
नेपालमा केही दिनयता कोभिड संक्रमदर निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा थप ७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार एक सय ५१ जनामा परीक्षण गर्दा पिसिआरबाट ४९ जनामा र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ ।
डा. शेरबहादुर पुन, वरिष्ठ सरुवा रोग विशेषज्ञ
प्रि–मनसुन सुरु नहुँदै काठमाडौंमै छिटफुट डेंगुका संक्रमित, सिजनल फ्लु र कोभिड संक्रमणसँगै देखिएको छ । समुदायस्तरमा रुघाखोकी, ज्वरो, मांशपेसी दुखाइ र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण फैलिइरहेका छन् । परीक्षणले ओमिक्रोनको नयाँ भेरिएन्ट फैलिएको पुष्टि गरेको छ । त्यसैले कोभिड संक्रमण फैलिइरहेको हुन सक्ने भएकाले समयमै लक्षणलाई बेवास्ता नगरौँ ।
पछिल्लो साता लगातार पानी परिरहेकाले ‘अस्ति पानीमा भिजेको’, ‘हिजो चिसो खाएको’, ‘आज धुलोमा गएको’ भनेर बहाना नबनाईकन लक्षण देखिएमा कोभिड परीक्षण गर्न र आइसोलेसनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । रुघाखोकी र ज्वरोका लक्षण परीक्षणबाट पुष्टि नभएसम्म कोभिडका लक्षण हुन सक्ने भन्दै बेवास्ता नगर्न आग्रह गरेको हो ।
मौसम परिवर्तन भएसँगै सिजनल फ्लु, डेंगु र कोभिड संक्रमणसँगै फैलिइरहेकाले लक्षणलाई बेवास्ता नगर्न चिकित्सकहरूले आग्रह गरेका छन् । ‘प्रि–मनसुन सुरु नहुँदै काठमाडौंमै छिटफुट डेंगुका संक्रमित, सिजन फ्लु र कोभिड संक्रमणसँगै देखिएको छ । समुदायस्तरमा रुघाखोकी, ज्वरो, मांशपेसी दुखाइ र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण फैलिइरहेका छन् । परीक्षणले ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएको पुष्टि गरेको छ । त्यसैले कोभिड संक्रमण फैलिइरहेको हुन सक्ने भएकाले समयमै लक्षणलाई बेवास्ता नगरौँ,’ वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।
भारतमा कोभिड संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण उकालो लागेपछि गरिएको नमुना जिन परीक्षणमा ओमिक्रोनको नयाँ सबभेरियन्ट फैलिइरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले चैतमा विभिन्न ठाउँबाट २४ वटा नमुना संकलन गरेर भाइरसको आनुवंशिक परिवर्तन पहिचानका लागि ल्याब पठाएको थियो । जसमध्ये १५ वटा नमुना अर्थात् करिब ६४ प्रतिशतमा हाल भारतलगायत विश्वका विभिन्न देशमा फैलिइरहेको एक्सबिबी सबभेरियन्ट पुष्टि भएको हो ।
नमुना परीक्षणमा एक्सबिबी १.१६ बाट १० जना, एक्सबिबी १.५ बाट तीनजना, एक्सबिबी २.६ बाट र एक्सबिबी १ बाट एक–एकजना प्रभावित भएको पाइएको हो । यसबाहेक अन्यमा ओमिक्रोनकै बिए १.१ बाट दुईजना, बिए.२ बाट दुईजना, बिए २.७६ बाट एकजना, बिए ५ बाट दुईजना र बिए ५.२ बाट थप दुईजना प्रभावित भएका छन् । मन्त्रालयले भारतमा पनि एक्सबिबी फैलिइरहेका कारण सीमानाकानजिकका स्थानमा बढी सतर्कता अपनाउनुपर्ने जनाएको छ ।