
विश्वव्यापीकरणको अन्त्य भएको छैन, बरु विश्वव्यापीकरण हामीले खोजेको जस्तो सहज नहुन सक्छ
ताइवान र विश्वकै अग्रणी सेमिकन्डक्टर उत्पादकका संस्थापक मोरिस चाङले गत वर्ष ‘विश्वव्यापीकरण मोटामोटी रूपमा मरिसक्यो’ भन्ने दाबी गरे । कैयौँ विश्लेषक कोभिड– १९ र चीन–अमेरिकी टकरावले आपूर्ति शृंखलामा अवरोध आएको बताउँछन् र कैयौँ कम्पनीले उत्पादनस्थल अब आफ्नै मुलुक वा उत्पादित मालवस्तुको बजारमै सारेका छन् । तर, यति हुँदा पनि विश्वव्यापीकरणको अन्त्य भइसक्यो भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ ।
विश्वव्यापीकरण मुलुक वा क्षेत्रबीचको अन्तरनिर्भरता नभई बढ्दो अन्तरमहादेशीय अन्तरनिर्भरता हो । विश्वव्यापीकरण आफैँमा सही वा खराब होइन, यसका कैयौँ आयाम छन् । जलवायु परिवर्तन र आदिमकालदेखि अफ्रिकाबाट चलेको आप्रवासनले मानवता विश्वभर फैलिँदो छ । यी प्रक्रियाले जहिल्यै जैविक अन्तक्र्रिया एवं अन्तरनिर्भरता निम्त्याएको छ । सन् १३४६ देखि १३५२ सम्म एसियामा सुरु भएको प्लेग महामारीले युरोपको एकतिहाइ जनसंख्याको ज्यान लिएको थियो । जब युरोपेली १५औँ र १६औँ शताब्दीबीच पश्चिमी गोलार्धमा पुगे तब उनीहरूले बोकेको रोगका जीवाणुले आदिवासी जनसंख्या सखाप पार्यो । सैन्य विश्वव्यापीकरणको इतिहास खोज्ने हो भने सम्राट जर्कसिजदेखि एलेकजेन्डर–महानका समयकालसम्म पुग्छ, जहाँ यी शासकका साम्राज्य तीन महादेशमा फैलिएका थिए । १९औँ शताब्दीमा बेलायती साम्राज्यमा कहिल्यै सुर्यास्त भएन । यसबाहेक सामाजिक–सांस्कृतिक विश्वव्यापीकरणका कारण ठुल्ठूला धर्म विश्वभर फैलिए ।
अहिलेको चासो भनेको आर्थिक विश्वव्यापीकरण हो, जहाँ अन्तरमहादेशीयस्तरमा वस्तु, सेवा, पुँजी, प्रविधि र सूचनाको प्रवाह हुने गर्छ । आर्थिक विश्वव्यापीकरण पनि नौलो होइन, तर प्रविधिमा आएका परिवर्तनले दूरीसँग जोडिएको मूल्यमा भारी कटौती ल्याएको हो । यसले अहिलेको आर्थिक विश्वव्यापीकरण ‘बाक्लो र छरितो’ बनेको हो । मध्ययुगमा रेसम मार्गले एसिया र युरोपलाई जोडेकै हो, तर यो जोड अहिलेको इन्टरनेट सम्पर्क त परको कुरो, आधुनिक जहाज ढुवानीनिकट पनि पुग्दैन । विश्वव्यापीकरणलाई २०औँ शताब्दीका दौरान आर्थिक परिघटनाका रूपमा लिइन्थ्यो, तर सन् २००० को दशकमा यो शब्द राजनीतिक शब्दावली बन्यो । जब डाभोसका उपद्रवी दंगाईले एसियाली मजदुरका लागि त्यहाँको मेकडोनाल्डको झ्यालको सिसा फुटाए तब त्यो घटना एक राजनीतिक विश्वव्यापीकरण थियो ।
हालको विश्वव्यापीकरण १९औँ शताब्दीको भन्दा निकै भिन्न थियो । त्यसवेलाको विश्वव्यापीकरणको संस्थागत संरचना मूलतः युरोपेली साम्राज्यवादमा निहित थियो र त्यसवेला बढी खर्चले थोरै मानिस संलग्न भएका छन् भन्ने अर्थ दिन्थ्यो । पश्चिमा कम्पनी सन् १६०० देखि फैलिन थालेका हुन् र १९औँ शताब्दीमा आइपुग्दा विदेशी प्रत्यक्ष लगानी विश्वको कुल आम्दानीको १० प्रतिशत पुगेको थियो । अहिले यो आँकडा (गैरपश्चिमा कम्पनीसहित) विश्वको कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत