ।

१३ करोड रुपैयाँमा निजीकरणमा लैजान खोज्दा नौ करोड ५१ लाख रुपैयाँबराबर ६५ प्रतिशत स्वामित्व निजी क्षेत्रले पाउने र बाँकी ३५ प्रतिशत स्वामित्व नेपाल सरकार आफैँले राख्ने निर्णय भएको थियो । पाटनका रेशमलाल वैद्य, बनेपाका जोगीलाल ताम्राकार र हेटौँडाका उदयमोहन श्रेष्ठले साझेदारीमा उद्योगको ६५ प्रतिशत स्वामित्व किनेका थिए  । तर, एकपटक उद्योग बन्द भएपछि पुनः सञ्चालनमा आउनै सकेन । 

कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालो मात्र नभई विद्युत् प्राधिकरणका लागि बिजुलीका पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायुसेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली पनि उत्पादन गरेको थियो ।