पुगेको छ । पहिलो विश्वयुद्धको पूर्वार्धमा वैश्विक अन्तरनिर्भरता धेरै थियो जहाँ मानिस, वस्तु र सेवाको प्रवाह देखिन्थ्यो । त्यसवेला असमानता पनि थियो किनभने आर्थिक विश्वव्यापीकरणको लाभ समान ढंगले वितरण भएको थिएन । तर, आर्थिक अन्तरनिर्भरताले प्रमुख व्यापारिक साझेदारबीचको युद्धलाई रोक्न सकेन । चारवर्षे विध्वंशात्मक युद्धपछि वैश्विक आर्थिक अन्तरनिर्भरतामा भारी गिरावट आयो ।
के यो इतिहास फेरि दोहोरिन्छ ? जब अमेरिका र रुस वा चीन एक नयाँ युद्धमा झोसिन्छन् तब इतिहास दोहोरिन सक्छ । तर, यसको सम्भावना निकै कम छ । जहाँसम्म अहिले चर्चामा रहेको आर्थिक ‘अलगीकरण’ (डिकपलिङ) को विषय छ, त्यसले गरेको विभाजनलक्षित र अपूरो देखिन्छ । उसो त सबै क्षेत्रमा बराबरी ढंगले पुनरुत्थान नभए पनि कोभिड महामारीले थलिएको वस्तु एवं सेवाको विश्व व्यापारको बलियो फिर्ती गरेको छ ।
अमेरिकाले चीनबाट आउने र चीनतर्फ जाने केही संवेदनशील वस्तुको प्रवाहमा अवरोध सिर्जना गरेको अवस्थामा अमेरिकामा चिनियाँ आयात कोभिडपूर्वको अवस्थाको तुलनामा ६ प्रतिशत मात्रैले बढेको छ भने क्यानडा र मेक्सिकोको सन्दर्भमा यो आँकडा ३० प्रतिशतले बढेको छ । अमेरिकाको सन्दर्भमा विश्वव्यापीकरणभन्दा पनि क्षेत्रीयकरण बढी फस्टाएको छ । सूक्ष्म ढंगले हेर्ने हो भने सन् २०१८ देखि २०२२ सम्ममा अमेरिकामा चिनियाँ आयात २१ देखि १७ प्रतिशतमा झरेको छ जब कि भियतनाम, बंगलादेश र थाइल्यान्डको आयात ८० प्रतिशतले बढेको छ । यसले पनि विश्वव्यापीकरण मरिसक्यो भन्ने संकेत गर्दैन । अमेरिकासँगको यो नयाँ एसियाली व्यापार वास्तवमा मध्यमस्तरमा झरेको चिनियाँ व्यापार हो । तत्कालीन सोभियत र अमेरिकाको आर्थिक सम्बन्धको तुलनामा अहिले अमेरिका र यसका साझेदारको चीनसँगको आर्थिक सम्बन्ध जटिल एवं घनीभूत नै छ । अर्थात्, वैश्विक आपूर्ति शृंखलामा अवरोध नल्याईकन पनि पश्चिमा मुलुक हुवावेलाई फाइभजी नेटवर्कबाट अलग्याएर आफ्नो सुरक्षा जोखिम कम गर्न सक्छन् ।
भूराजनीतिक प्रतिस्पर्धाले आर्थिक विश्वव्यापीकरणमा रोक लगाए पनि विश्व पारिस्थितिक प्रणालीको विश्वव्यापीकरणले एकअर्कासँग जोडिने नै छ । महामारी र जलवायु परिवर्तनले राजनीति नभई जीवविज्ञान र भौतिकविज्ञानको नियम मान्छ । पारिस्थितिक प्रणालीसँग सम्बन्धित समस्या कुनै एक मुलुकले मात्र समाधान गर्न सक्दैन । जलवायु र महामारीजन्य समस्यामा एक ठाउँमा नआउने हो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । वैज्ञानिकका अनुसार कोभिड– १९ महामारीका कारण अमेरिका र चीनमा १० लाखभन्दा बढी मानिस मारिएका थिए ।
विश्वव्यापीकरणलाई मूलतः दूरी घटाउने प्रविधिगत परिवर्तनले यहाँसम्म ल्याइपुर्याएको हो । यसमा परिवर्तन भने हुनेछैन । विश्वव्यापीकरणको अन्त्य भएको छैन, बरु विश्वव्यापीकरण हामीले खोजेजस्तो सहज नहुन सक्छ ।
अमेरिकी पूर्वसहायक रक्षामन्त्री एस नाई जुनियर हार्भर्ड विश्वविद्यालयका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट